नेपालकै पहिलो अत्याधुनिक सुरुङ निर्माण अन्तिम चरणमा, यसरी भइरहेको छ काम (भिडियो स्टोरी)



काठमाडौं । सरकारले आगामी सोमबार (वैशाख ३ गते) नेपालकै पहिलो अत्याधुनिक नागढुंगा–सिस्नेखोला सुरुङ मार्गमा अन्तिम छेड्ने काम (ब्रेक थ्रु) को तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।

कूल २ हजार ६ सय ८८ मिटरको मूल सुरुङ मार्गमध्ये २ हजार ६ सय ८६ मिटर खन्ने काम सकिएको छ । अब २ मिटर मात्रै खन्न बाँकी राखिएको छ ।

सोमबार ठेक्केदार कम्पनीले जापानी धर्म संस्कृति र नेपाली पक्षले हिन्दू परम्पराअनुसार विशेष पूजा गरी खन्न बाँकी रहेको २ मिटर क्षेत्रलाई ड्रिलिङ्ग मेसिन वा व्लास्टिङ्ग प्रविधिमार्फत व्लास्ट गरेर पूर्व–पश्चिम मुख जोड्ने योजना छ ।

पूर्व–पश्चिमी क्षेत्र जोड्न ड्रिल गर्ने वा व्लास्टिङ्ग गर्ने भन्ने बिषय टुङ्गो लागिसकेको छैन । ३.५ मिटर चौडाई भएको सुरुङ मार्गमा दुई लेनको निर्माण भइरहेको छ ।

मूल सुरुङमार्गमासँगै समानान्तर रुपमा निर्माण भएको अर्को २ हजार ५ सय ५७ मिटर दूरी भएको आपतकालीन सुरुङको भने ‘ब्रेक थ्रु’ भइसकेको छ ।

नागढुंगा सुरुंगमार्ग निर्माण आयोजनाका अनुसार सन् २०१६ मा जापान सरकारसँग १६ अर्ब ८ करोड रुपैयाँ ऋण सहयोग लिएर सरकारले यो आयोजना सुरु गरेको थियो । यसको कूल लागत भने २२ अर्ब छ । अहिलेसम्म मुआब्जामा ६ अर्ब रुपैयाँ रुपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ ।

जापानको हाजमा एण्डो कर्पोरेशनले ठेक्का पाएको यो आयोजना सम्झौता भएको मितिदेखि ४२ महिनामा (२०२३ अप्रिल २५) मा सम्पन्न गर्नुपर्ने समयसीमा निर्धारण गरिएको थियो । तर कोभिड र स्थानीय बासिन्दाको आन्दोलनका कारण यसको निर्माण समय थप भएर अहिले २०२४ अप्रिल २४ तोकिएको छ ।

सडक विभाग र कम्पनीबीच सन् २०१९ सेप्टेम्बर २३ मा ठेक्का सम्झौता भएको थियो।

फोटो भिडियो: रवि धिताल


राजेश बर्मा