
एजेन्सी । भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस (कांग्रेस) ले देशभर प्रदर्शन गर्ने घोषणा गरेको छ । यो निर्णय आर्थिक अपराध अनुसन्धान गर्ने निकाय ‘इन्फोर्समेन्ट डाइरेक्टोरेट’ (ईडी) ले कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धीलगायत नेताहरूमाथि सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) को अभियोग लगाएको एक दिनपछि आएको हो ।
मंगलबार (दिल्लीको अदालतमा) ईडीले अनुसन्धान प्रतिवेदन पेश गर्दै गान्धी परिवारमाथि ‘शेल कम्पनी’ बनाएर नेशनल हेराल्ड अखबारका २० अर्ब रुपैयाँभन्दा बढी मूल्यका सम्पत्ति अवैध रूपमा कब्जा गरेको आरोप लगाएको छ ।
कांग्रेस प्रवक्ता जयराम रमेशले यी आरोपलाई ‘बदला र डर’ फैलाउने राजनीति भएको आरोप लगाउँदै सरकारले ईडी प्रयोग गरेर विपक्षीहरूलाई सताइरहेको बताएका छन् ।
सोनिया र राहुल गान्धीले यसअघि नै कुनै गल्ती नगरेको दाबी गर्दै आएका थिए तर हालको मुद्दामा उनीहरूले कुनै प्रतिक्रिया दिएका छैनन् ।
भारतीय समाचार संस्था एएनआईका अनुसार अनुसन्धानमा कांग्रेसका प्रवासी प्रमुख साम पित्रोडालगायत अन्य नेताहरूको पनि नाम समावेश गरिएको छ ।
यो मुद्दाको छानबिन सन् २०२१ मा सुरु भएको थियो। सत्तारूढ भारतीय जनता पार्टी (बीजेपी) का नेता सुब्रमण्यम स्वामीले अदालतमा दिएको उजुरीपछि ईडीले छानबिन थालेको हो ।
स्वामीको आरोप थियो कि कांग्रेस पार्टीले आफ्नै पैसा प्रयोग गरेर ‘एशोसिएटेड जर्नल्स लिमिटेड’ (एजेएल) कम्पनी कब्जा गर्यो, जुनले नेशनल हेराल्ड प्रकाशित गथ्र्यो। त्यसरी एजेएल मार्फत करोडौंको सम्पत्ति कब्जा गरिएको उनले दाबी गरेका थिए ।
नेशनल हेराल्ड सन् २००८ मा बन्द भएको थियो, तर पछि डिजिटल रूपमा पुनः सुरु गरिएको थियो ।
कांग्रेसको भनाइ अनुसार एजेएल ऐतिहासिक संस्था भएकाले त्यसलाई आर्थिक संकटबाट बचाउन पार्टीले करिब ९० करोड रुपैयाँ ऋण दिएको थियो ।
सन् २०१० मा एजेएल ले त्यो ऋणलाई सेयरमा रूपान्तरण गरेर नयाँ कम्पनी ‘यंग इन्डियन’ लाई सेयर हस्तान्तरण गर्यो। कांग्रेसको दाबी अनुसार ‘यंग इन्डियन’ नाफारहित संस्था हो, जसका सञ्चालकहरूले कुनै लाभ लिएका छैनन् ।
सोनिया र राहुल गान्धी ‘यंग इन्डियन’ का सञ्चालक हुन् र उनीहरूले ३८–३८ प्रतिशत सेयर राखेका छन् । बाँकी २४ प्रतिशत सेयर कांग्रेस नेताहरू मोतीलाल वोरा र साम पित्रोडाको स्वामित्वमा छ ।
गत साता ईडीले यंग इन्डियनले एजेएल का २० अर्ब रुपैयाँ बराबरका सम्पत्ति मात्र ५० लाखमा कब्जा गरेको दाबी गर्यो, जुन मूल्यभन्दा अत्यन्तै सस्तो हो ।
त्यससँगै, ईडीले दिल्ली, मुम्बईलगायत विभिन्न सहरमा यंग इन्डियनसँग सम्बन्धित ६ अर्ब ६० करोड रुपैयाँ बराबरका सम्पत्ति जफत गर्ने प्रक्रिया थालेको छ ।
यो मुद्दा आगामी अप्रिल २५ मा अदालतमा सुनुवाइका लागि तय गरिएको छ ।
विगत केही वर्षयता विपक्षी दलहरूले बारम्बार प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको सरकारमाथि ईडी को प्रयोग गरेर राजनीतिक विरोधीहरूलाई निशाना बनाएको आरोप लगाउँदै आएका छन् ।
रिपोर्ट अनुसार सन् २०१४ देखि सन् २०२४ सम्म मोदी सत्तामा रहँदासम्म ईडीले करिब १५० जना विपक्षी नेताहरूलाई बोलाएको, छानबिन गरेको वा उनीहरूको घरमा छापा मारेको देखिन्छ ।
गत वर्ष पनि दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाललाई कथित ‘रक्सी काण्ड’मा ईडीले आम चुनावको एक महिना अघि पक्राउ गरेको थियो । उनले पाँच महिना जेल बसेपछि मात्रै जमानत पाए।
नेशनल हेराल्ड के हो?
नेशनल हेराल्ड सन् १९३८ मा भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरू (राहुल गान्धीका हजुरबुबा) द्वारा स्थापित भएको अंग्रेजी अखबार हो।
सन् २००८ मा आर्थिक संकटका कारण बन्द भएको यो पत्रिका सन् २०१० मा कांग्रेसले फेरि अधिग्रहण गरी सन् २०१६ मा डिजिटल रूपमा पुनः प्रकाशन गर्यो।
यसको प्रकाशक संस्था ‘एशोसिएटेड जर्नल्स लिमिटेड’ (एजेएल) हो, जुन सन् १९३७ मा ५,००० जना स्वतन्त्रता सेनानीहरू मिलेर स्थापना गरेका थिए। एजेएल ले उर्दूमा ‘कौमी आवाज’ र हिन्दीमा ‘नवजीवन’ पनि प्रकाशित गर्थ्यो।
नेशनल हेराल्डले भारतको स्वतन्त्रता आन्दोलन र राष्ट्रियताको पक्षमा लेख प्रकाशित गरेर ख्याति कमाएको थियो। नेहरू स्वयं पनि यसमा तीव्र लेख लेख्थे, जसकारण ब्रिटिश सरकारले सन् १९४२ मा यसलाई बन्द गरिदिएको थियो। पछि यो तीन वर्षपछि पुनः सञ्चालनमा आयो।
सन् १९४७ मा स्वतन्त्रता प्राप्त भएपछि नेहरूले प्रधानमन्त्री बन्नका लागि पत्रिकाको अध्यक्ष पदबाट राजीनामा दिएका थिए। तर कांग्रेसले लामो समयसम्म यस पत्रिकाको विचारधारामा प्रभाव राखेको थियो।
सन् १९६३ मा पत्रिकाको रजत जयन्तीमा नेहरूले ‘नेशनल हेराल्ड कांग्रेसको नीतिलाई समर्थन गर्ने तर स्वतन्त्र दृष्टिकोण राख्ने’ भनेर सन्देश दिएका थिए।
नेशनल हेराल्ड सन् २००८ सम्म कांग्रेसद्वारा समर्थित एक प्रमुख पत्रिका मानिन्थ्यो, तर आर्थिक समस्याले गर्दा बन्द भएको थियो।







प्रतिक्रिया