माथिल्लो तामाकोसीमा बाढीले क्षति पुर्‍याउँदा डेढ अर्बको बिजुली खेर

हिउँदसम्ममा मर्मत नसकिए आयात बढाउनु पर्छ: कुलमान



काठमाडौं । मुलुककै सबैभन्दा ठूलो क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बाढीले क्षति पुर्‍याएर उत्पादन बन्द हुँदा १ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीको बिजुली खेर गएको छ ।

अपर तामाकोसी हाइड्रोपावर कम्पनीले तयार पारेको रिपोर्टअनुसार जलविद्युत केन्द्रमा क्षति पुग्दा असोज महिनामा करिब  २१ अर्ब ४२ करोड ६९ हजार किलोवाट घण्टा विद्युत उर्जा नोक्सान भई ८५ करोड ६ लाख ४७ हजार रुपैयाँ नोक्सान भएको छ ।

कार्तिक २०  गतेसम्म थप १४ करोड ४४ लाख ८० हजार किलोवाट घण्टा विद्युत ऊर्जा नोक्सान भई ५७ करोड ३५ लाख ८५, हजार नोक्सान भएको छ ।

जलविद्युत आयोजनामा अहिले मर्मतको काम चलिरहेको छ । सोही कारण मर्मत भएर सञ्चालनमा नआउँदासम्म कम्पनीको नोक्सानी बढिरहने छ । यो जलविद्युत योजना पूर्ण रुपमा मर्मत हुन ८ महिना लाग्ने अनुमान छ । यस हिसाबले कम्पनीले ठूलो नोक्सानी व्यहोर्नुपर्नेछ ।

असोज १० गतेदेखिको निरन्तर वर्षाका कारण आएको बाढी र पहिरोले तामाकोसीमा ठूलो क्षति पूर्‍याएको थियो । त्यसयता विद्युत उत्पादन केन्द्र पूर्ण रुपमा बन्द छ ।

कम्पनीका अनुसार जलविद्युत आयोजनामा प्रारम्भिक अनुमानभन्दा धेरै क्षति भएको पाइएको  छ । अपर तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेडका इन्जिनियरिहरु सहितको टोलीले अध्ययन गरेर १ अर्ब ७८ करोड रुपैयाँ बरारबको क्षति भएको भन्दै बीमा दाबी गरेको थियो। तर अहिले साइटमा माथिबाट झरेको पहिरो पन्छाएर हेर्दा थप क्षति पाइएको छ ।

कम्पनीले तिहारअघि नै एउटा युनिटबाट बिजुली बाल्ने योजना बनाएको थियो । स्ट्रक्चरमा थप क्षति भेटिएसँगै उक्त योजनामा धक्का लागेको हो ।

कम्पनी प्रमुख कार्यकारी अधिकृत (सीईओ) मोहन गौतमले कात्तिक मसान्तसम्म आयोजनाबाट बत्ती बाल्ने योजना रहेको बताए।

‘कात्तिक मसान्त सेन्टलिङ बेसिन एउटा मर्मत सक्ने योजना छ । जति पानी आउँछ त्यहि अनुसारको युनिट चलाउँछौं । वाल तलको स्लाबसम्म भाचिएको रहेछ । एनईए इन्जिनियरिङले डिजाइन गर्छ । कन्ट्र्याक्टर छैन । रोल्वालिङ र अरु आयोजनासँग इक्विपमेन्ट लिएर काम भइरहेको छ,’ उनले भने, ‘आर्मी लगाएर ब्लाष्टिङ गरेर बाटो खोल्यौं । १७८ करोड रुपैयाँ क्षति प्रारम्भिक अनुमान हो । सिभिल संरचना पुरिएको छ । थप क्षति हुन सक्छ ।’

 गौतमका अनुसार अहिले पहिरो पन्छाउने काम भइरहेको छ । तलसम्म पुगेर पन्छाएरपछि क्षति थाहा हुन्छ ।

आयोजनाको ड्याम साइटको कन्ट्रोल बिल्डिङ पूरै ध्वस्त भएको छ । कन्ट्रोल रुमभित्र रहेका ४ जना कर्मचारीको ज्यानै गएको थियो । कन्ट्रोल रुमसँगै इलेक्ट्रिकल, मेकानिकाल इक्विपमेन्टहरुमा क्षति पुगेको छ । सिभिलतर्फ डिस्यान्टरको सुरुको भाग ध्वस्त भएको छ । बक्स कल्भर्टमा क्षति पुगेको छ । पहुँचमार्गमा ध्वस्त भएको छ । साथै सिंगटीमा एउटा  टावर मर्मत गर्नुपर्नेछ।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले तामाकोसी हिउँदसम्ममा मर्मत गर्न नसकिए  हिउँदमा आयात बढाउनुपर्ने बताए ।

नेपालका अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित छ । जसको उत्पादन हिउँदमा ३० प्रतिशतभन्दा तल झर्छ । ३१०० मेगावाट जडित क्षमता पुगे पनि हिउँदको माग पूरा गर्न ६०० मेगावाटसम्म आयात गर्नुपर्छ । गएको हिउँदमा ६०० मेगावाटसम्म आयात गरेर आन्तरिक माग पूरा गरेको थियो । यो वर्ष ६०० मेगावाटभन्दा बढी आयात गर्नुपर्ने प्राधिकरणको अनुमान छ ।

तामाकोसीको उत्पादनपछि नेपाल विद्युत प्राधिकरणलाइ हिउँदको माग व्यवस्थापनमा केही सहज भएको थियो । भने विद्युत खरिद बिक्री (पीपीए) दर समेत कम भएका कारण धेरै नाफा समेत थियो । भारतबाट हिउँदमा आयात हुने बिजुली १८ रुपैयाँ प्रतियुनिटसम्म पर्ने गरेको छ ।

प्राधिकरण गत आर्थिक वर्ष भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत आयात गरिएको थियो । यही अवधिमा १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो । गत आवमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।

प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको पहिलो २ महिनामा ७ अर्ब ५४ करोड ६१ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । विद्युत प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब २ करोड ९२ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले साउनमा ३ अर्ब ९९ करोड ५६ लाख रुपैयाँको विद्युत् निर्यात गरेको छ । भदौमा ३ अर्ब ५५ करोड ५ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ ।

बाढी पहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत केन्द्रहरु र प्रसारण लाइनमा क्षतिपुग्दा हाल विद्युत् निर्यात प्रभावित भइरहेको छ ।


दिनेश खड्का