हिज्बुल्लाहमाथि इजरायलको घातक प्रहार, जोखिममा पश्चिम एसिया



शनिवार (२८ सेप्टेम्बर) इजरायलले लेबननमा हिज्बुल्लाहमाथि गरेको आक्रमणमा परि उक्त समूहका प्रमुख हसन नसरल्लाहको हत्या गरेपछि पश्चिम एसियाको अस्थिर राजनीति थप जोखिमयुक्त बनेको छ ।

लेबननको राजधानी बेरुतको दक्षिणी भागमा रहेको एक भवनमा नसरल्लाह बसिरहेको खबर पाएपछि इजरायलले उनको सफाया गर्ने उद्देश्यले आक्रमण गरेको थियो । द गार्डियन पत्रिकाले इजरायली स्रोतहरूको हवाला दिँदै प्रकाशन गरेको खबरअनुसार, इजरायलको मन्त्रिपरिषद्ले नसरल्लाहको हत्या गर्ने योजनालाई यसअघि स्थगित गरेको भए पनि हिज्बुल्लाहको कमान्ड कार्यालय भवनमा उनी आउने सूचना पाएपछि उनको हत्याको स्वीकृति दिएको हो । न्यु अर्डर नामक सैन्य कारवाही अन्तर्गत इजरायलले बंकरलाई समेत ध्वस्त पार्न सक्ने बम बोकेको एफ–१५ लडाकू विमानमार्फत नसरल्लाहको हत्या गरेको हो।

आफ्ना कमान्डर नसरल्लाहको हत्या हिज्बुल्लाहका लागि निकै ठूलो क्षति हो । सन् १९८० को दशकमा लेबननमा इजरायलको प्रतिकार गर्नका लागि स्थापित भएको हिज्बुल्लाहलाई पश्चिम एसियाकै सबभन्दा धेरै हातहतियारयुक्त गैरराज्य समूह बनाउन नसरल्लाहको योगदान छ । यो लडाकू समूह मात्र नभई लेबननको प्रभावशाली राजनीतिक शक्ति समेत हो । पश्चिमले हिज्बुल्लाहलाई आतंकवादी संगठनको दर्जा दिएको भए पनि इजरायलविरोधी प्रतिरोध समूहले हिज्बुल्लाहलाई उच्च सम्मान गर्दै आएको छ ।

हिज्बुल्लाहलाई पहिलेदेखि नै सहयोग गर्दै आइरहेको इरानले नसरल्लाहको हत्याको बदला लिइछाड्ने प्रतिबद्धता व्यक्त गरेको छ । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीले नसरल्लाहको नाम नलिइकन शनिवार एक बयान जारी गर्दै लेबननीहरूको हत्या गर्ने इजरायलको सबै मुसलमानले प्रतिरोध गर्नुपर्ने बताएका छन् । इरानले यस हत्याको बदला कसरी लिन्छ भनी सबैले चासो देखाइरहेका छन् ।

त्यसो त इरान र हिज्बुल्लाहले अहिलेसम्म इजरायलका विरुद्ध कठोर बयान जारी गर्ने गरेको भए पनि उसलाई तर्साउने गरी कुनै पनि सैन्य कारवाही गर्न सकेका छैनन् । त्यसैले भविष्यमा पनि उनीहरूले इजरायललाई अप्ठ्यारोमा पार्ने गरी कुनै कारवाही गर्नेमा प्रशस्त शंका गर्न सकिन्छ ।

हिज्बुल्लाहसँग क्षेप्यास्त्रहरूको विशाल भण्डार रहेकाले इजरायलले आफूसमेत ध्वस्त हुने भएकाले उसमाथि आक्रमण गर्न हिचकिचाउने भनी यसअघि गरिएका विश्लेषणहरू गलत साबित भएका छन् । बरू यस प्रकरणले इजरायलको गुप्तचर निकाय मोसादले हिज्बुल्लाहको भित्री तहसम्म पकड बनाइसकेको तथ्यलाई उजागर गरेको छ ।

हिज्बुल्लाह कमान्डमा इजरायली गुप्तचरको पहुँचका कारण नै नसरल्लाह बसेको ठाउँमा सटीक आक्रमण गरी उनको हत्या गर्न इजरायलले सफलता पाएको हो, नत्र यस्तै आक्रमणमा परिने डरका कारण नसरल्लाह भूमिगत भएर बस्ने गरेका थिए । हुन त दुई साताअघि इजरायलले हिज्बुल्लाहको आपूर्ति शृंखलामा प्रवेश गरी पेजर र वाकीटकी आक्रमणमार्फत हिज्बुल्लाह कमान्डरहरूको हत्या गरेको घटनाबाट नै उसको गुप्तचर संयन्त्रको दक्षता प्रमाणित भइसकेको हो जसका बारेमा पंक्तिकारले विश्लेषण गरेको छ

पेजर र वाकीटकी आक्रमणले हिज्बुल्लाहको चेन अफ कमान्डलाई अस्तव्यस्त बनाइदिए लगत्तै इजरायलले लेबननमा भीषण आक्रमण गरी ५०० जनाभन्दा बढीको ज्यान लिएको भए पनि हिज्बुल्लाहले खासै प्रतिकार गर्न सकेको छैन । उसले इजरायलको उत्तरी भागमा एकाध क्षेप्यास्त्र आक्रमण गरे पनि त्यो इजरायललाई पछि हट्नका लागि बाध्य बनाउन सफल छैन । अनि इजरायलको यो पछिल्लो साहसी कदमको प्रतिकारका लागि इरानले कुनै किसिमको सैन्य कारवाही गर्ला भनी कतिपयले आशा गरेको भए पनि तत्कालका लागि इरानले त्यसो गर्न अस्वीकार गरेको छ ।

वास्तवमा अहिलेको युद्धमा हिज्बुल्लाहको तुलनामा इजरायल धेरै बलियो स्थितिमा देखिएको छ । माथि पनि उल्लेख भएझैं इजरायली गुप्तचरहरू हिज्बुल्लाहको भित्री तहसम्म पहुँच बनाउन सफल देखिन्छन् । उनीहरूलाई हिज्बुल्लाहको क्षेप्यास्त्र भण्डार रहेको स्थानका बारेमा थाहा भएकैले ध्वस्त पार्न सफल भए ।

यो प्राविधिक गुप्तचरी (सिग्नल इन्टेलिजेन्स) बाट मात्र सम्भव छैन । यसका लागि त मानव गुप्तचरी (ह्युमन इन्टेलिनेन्स) नै आवश्यक हुन्छ । हिज्बुल्लाहको उच्च तहमा इजरायलका लागि काम गर्ने मान्छेको पहुँच भएकाले नै अहिलेको कारवाही सम्भव भएको हो ।

हिज्बुल्लाहमाथि यस्तो निर्णायक आक्रमण हुँदा पनि उसको समर्थक इरानले इजरायलमाथि प्रत्याक्रमण नगरी चेतावनी मात्र जारी गरेको देख्दा ऊ पनि इजरायलसँग हिचकिचाएको स्पष्ट भएको छ । आफ्नो सामर्थ्यको ज्ञान भएकाले वा संयम देखाएकाले इरान हिचकिचाएको हो, भन्न सकिन्न ।

वास्तवमा गत अप्रिल महिनामा इजरायलले सिरियाको दमास्कसमा रहेको इरानी दूतावासमा गरेको बम आक्रमण अनि त्यसको जवाफी कारवाहीका रूपमा इरानले इजरायलको सैन्य संरचनामाथि गरेको आक्रमणबाट नै उनीहरूले एकअर्काको शक्तिको मापन गरेको जस्तो देखिन्छ । इरानले त्यतिखेर इजरायलमाथि सामान्य आक्रमण गरेकाले इजरायलको मनोबल बढेको थियो र उसले तेहरान पुगेका हमासका राजनीतिक प्रमुख इस्माइल हानियेको हत्या गर्ने साहस समेत गरेको थियो ।

त्यस हत्याको बदला लिने भनी इरानले चेतावनी जारी गरे पनि अहिलेसम्म कुनै कारवाही गर्न नसकेकाले इजरायललाई थप दुस्साहसी कदमहरू चाल्न उत्प्रेरित गरेको देखिन्छ । त्यतिखेर इरानले कारवाही गरेको भए इजरायलको रक्षाका लागि अमेरिका आउँथ्यो र इरानले अमेरिकासँग युद्ध गर्नुपर्ने हुन्थ्यो, त्यसैले इरानले कुनै कारवाही नगरेको हो भनेर पनि कतिपयको भनाइ छ ।

तर वास्तवमा इजरायलको हवाई प्रतिरक्षा प्रणालीलाई आफूले खासै भेदन गर्न नसकेको र इजरायलले गर्ने आक्रमणलाई रोक्न आफू असमर्थ रहेको अनुभव गरेर इरान सैन्य कारवाहीका लाथि हच्किएको निष्कर्ष निकाल्न सकिन्छ । त्यसैले पश्चिम एसियामा इजरायल सोचेभन्दा बढी शक्तिशाली रहेको र उसको प्रतिकार गर्ने समूह (रेजिस्टेन्स ग्रूप) उसविरुद्ध युद्ध चर्काउनका लागि समर्थ नरहेको ठहर गर्न सकिन्छ ।

हुन त इजरायलको उग्रदक्षिणपन्थी सरकार आफ्नो देशको विनाश हुन सक्ने सम्भावनालाई पनि नजरअन्दाज गर्दै आफ्ना शत्रुहरूमाथि आक्रमणका लागि उद्यत रहेको अनि इजरायलविरोधी शक्तिहरू चाहिँ विनाशकारी युद्धको परिणामप्रति सचेत रहँदै संयमित बनेको पनि उत्तिकै सत्य हो । आफ्ना कमान्डर नसरल्लाहको हत्यापछि हिज्बुल्लाहले संयम गुमाउन सक्ने सम्भावना छ तर हिज्बुल्लाहको समर्थक इरानले इजरायलमाथि आक्रमण गरी तेस्रो विश्वयुद्ध निम्त्याउन नचाहेको देखिन्छ ।

अहिले हिज्बुल्लाहलाई इजरायलले एकप्रकारले तहसनहस बनाएको छ । त्यसैले हिज्बुल्लाहले चाहे पनि यस युद्धलाई चर्काउन सक्ने स्थिति छैन । तर इजरायलविरुद्ध कुनै कारवाही नगर्दा पनि हिज्बुल्लाहप्रति मुस्लिम जगतको सम्मान हराएर जान्छ ।

त्यसो त हिज्बुल्लाह र हमास अहिले हच्किएको स्थिति भए पनि उनीहरू समूल विनाश भइसकेका छैनन् । उनीहरूले नयाँ पुस्ताका लडाकूहरू जन्माएर इजरायलविरुद्ध अक्टोबर ७ को जस्तो कारवाही भविष्यमा पनि गर्ने सम्भावना छ ।

अनि इरान पनि अप्ठ्यारो स्थितिमा छ । लेबननी जनता र नसरल्लाहको हत्याको बदला लिनका लागि इरानले इजरायलमाथि आक्रमण गरेमा इजरायलले त्यसको कठोर प्रतिकार गर्ने पक्का छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले चाहेकै त्यही हो । इजरायलले इरानमा समेत गुप्तचरी पहुँच बनाएर इरानी वैज्ञानिकहरूको हत्या र इरानी संरचनाको विनाश गरिरहेको छ । इजरायलको प्रतिरोध गर्ने समूहको मुखियाका रूपमा इरानलाई लिइएको भए पनि यी प्रकरणहरूपछि इरानको कमजोरी छताछुल्ल भएको छ र उसले केही ठोस कदम नचालेमा मुस्लिम जगतले उसलाई गम्भीरतापूर्वक नलिने जोखिम बढेको छ ।

इजरायललाई रोक्ने उद्देश्यका साथ इरानले सिधै सैन्य कारवाही गरे मात्र अहिलेको नरसंहार रोकिन सक्छ यद्यपि त्यसले युद्धको दायरा फराकिलो बनाउँछ र अमेरिकाको संलग्नता समेत निम्त्याउँछ

इरानका नवनिर्वाचित मध्यमार्गी राष्ट्रपति मसूद पेजेशकियान अमेरिकासँग सम्झौता गरी आफ्नो देशमाथि लगाइएको आर्थिक प्रतिबन्ध खुकुलो बनाउन कोशिश गरिरहेका छन् । यस्तो अवस्थामा नसरल्लाहको हत्याको बदला लिनका लागि इरानले सैन्य कारवाही थालेमा अमेरिकासँग कूटनीतिको ढोका बन्द हुनेछ । त्यसैले इरानले इजरायलमाथि सिधासिधा आक्रमण भन्दा पनि यमनका हूती र इराकका लडाकू समूहहरूलाई इजरायलविरुद्ध आक्रमणका लागि उत्प्रेरित गर्न सक्छ ।

तर यस्ता आक्रमणलाई इजरायलले सजिलै परास्त गर्न सक्ने देखिन्छ । इजरायललाई गाजाका साथै लेबननमा पनि युद्ध अघि बढाउन कुनै कठिनाइ नरहेको अहिलेको प्रकरणबाट स्पष्ट भएको छ । त्यसैले इजरायललाई रोक्ने उद्देश्यका साथ इरानले सिधै सैन्य कारवाही गरे मात्र अहिलेको नरसंहार रोकिन सक्छ यद्यपि त्यसले युद्धको दायरा फराकिलो बनाउँछ र अमेरिकाको संलग्नता समेत निम्त्याउँछ । तर माथि उल्लेख गरिएझैं इरानसँग रहेका बाध्यताहरूका कारण त्यस्तो आक्रमणको सम्भावना न्यून देखिन्छ । यसबीचमा पश्चिम एसियामा सर्वसाधारणको मृत्युको सिलसिला चलिरहनेछ ।


विन्देश दहाल

दहाल अन्तर्राष्ट्रिय अर्थराजनीति बारे कलम चलाउँछन् ।