पश्चिम एसियामा लडाइँ चर्किने खतरा



गत साता इजरायलले लेबनन र इरानमा आक्रमण गरी हेज्बोल्लाह र हमासका उच्च अधिकारीहरूको हत्या गरेपछि पश्चिम एसियामा युद्ध चर्किने खतरा पुनः बढेको छ ।

मंगलवार (३० जुलाई) मा इजरायलको हवाई आक्रमणमा परी लेबननको राजधानी बेरुतमा रहेका हेज्बोल्लाह लडाकू समूहका वरिष्ठ कमान्डर फवाद शुक्रको मृत्यु भएको थियो । त्यसको भोलिपल्ट इरानको राजधानी तेहरानमा नवनिर्वाचित राष्ट्रपति मसूद पेजेशकियानको शपथग्रहण समारोहमा सहभागी भएका प्यालेस्टाइनी समूह हमासका राजनीतिक नेता इस्माइल हानियेलाई इजरायलले विस्फोटक पदार्थमार्फत हत्या गरेको थियो ।

इजरायलका यी आक्रमणविरुद्ध हमास, हेज्बोल्लाह र इरानले कस्तो कारवाही गर्लान् भन्नेमा समग्र विश्वको चासो छ । इरानका सर्वोच्च नेता अली खमेनीले आफ्ना अतिथि हानियेको हत्याको बदला लिनका लागि इजरायलमाथि प्रत्याक्रमणको आदेश दिएका छन् । उता लेबननमा हेज्बोल्लाहका महासचिव हसन नसरल्लाहले शुक्रको हत्याविरुद्ध केही दिनभित्रै इजरायलमाथि कारवाही गर्ने बताएका छन् ।

यसअघि पनि इजरायलले इरानलाई उत्तेजित बनाउने गरी सैन्य कारवाही गर्दा त्यसको प्रतिकारमा इरानले इजरायलको दक्षिण भागमा रहेको नेभाटिम सैन्य अखडामा आक्रमण गरी एफ–३५ लडाकू विमानहरू नष्ट गरिदिएको थियो । इरानले इजरायललाई मानवीय हताहती नहुने गरी उक्त प्रतिकारवाही अमेरिकालाई पूर्वसूचना दिएर गरेकाले युद्ध चर्किन नपाएको भनी त्यतिखेर विश्लेषणहरू आएका थिए ।

तर अहिले इरानले अमेरिकालाई आफ्नो कारवाहीका विषयमा कुनै पनि सूचना नदिएको बताइएको छ । त्यसैले इजरायलसँग सीमा जोडिएको मुलुक लेबननमा रहेको हेज्बोल्लाहले इरानसँगको समन्वयमा इजरायलविरुद्ध प्रत्यक्ष आक्रमण गरेको खण्डमा अहिलेको द्वन्द्व क्षेत्रीय युद्धमा परिणत हुन सक्ने जोखिम बढेको छ ।

बेन्जामिन नेतान्याहु

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले जानीजानी युद्धलाई चर्काउन खोजेको तथ्यलाई हानियेको हत्याले प्रमाणित गर्छ । इजरायलसँगको युद्धविरामका लागि हानियेले प्रयत्न गरिरहेका थिए । हमासका कट्टरपन्थी नेता याहया सिनवारले इजरायलसँग कुनै पनि सम्झौता गर्न नहुने भनी अड्डी कसिरहेको भए पनि हानियेले उनीसँग झगडा गरेरै भए पनि कतारको मध्यस्थतामा इजरायली प्रतिनिधिहरूसँग कुराकानी गरिरहेका थिए ।

हानियेलाई हत्या गरेर नेतान्याहुले राजनीतिक विजय पाएको अनुभव गरिरहेको हुनुपर्छ । अझ त्यसमाथि इरानी भूमिमा हानियेको हत्या गरी नेतान्याहुले एकै तीरले दुई शिकार गरेका छन् । पहिलो, अक्टोबर ७ मा हमासले एक हजारभन्दा बढी इजरायलीहरूको ज्यान जाने गरी गरेको आक्रमणको बदला लिएको भनी उनले इजरायलीहरूलाई बताउने अवसर पाए भने दोस्रो, इरानमा मध्यमार्गी सुधारवादी राष्ट्रपतिमाथि उनले दबाब दिन सफलता पाएका छन् ।

इरानमा हालै सम्पन्न राष्ट्रपति निर्वाचनमा विजयी भएका पेजेशकियानका प्रतिद्वन्द्वी सईद जलीली उग्र किसिमका व्यक्ति हुन् । उनले इजरायलविरुद्ध निकै कठोर रवैया अपनाउने गरेका छन् । कथंकदाचित् उनी विजयी भएको भए इजरायलले इरानसँग कूटनीतिक वार्ता गर्नुको कुनै औचित्य हुँदैन भनी विश्व समुदायलाई विश्वस्त तुल्याउने थियो । बरू उल्टो इरानमाथि थप दबाब दिने हिसाबमा आर्थिक प्रतिबन्ध लगाउनुपर्ने वकालत नेतान्याहुले गर्थे होलान् ।

तर पेजेशकियान अमेरिकासँग वार्ता गरी इरानमाथिको प्रतिबन्धलाई खुकुलो बनाउनुपर्ने सोच राख्छन् । चुनावी अभियानका क्रममा उनले अमेरिकासँग सम्झौता वार्ता गर्ने भनी बारम्बार भन्ने गरेका थिए । सर्वोच्च नेता अली खमेनीको सोच पनि यस्तै किसिमको रहेको बताइन्छ ।

तर अहिलेको अवस्थामा इरान र अमेरिकाबीच कुनै पनि हालतमा वार्ता हुनुहुँदैन भन्नेमा नेतान्याहुको जोड छ । अझ, उनी त लेबननमा रहेका हेज्बोल्लाहसँग युद्ध गर्न पाए त्यस युद्धमा इरान पनि होमिने थियो र युद्धकालीन नेता बनेर लामो समयसम्म शासनसत्ता चलाउन पाइने थियो भनी दाउ खेलिरहेका छन् ।

तर इजरायलको यस्तो उत्तेजक कारवाहीका बावजूद इरानले इजरायलविरुद्ध प्रत्यक्ष युद्ध गर्ला कि नगर्ला भन्ने स्पष्ट छैन । सुन्नी समूह हमासका लागि आफू युद्धमा नहोमिने भनी इरानले पहिल्यै स्पष्ट पारिसकेको छ यद्यपि हमासलाई पर्याप्त सहयोग नगरेको भनी यमनका हूतीहरूले इरानको आलोचना गरिरहेका छन् । तर पश्चिम एसियामा आफ्नो विश्वसनीयता कायम राख्नका लागि इरानले आफ्ना अतिथिको हत्याको बदला इजरायलसँग लिनुपर्ने बाध्यता छ । यस्तो स्थिति रहेको भए पनि इरानले अल्पकालीन भन्दा पनि दीर्घकालीन सोच राखी तत्काल युद्ध नगर्ने कतिपय विश्लेषकहरू बताउँछन् ।

इजरायलले इरान लगायत एक्सिस अफ रेजिस्टेन्सका नेताहरूको हत्या गरी अल्पकालीन विजय हासिल गरेको भए पनि निहत्था प्यालेस्टाइनीहरूको नरसंहार गरी दीर्घकालीन पराजयको बाटो खनिरहेको विषयलाई इरानले नियालिरहेको छ ।

अमेरिकाका रक्षामन्त्री लोयड अस्टिनले समेत गत डिसेम्बर महिनामा इजरायललाई दीर्घकालीन पराजय (स्ट्राटेजिक डिफीट) का विषयमा सचेत गराएका थिए । रेगन नेशनल डिफेन्स फोरममा सम्बोधन गर्दै अस्टिनले इजरायली नेताहरूलाई सर्वसाधारण प्यालेस्टाइनीको हत्या नगर्न, युद्ध चर्काउने गरी उत्तेजक भाषण नगर्न र पश्चिमी किनारामा प्यालेस्टाइनीहरूलाई हिंस्रक रूपमा विस्थापित नगर्न भनेको बताए । प्यालेस्टाइनी नरसंहारका विषयमा सारा संसारका साथै अमेरिकीहरू समेतले विरोध गरेपछि बाइडन प्रशासन दबाबमा छ र ऊ इजरायललाई यसबाट पछि हट्नका लागि मनाउन खोज्दैछ ।

उता चीनले गत जुलाई महिनामा बेइजिङमा तीन दिने सम्मेलन गरी हमास, फतह, डेमोक्रेटिक फ्रन्ट फर द लिबरेशन अफ प्यालेस्टाइन लगायत १४ प्यालेस्टाइनी समूहहरूलाई विस्तृत राष्ट्रिय एकताका लागि मनाउन सफलता पाएको थियो । गाजा र पश्चिम किनारा दुवै स्थानमा रहेका प्यालेस्टाइनीहरूको यो एकताले स्वतन्त्र प्यालेस्टाइन राज्यको निर्माणमा सहयोग पुग्ने बेइजिङको सोच हो । 

तर प्यालेस्टाइनीहरूलाई सिध्याउन वा धपाउनपर्ने भन्ने उग्रदक्षिणपन्थीहरूको समर्थनमा सरकार बनाएका नेतान्याहुले अमेरिकाको कुरा पनि सुनिरहेका छैनन् र चीनको शान्तिवार्ता प्रयासलाई पनि महत्त्व दिइरहेका छैनन् । उल्टो, उनी प्यालेस्टाइनीहरूको नरसंहारलाई थप चर्काइरहेका छन् र ४० हजारभन्दा बढी मानिसको ज्यान लिएर सत्तामा टिकिरहेका छन् । उनको यस रवैयाले इजरायललाई विश्व समुदायबाट एक्ल्याउने र सम्पूर्ण पराजयतर्फ धकेल्ने सम्भावना प्रबल गरेको तथ्यलाई इरानले विचार गरिरहेको देखिन्छ ।

यससँगै अमेरिकामा अबको तीन महिनामा हुन गइरहेको राष्ट्रपति निर्वाचनका कारण पनि पश्चिम एसियामा युद्ध नचर्काउनका लागि अमेरिकाले प्रयत्न गर्न सक्ने देखिन्छ । कथंकदाचित् युद्ध चर्किएछ भने बाइडन प्रशासनले इजरायलको पक्ष लिने सुनिश्चित छ । तर यस्तो स्थितिमा राष्ट्रपतिको उम्मेदवार बन्न लागेकी उपराष्ट्रपति कमला ह्यारिसलाई ठूलो समस्या पर्नेछ ।

आफूलाई बाइडनभन्दा भिन्न देखाउन खोजेकी ह्यारिसले डेमोक्रेटिक पार्टीको प्रगतिशील वामपन्थी धारको नेतृत्व गर्छिन् र इजरायललाई निःशर्त सहयोग गरेको भन्दै उक्त धारले बाइडनको आलोचना गर्दै आएको छ । गत जुलाईमा नेतान्याहुको अमेरिका भ्रमणका क्रममा ह्यारिसले उनलाई तत्काल युद्धविराम गर्न आह्वान गर्दा नेतान्याहुले मन नपाएको खबर आएको थियो । अमेरिकाको प्रयासका बावजूद युद्ध शुरू भएमा ह्यारिसलाई चुनाव जित्न गाह्रो पर्न सक्छ ।

तर माथि पनि उल्लेख गरेअनुसार नेतान्याहुले अमेरिकालाई समेत अटेरी गर्दै आएका छन् । त्यसैले युद्ध चर्काउनका लागि गर्न सकिने सबै प्रयास उनले गर्नेछन् ।

अनि हेज्बोल्लाहलाई पनि आफ्नो विश्वसनीयता कायम गर्नका लागि इजरायलको सैन्य वा गैरसैन्य टार्गेटमा आक्रमण गर्नुपर्ने बाध्यता छ किनकि नसरल्लाहले इजरायलमाथि सशक्त कारवाही गरिने प्रतिबद्धता व्यक्त गरिसकेका छन् । हेज्बोल्लाहको कारवाहीमा इरानले पनि सहयोग गर्ने देखिन्छ । यस स्थितिलाई हेर्दा युद्ध चर्किने सम्भावनालाई नकार्न सकिन्न ।


विन्देश दहाल

दहाल अन्तर्राष्ट्रिय अर्थराजनीति बारे कलम चलाउँछन् ।