पश्चिम एसिया युद्धको संघारमा: इजरायलमाथि इरानको रणनीतिक र मनोवैज्ञानिक विजय



इरानले इजरायलमाथि शनिवार राति ठूलै संख्यामा क्षेप्यास्त्र प्रहार गरेपछि पश्चिम एसिया युद्धको संघारमा आइपुगेको छ । हुन त इरानले इजरायलको दक्षिण भागमा रहेको नेभाटिम सैन्य अखडामा आक्रमण गरी एफ–३५ लडाकू विमानहरू नष्ट गरिदिएको र मानवीय हताहती नगराएकाले अहिलेको तनाव क्षेत्रीय द्वन्द्वमा परिणत नहुन पनि सक्ने बताइएको छ । तर इरानको यस कारवाहीको जवाफ फर्काउने इजरायली सरकारले बयान दिइरहेकाले युद्ध चर्किने सम्भावना जीवितै छ ।

इजरायलका रणनीतिक महत्त्वका क्षेत्रहरूमा इरानले गरेको क्षेप्यास्त्र प्रहार फौजी रणनीतिको उच्चतम नमूना भएको विश्लेषण कतिपय सैन्य विश्लेषकहरूले गरेका छन् । उनीहरूका अनुसार, इरानको क्षेप्यास्त्र प्रहारले पश्चिम एसियामा रहेको अमेरिका तथा पश्चिमको क्षेप्यास्त्रनिरोधी प्रविधिहरूको लोकेशन पत्ता लागेको छ । यसले अब इरानलाई भविष्यमा ती लोकेशनहरू टार्गेट गरेर ध्वस्त पार्न सहज हुने भएको छ ।

त्यसो त इरानसँग भएका हतियारका विषयमा इजरायलीहरूलाई राम्रै जानकारी छ किनकि इजरायली गुप्तचरहरूले इरानी सूचनामा दखल राख्ने गरेका छन् । त्यसैले इजरायलले थाहा नपाएको कुनै पनि हतियार इरानले उपयोग गरेन तर व्यापक संख्यामा आफ्ना हतियार उपयोग गरेर उसले इजरायलीहरूलाई हावाकावा चाहिँ खेलायो ।

यस आक्रमणमार्फत इरानीहरूले इजरायलको क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली कस्तो छ भन्ने कुरा राम्ररी चाल पाए अनि अरबी खाडीमा अमेरिकाका क्षेप्यास्त्रनिरोधी अखडाहरू कहाँकहाँ छन् भन्ने पनि जानकारी बटुले । त्यस्ता क्षेप्यास्त्रनिरोधी प्रणाली बनाउन इजरायललाई कति समय लाग्छ अनि विदेशी शक्तिको आक्रमण हुँदा इजरायली समाजले कस्तो किसिमको प्रतिक्रिया जनाउँदा रहेछन् भन्ने कुरा पनि इरानीहरूले थाहा पाए । इरानी आक्रमणको अपेक्षा तथा आक्रमण स्वयंले सर्वसाधारण इजरायलीहरूको सातो गएको छ

व्यापक संख्यामा क्षेप्यास्त्रहरू प्रहार गरेर इरानले आफू एकैपटकमा अनेकौं किसिमका अस्त्रहरूको उपयोग गर्न समर्थ रहेको र इजरायललाई यत्तिको आक्रमणको सामना गर्न त अमेरिकी सहयोग आवश्यक छ भने यसभन्दा ठूलो आक्रमण उसले के झेल्न सक्ला र भन्ने सन्देश दिन इरान सफल भएको छ । यस अर्थमा इरानले इजरायलमाथि मनोवैज्ञानिक विजय हासिल गरेको छ । इरानले भविष्यमा गर्ने आक्रमणले इजरायलका सबै रणनीतिक महत्त्वका क्षेत्रलाई ध्वस्त पार्ने संकेत यसैबाट पनि पाउन सकिन्छ ।

इरानले यस आक्रमणमार्फत प्राप्त गरेको रणनीतिक सूचना निकै महत्त्वपूर्ण हुनेछ किनकि यसलाई इजरायलको प्रतिरक्षा प्रणालीमा कुन कुन तत्त्वहरू विद्यमान रहेछन् भनी थाहा भएको छ र उसले त्यसलाई रिभर्स इन्जिनीयरिङ गरेर थप घातक हतियार बनाउन सक्छ । इरानले भेदन गरेको प्रविधिलाई इजरायल र अमेरिकाकाले पूरै नयाँ डिजाइन बनाउनुपर्ने भएको छ र नयाँ डिजाइन बनाउन धेरै खर्च हुनेछ । नयाँ डिजाइनको प्रतिरक्षा प्रणालीले इरानी आक्रमण थेग्न सक्ने कुनै सुनिश्चितता छैन ।

यस अर्थमा इरानको यस प्रहारले इजरायललाई ठूलै रणनीतिक क्षति पुर्‍याएको छ भलै इजरायल समर्थक पश्चिमी सञ्चारमाध्यमहरूले ९९ प्रतिशत इरानी क्षेप्यास्त्र प्रहारलाई रोक्न सकिएको भनी गौरव गरिरहेका छन् ।

रणनीतिक विजयसँगै इरानले मनोवैज्ञानिक जीत पनि अहिलेको आक्रमणमार्फत प्राप्त गरेको छ । प्यालेस्टाइनी जनताको प्रतिकारात्मक संघर्ष (एक्सिस अफ रेजिस्टेन्स) को सबभन्दा ठूलो समर्थक इरान नै रहेछ भन्ने कुराको पनि पुष्टि भएको छ ।

टर्कीले आफूलाई प्यालेस्टाइनीहरू सहित समग्र मुस्लिम जगतको प्रतिरक्षकका रूपमा जतिसुकै फुइँ लगाएको भए पनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको आलोचना गर्नेबाहेक इजरायललाई नरसंहार रोक्नका लागि बाध्य पार्ने कुनै पनि काम टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनले गर्न सकेका छैनन् ।

तर इरानले प्यालेस्टाइनीहरूका लागि आफू इजरायलसँग भिड्न तयार रहेको सन्देश दिएको छ । यसअघि इजरायल र अमेरिकाले इरानका उच्च तहका सैन्य अधिकृत तथा वैज्ञानिकहरूलाई हत्या गरेकोमा इरानले त्यसको ठोस प्रतिरोध गर्न नसक्दा ऊ कमजोर रहेछ भन्ने सन्देश गएको थियो तर अहिले उसको शक्तिमा सबैले विश्वास गरेका छन् ।

यससँगै इरानले अरब विश्वमा इजरायल तथा अमेरिका समर्थक शासकहरूको कुरूप अनुहार उदांगो पारेर अर्को रणनीतिक सफलता हात पारेको छ । इजरायलको प्रतिरक्षामा योगदान दिने जोर्डनका राजाप्रति अरब विश्वमा घृणाको लहर फैलिएको छ किनकि उनले गाजामा नरसंहारको शिकार भइरहेका प्यालेस्टाइनीहरूको सुरक्षाका लागि सिन्को पनि भाँचेका छैनन् भने अत्याचारी इजरायलको चाहिँ प्रतिरक्षा गरिरहेका छन् । जोर्डनी राजाप्रतिको यो घृणा ठूलै आन्दोलनमा परिणत हुने सम्भावना पनि छ र यसले पश्चिम एसियाबाट अमेरिकाको कुप्रभावलाई बढार्न मद्दत समेत गर्न सक्नेछ ।

अनि इरानले इजरायली सर्वसाधारण बस्ने बस्तीमा नभई सैन्य अखडामा मात्र आक्रमण गरेर आफूलाई युद्धको नियम पालन गर्ने जिम्मेवार शक्तिका रूपमा प्रस्तुत गरी बलियो रूपमा आफ्नो सफ्ट पावर बढाएको छ । इरान उत्तेजनामा आएर सैन्य कारवाही नगर्ने शक्ति रहेछ भन्ने कुरा टर्कीका पत्रकार रागप सोइलुले दिएको जानकारीबाट पुष्टि भएको छ ।

सोइलुका अनुसार, अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले इरानलाई आफ्नो प्रतिकारात्मक कारवाहीको दायरा सीमित गर्नका लागि आग्रह गरेको सन्देश पुर्‍याइदिन टर्किश अधिकारीहरूलाई अनुरोध गरेका थिए । त्यसको जवाफमा इरानीहरूले सिरियाको राजधानी दमास्कसमा रहेको आफ्नो वाणिज्य दूतावासमा इजरायलले गरेको आक्रमणको प्रतिक्रिया मात्र जनाउन खोजेको र त्यसभन्दा विस्तृत दायरामा आक्रमण नगर्ने भनेको खबर पनि सोइलुले दिएका छन् ।

त्यस्तै अमेरिकामा रहेको इन्स्टिच्युट फर पीस यान्ड डिप्लोमेसी नामक थिंकट्यांकका अनुसन्धान निर्देशक आर्टा मोईनीका अनुसार, इरानको आक्रमण बाइडन प्रशासनसँग समन्वय गरेरै भएको हो । पहिले नै यसबारेमा अमेरिकालाई जानकारी दिएर पनि इरानले इजरायलको नेगेभ मरुभूमिमा रहेको नेभाटिम हवाई अड्डामा क्षति पुर्‍याउन सफल भएबाट इजरायलको प्रख्यात आइरन डोम अनि पश्चिमले उसलाई दिएको प्रतिरक्षात्मक सहयोगलाई समेत भेदन गर्न इरान समर्थ रहेको सन्देश पश्चिमले पाएको छ ।

इरानको यस संयमित तथा सुझबुझपूर्ण कदमले समग्र दक्षिण (ग्लोबल साउथ) मा इरानप्रति सकारात्मक दृष्टिकोण बन्न योगदान गरेको छ । उता इजरायलले चाहिँ स्वेच्छाचारी रूपमा निहत्था सर्वसाधारणमाथि आक्रमण गरेर मानवताविरुद्धको अपराध र युद्धअपराध गर्दै आएको छ अनि उसको यस घृणित क्रियाकलापमा पश्चिमले साथ दिइरहेको छ । यस प्रकरणपछि ग्लोबल साउथका जनतामा इजरायल र समग्र पश्चिमप्रति कहिले पनि श्रद्धा पलाउने स्थिति छैन

अहिले इरानले गरेको कारवाहीले ऊ कति शक्तिशाली रहेछ भन्ने कुरा पनि अमेरिका र उसका अरब साझेदारहरूले हेक्का पाएका छन् । त्यसैले निर्वाचन आउन लागेको बेलामा अमेरिकाका राष्ट्रपति जो बाइडन नयाँ युद्धको आरम्भले पार्ने नकारात्मक परिणाम बेहोर्ने मूडमा छैनन् । त्यसैले पनि उनका परराष्ट्रमन्त्री ब्लिन्केनले टर्कीमार्फत इरानलाई सन्देश पठाएका हुन् । अमेरिकाले इजरायललाई दिने सुरक्षा प्रत्याभूतिको सीमितता पनि यसबाट उजागर भएको छ । अनि अरबीहरू पनि आफ्नो आँगनैमा क्षेत्रीय युद्धको खतरा मोल्न नचाहलान् । त्यसैले उनीहरूले इजरायललाई युद्ध नचर्काउनका लागि दबाब दिन सक्छन्।

तर नेतान्याहु नेतृत्वको उग्रदक्षिणपन्थी इजरायली सरकार इरानसँग युद्धका लागि लालायित देखिन्छ । युद्धमा अमेरिका पनि होमिएमा इरानको शक्ति क्षीण बनाउन सकिने अनि एक्सिस अफ रेजिस्टेन्सलाई भत्काउन पनि सकिने आकलन उनीहरूले गरिरहेको देखिन्छ ।

उता इरान चाहिँ लामो समयसम्म जाने युद्ध अर्थात् वार अफ एट्रिशनको पक्षमा रहेको विश्लेषक सेथ क्रोप्सीले वालस्ट्रीट जर्नलमा लेखेका छन् । त्यसो हुँदा इजरायलको प्रतिरक्षात्मक क्षमता खिइँदै जानेछ र अमेरिकालाई पनि इजरायलको प्रतिरक्षा महंगो पर्न जानेछ । अहिले युक्रेनविरुद्ध रुसले यही रणनीति अपनाइरहेको छ र अमेरिकालाई युक्रेन घाँडो बन्दै गएको छ ।

इरानले गरेको आक्रमणको प्रतिरक्षा ज्यादै महंगो भएको भनी स्वयं इजरायली सेनाका ब्रिगेडियर जनरल रीम अमिनोआचले दिएका छन् । प्रतिरक्षाका लागि ५ अर्ब शेकेल (इजरायली मुद्रा) खर्च भएको तर इरानले त्यसको जम्मा १० प्रतिशत खर्चमार्फत अहिलेको आक्रमण गर्न सफल भएको उनको भनाइ छ । भविष्यमा इरानले अहिलेको भन्दा ठूलो संख्यामा आक्रमण गरेमा त्यसलाई प्रतिकार गर्ने बजेट इजरायलसँग नहुन सक्ने जोखिम रहेको अमिनोआचले संकेत दिएका छन् ।

समग्रतामा भन्नुपर्दा, इरानको ताजा आक्रमणले इजरायल र पश्चिमलाई इरान चानचुने खेलाडी हैन रहेछ भन्ने गतिलो सन्देश दिएको छ ।


विन्देश दहाल

दहाल अन्तर्राष्ट्रिय अर्थराजनीति बारे कलम चलाउँछन् ।