ट्रम्पको ट्यारिफको असर: एशियाली सेयर बजारहरू ध्वस्त, लगानीकर्ता त्रसित

364
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि लगाएको उच्च ट्यारिफ (कर) र त्यसको कडा जवाफमा चीनले पनि अमेरिकी सामानमा ठूला दरको कर लगाउने निर्णय गरेपछि एशियाली सेयर बजारहरूमा सोमबार व्यापक गिरावट देखिएको छ।

यस व्यापार युद्धले लगानीकर्ता बीच भय र अनिश्चितता बढाएको छ जसको असर सम्पूर्ण विश्व बजारमा फैलिएको सीएनएनले जनाएको छ ।

जापानको प्रमुख निक्केई सूचकांक बजार खुलेपछि ८ प्रतिशतभन्दा बढीले घट्यो भने टोपिक्स सूचकांक ६.५ प्रतिशतभन्दा तल झरेको थियो।

चीनमा सार्वजनिक बिदापछि खुलेको बजारमा शाङ्घाई कम्पोजिट सूचकांक ६.७ प्रतिशतले झर्यो। ठूला कम्पनीहरू समेटिएको सीएसआई ३०० सूचकांक ७.५ प्रतिशतले घट्यो। हङकङको ह्याङसेङ सूचकांक १२ प्रतिशत भन्दा बढीले तल झर्‍यो । चिनियाँ प्रविधि कम्पनीहरू अलीबाबा र टेन्सेन्ट क्रमशः १४ प्रतिशत र १० प्रतिशत भन्दा बढीले घटे।

ट्रेड वारको गहिरो असर

पेपरस्टोनकी अनुसन्धान रणनीतिकार दिलिन वुले लेखेकी छन्, ‘अमेरिकाले चीनमा ३४ प्रतिशत ट्यारिफ लगाउने आकस्मिक निर्णयले सेमीकन्डक्टर र विद्युतीय सवारीजस्ता मुख्य निर्यात क्षेत्रलाई सिधा असर पुर्‍यायो, जसले एशियाली बजारमा व्यापक मूल्य समायोजन ल्यायो।’

हङकङमा कारोबारको मात्रा अत्यधिक बढ्नुले जबरजस्ती सेयर बेच्नुपर्ने अवस्था आएको र बजारमा पूर्ण त्रास फैलिएको संकेत दिएको उनले बताइन्।

अमेरिकी बजारमा पछिल्ला दुई दिनको गिरावट पाँच वर्षकै सबैभन्दा खराब भएको छ । आइतबार बेलुका अमेरिकी स्टक फ्युचर्स पुन: तल झरे । जब दुई दिनभित्रै ५.४ ट्रिलियन डलरको बजार मूल्य गुमेको थियो।

शुक्रबार चीनले पनि कडा जवाफ दिँदै सबै अमेरिकी वस्तुमा ३४ प्रतिशत ट्यारिफ लगाएपछि अमेरिकी बजार झनै कमजोर भयो । यसले संसारकै दुई ठूला अर्थतन्त्रबीचको व्यापार युद्ध भयावह हुने चिन्ता बढाएको छ ।

चीनको सरकारी पत्रिका पिपुल्स डेलीमा सोमबार प्रकाशित लेखमा चीनले अमेरिकी दबाब झेल्ने क्षमता भएको भन्दै, ‘हामीसँग पर्याप्त विकल्पहरू छन्,’ भनिएको छ।

चीनको जवाफ यसपटक गम्भीर

चीनको पछिल्लो ट्यारिफ पहिलेको भन्दा धेरै व्यापक थियो । जसले बजारमा ठूलो हलचल ल्यायो । लगार्ड बैंकका प्रमुख रणनीतिकार रोनाल्ड टेम्पलले लेखेका छन्, ‘यस्ता ठूलो ट्यारिफले अहिलेको आर्थिक क्षति अघिल्लो भन्दा गहिरो हुने अपेक्षा गरिएको छ ।’

अन्य बजारमा पनि गिरावट

ताइवानको ताइएक्स ९.७ प्रतिशत भन्दा बढीले झर्‍यो । टीएसएमसी र फक्सकनजस्ता ठूला कम्पनीहरूको सेयर झरेपछि बजारमा ‘सर्किट ब्रेकर’ लाग्यो ।

अष्ट्रेलियाको एएएक्स-२०० ६.३ प्रतिशतले घट्यो। न्युजिल्याण्डको एनजेडएक्स-५० ३.७ प्रतिशतले झरेर बन्द भयो। दक्षिण कोरियाको कोस्पी ४.८ प्रतिशत तल झरेको थियो र कारोबार पाँच मिनेट रोकिएको थियो ।

सामान्यतः सुरक्षित लगानी मानिने सुन समेत ४ प्रतिशतले घटेर प्रति औंसा ३०३० डलरमा झरेको छ ।

अमेरिकी बजारमा ठूलो गिरावट आएपछि ट्रम्पले बजार के हुन्छ भनेर आफूले भन्न नसक्ने बताए । ‘बजारमा के हुन्छ म भन्न सक्दिन, तर हाम्रो देश पहिलेभन्दा धेरै बलियो भएको छ,’ उनले भने । ट्रम्पले चीनसँगको व्यापार घाटा कम गर्न तयार रहेको बताए।

अघिल्लो वर्ष अमेरिकाले चीनबाट ४३८.९ अर्ब डलरको सामान आयात गरेको थियो । निर्यात मात्र १४३.५ अर्ब डलरको गर्‍यो।

अन्य देशहरू पनि दबाबमा

जापानी प्रधानमन्त्री शिगेरु इसिबाले अमेरिका विरुद्ध ट्यारिफ घटाउन अपिल गरिरहने बताए। बुधवारबाट जापानमा पनि २४ प्रतिशत ट्यारिफ लागु हुने छ।

ताइवानका राष्ट्रपति लाई छिङ–तेले अमेरिका र ताइवानबीच ट्यारिफ हटाउने वार्ता गर्ने बताए। ताइवानले अमेरिकाबाट धेरै सामान किन्ने तयारी गरेको छ र त्यसले व्यापार घाटा कम गर्न मद्दत गर्ने उनको भनाइ छ।

एशियाली अर्थतन्त्रमा असर

बार्कलेज बैंकका अर्थशास्त्रीहरूले दक्षिण कोरिया र सिङ्गापुरजस्ता देशहरूले अमेरिकासँग वार्ता गरेर ट्यारिफ घटाउन सक्ने सम्भावनाप्रति शंका व्यक्त गर्दै एशियाली क्षेत्रको आर्थिक वृद्धिदर घट्ने चेतावनी दिएका छन् ।