इजरायलमाथि इरानको क्षेप्यास्त्र आक्रमण: क्षेत्रीय युद्ध चर्किने जोखिम

'नेतान्याहुले बाइडनलाई अटेरी गरिरहे क्षेत्रीय युद्ध नरोकिने'



गत मंगलवार (१ अक्टोबर) इरानले इजरायलका विभिन्न सैन्य अखडाहरूमा १८० भन्दा बढी क्षेप्यास्त्र आक्रमण गरेपछि पश्चिम एसियामा क्षेत्रीय युद्ध चर्किने सम्भावना बढेको छ ।

विगत केही समययता इजरायलले इरान तथा उसका सहयोगी समूहहरू हमास र हिज्बुल्लाहका शीर्ष कमान्डर तथा नेताहरूको हत्या गरेको बदलामा इरानले पछिल्लो आक्रमण गरेको हो । सेप्टेम्बर २७ मा इजरायलले लेबननस्थित हिज्बुल्लाहका प्रमुख हसन नसरल्लाहलाई बंकर ध्वस्त पार्ने बम विस्फोट गराई हत्या गरेकोमा नसरल्लाहलाई भेट्न गएका इरानी रिभोल्युशनरी गार्डका प्रमुख सैन्य अधिकृत जनरल अब्बास निलफोरुशान पनि मारिएका थिए ।

त्यसका अतिरिक्त, इजरायलले गत अप्रिलमा सिरियाको राजधानी दमास्कसस्थित इरानी दूतावासमा हवाई आक्रमण गरी शीर्ष इरानी सैन्य अधिकृत मोहम्मद रेजा जाहेदी र उनका सहायक मोहम्मद हादी हाजरियाहिमीको ज्यान लिएको थियो । अनि गत जुलाईमा इरानको राजधानी तेहरान पुगेका हमासका राजनीतिक प्रमुख इस्माइल हानियेलाई पनि इजरायलले हत्या गरेको थियो।

यी सबै हत्याहरूको बदला लिने भनी इरानले शाब्दिक चेतावनी दिँदै आएको भए पनि कुनै ठोस कारवाही गरेको थिएन । त्यसले गर्दा इजरायलविरुद्धको प्रतिरोध दस्ता (एक्सिस अफ रेजिस्टेन्स) मा इरानप्रतिको सम्मानमा ह्रास आउन थालेको थियो । आफू कमजोर नदेखिन र इजरायललाई कठोर चेतावनी दिनका लागि इरानले क्षेप्यास्त्र आक्रमण गरेको हो ।

इरानले खासमा अमेरिकाको कुरा पत्याएर अहिलेसम्म संयम कायम राखिरहेको थियो । इरानका उदारवादी मध्यमार्गी राष्ट्रपति मसूद पेजेशकियानका अनुसार, गत जुलाईमा इजरायलले इस्माइल हानियेको हत्या गरेपछि अमेरिकाले इरानलाई इजरायलमाथि आक्रमण गरी दण्ड दिनबाट रोकेको थियो । त्यतिखेर अमेरिकाले पेजेशकियनलाई प्यालेस्टाइनमा युद्धविराम गराउने र प्यालेस्टाइनीहरूका लागि बेग्लै राज्य बनाउने (टु स्टेट सोलुशन) प्रक्रियालाई पनि अघि बढाउने प्रतिज्ञा गर्दै इजरायलमाथि आक्रमण नगर्नका लागि फकाएको थियो ।

अमेरिकालाई विश्वास गरेका पेजेशकियानलाई इजरायलले लेबननमा पहिला पेजर तथा वाकीटकी आक्रमण र पछि हसन नसरल्लाहको हत्या गरेर उल्लु बनाइदियो । यस प्रकरणबाट के पनि साबित भयो भने इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु अमेरिकाका राष्ट्रपति जो बाइडनलाई पनि टेर्दैनन् र बाइडनसँग नेतान्याहुलाई नियन्त्रणमा राख्ने सामर्थ्य पनि छैन ।

जे होस्, पेजेशकियानले अमेरिकाबाट धोका पाएको स्वीकार गरी इजरायललाई पाठ सिकाउने उद्देश्यले विशाल संख्यामा बलिस्टिक क्षेप्यास्त्र आक्रमणको आदेश दिए । यसका लागि इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीको स्वीकृति रहेको स्पष्ट छ ।

इरानीहरूले अमेरिका र रुसलाई इजरायलको सैन्य लक्ष्यहरूमा मात्र प्रहार गर्ने भनी यसपालि पनि पूर्वजानकारी दिएको बताइएको छ । त्यही पूर्वजानकारीका आधारमा अमेरिकी अधिकारीहरूले सञ्चारकर्मीहरूलाई इरानको आक्रमण हुँदैछ भनी सूचना दिएका थिए । इजरायलले आफूमाथि आक्रमण हुँदैछ भन्ने थाहा पाएर पनि त्यसलाई रोक्न सकेन र यसले इजरायलको राष्ट्रिय सुरक्षामाथिको जोखिमलाई थप स्पष्ट पारेको छ ।

त्यसो त गत अप्रिलमा आफ्ना दुई सैन्य अधिकृतको सिरियामा हत्या भएपछि इरानले इजरायलमाथि क्षेप्यास्त्र आक्रमण गरेको थियो । तर त्यतिखेर उसले अमेरिकाका साथै पश्चिम एसियाका मुस्लिम मुलुकलाई आक्रमणको योजनाका बारेमा पूर्वजानकारी दिएको थियो । त्यो आक्रमण क्षेत्रीय युद्धमा परिणत नहोस् भनेर सतर्कता अपनाउँदै इरानले पूर्वजानकारी दिएको हो । युद्ध नचर्कियोस् भनेर इरानले इजरायलको महत्त्वपूर्ण सैन्य तथा गुप्तचरी अखडाहरूलाई त्यतिखेर आक्रमणको तारो बनाएको थिएन । तर इरानको यो सुझबुझपूर्ण कदमलाई इजरायल र पश्चिमाहरूले गिल्ला गर्दै यो इरानको पराजय भएको भनी चित्रित गरे ।

अति भएपछि मंगलवार इरानले आफ्नो वास्तविक शक्ति प्रदर्शन गरिदियो । इरानी सेनाले इजरायलका पाँचवटा सैन्य तथा गुप्तचरी अखडाहरूमा भयंकर क्षेप्यास्त्र आक्रमण गर्‍यो । त्यसो त इजरायल र पश्चिमाहरूले इरानका अधिकांश क्षेप्यास्त्रहरूलाई बीचैमा ध्वस्त पारिएको भनी दाबी गरे । त्यसमा आंशिक सत्यता होला तर सामाजिक सञ्जालमा आएका भिडियोहरू हेर्दा नेगेभ मरुभूमिमा रहेको इजरायलको नेभाटिम सैन्य हवाईअड्डामा इरानी क्षेप्यास्त्रहरूले लक्ष्यलाई विस्फोट गरेको देखिन्छ । इजरायलको विख्यात हवाई प्रतिरक्षा प्रणाली आइरन डोमलाई छेडेर इरानी क्षेप्यास्त्रहरू अन्य ठाउँमा पनि बज्रिएको तस्वीर र भिडियोहरू उपलब्ध छन् ।

इरानको यस आक्रमणबाट इजरायली सैनिक वा सर्वसाधारण कसैको पनि ज्यान गएको खबर छैन । अर्थात्, इरानले इजरायलको सैन्य संरचनामा सटीक प्रहार गरी मानवीय भन्दा पनि भौतिक क्षति पुर्‍याउन सफलता पाएको र इजरायललाई थप आक्रामक नबन्न चेतावनी दिएको स्पष्ट भएको छ ।

अझ रमाइलो कुरा त, इरानीहरूले अमेरिका र रुसलाई इजरायलको सैन्य लक्ष्यहरूमा मात्र प्रहार गर्ने भनी यसपालि पनि पूर्वजानकारी दिएको बताइएको छ । त्यही पूर्वजानकारीका आधारमा अमेरिकी अधिकारीहरूले सञ्चारकर्मीहरूलाई इरानको आक्रमण हुँदैछ भनी सूचना दिएका थिए । इजरायलले आफूमाथि आक्रमण हुँदैछ भन्ने थाहा पाएर पनि त्यसलाई रोक्न सकेन र यसले इजरायलको राष्ट्रिय सुरक्षामाथिको जोखिमलाई थप स्पष्ट पारेको छ ।

तर नेतान्याहुलाई यसको कुनै मतलब छैन । अहिले घटनाक्रमहरू उनले चाहे जस्तै गरी अघि बढिरहेका छन् । इरानलाई उत्तेजित बनाएर आफूमाथि आक्रमण गराउने र त्यसैको आडमा क्षेत्रीय युद्ध आरम्भ गराएर अमेरिकालाई समेत सहभागी गराउने अनि युद्धकालीन राजनेताका रूपमा आफ्नो सत्ता लम्ब्याउने उनको दाउ हो ।

त्यसैले उनले इरानमाथि आक्रमण गरी यस प्रहारको बदला लिने बताएका छन् । उनीसहित इजरायलका अनुदारवादी नेता तथा सैनिक अधिकृतहरू इरानको आणविक संरचनामा समेत आक्रमणका लागि उद्यत छन् भलै अमेरिकाका राष्ट्रपति बाइडनले इजरायलको यस कदममा अमेरिकाको समर्थन नरहने स्पष्ट पारेका छन् ।

तर इजरायलले आफूमाथि आक्रमण गरेमा आफूले पनि विनाशकारी प्रहार गर्ने चर्को र स्पष्ट सन्देश इरानले मंगलवार दिएको छ । अब चाहिँ इरानले इजरायलविरुद्ध शाब्दिक चेतावनी मात्र नभई फौजी कारवाही नै गर्ने संकेत पाइएको छ । पश्चिम एसियामा युद्धको शृंखला चलाएर अमेरिकालाई पनि झोस्ने नेतान्याहुको योजना भएकाले उनी इरानमाथि आक्रमण गर्न नहिचकिचाउने सम्भावना छ ।

जसरी पनि युद्ध चर्काउने ध्येयका साथ नेतान्याहुले लेबननमा इजरायली सेनालाई फौजी कारवाही गर्न लगाएका छन् र त्यसक्रममा सातजना इजरायली सैनिकको मृत्यु भइसकेको छ । नसरल्लाह र अन्य शीर्ष कमान्डरहरूको हत्या भए पनि हिज्बुल्लाह शक्तिशाली नै छ र उसले इजरायलको प्रतिकारका साथै इजरायलमाथि आक्रमण जारी राख्ने देखिन्छ ।

राष्ट्रपति चुनाव मुखैमा आउन लागेको बेलामा अमेरिकाको बाइडन प्रशासन पश्चिम एसियामा क्षेत्रीय युद्ध चर्काउन चाहँदैन । यसरी युद्ध चर्किएमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई घाटा लाग्न सक्ने अनुमान गरिएको छ । तर माथि पनि उल्लेख गरेझैं नेतान्याहुले बाइडनलाई अटेरी गरिरहेको स्थितिमा अमेरिका क्षेत्रीय युद्धलाई रोक्न असमर्थ देखिन्छ

अब अमेरिकाले के गर्छ भन्ने कुरामा भविष्यको घटनाक्रम निर्भर छ । अमेरिकाले रुस र चीनको आगामी कदमलाई पनि विचार गर्नुपर्ने हुन्छ । ती दुवै मुलुकहरूले विगत केही वर्षयता इरानसँग संयुक्त सैन्य अभ्यास गर्दै आएका छन् ।

यसैबीच रुस र इरानले सैन्य सहकार्यलाई अघि बढाउनका लागि विस्तृत सम्झौतालाई अन्तिम रूप दिन खोजिरहेको खबर पनि आएको छ । रुसका प्रधानमन्त्री मिखाइल मिशुस्तिनले यसै साता इरानको भ्रमण गरी राष्ट्रपति पेजेशकियानसँग भेटघाट गरी सैन्य सहकार्य लगायतका विषयमा छलफल गरेका छन् । इरानले रुसको सल्लाहबमोजिम इजरायलमाथि मंगलवार आक्रमण गरेको हुनसक्ने अनुमान पनि गरिएका छन् ।

राष्ट्रपति चुनाव मुखैमा आउन लागेको बेलामा अमेरिकाको बाइडन प्रशासन पश्चिम एसियामा क्षेत्रीय युद्ध चर्काउन चाहँदैन । यसरी युद्ध चर्किएमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई घाटा लाग्न सक्ने अनुमान गरिएको छ । तर माथि पनि उल्लेख गरेझैं नेतान्याहुले बाइडनलाई अटेरी गरिरहेको स्थितिमा अमेरिका क्षेत्रीय युद्धलाई रोक्न असमर्थ देखिन्छ ।


विन्देश दहाल

दहाल अन्तर्राष्ट्रिय अर्थराजनीति बारे कलम चलाउँछन् ।