बिमालेखमा आधाभन्दा बढी हिस्सा मोटर बिमाको, कुन प्रदेश र कम्पनीबाट कति ?



काठमाडौं । निर्जीवन बिमा कम्पनीहरुले गत आर्थिक वर्षको असार मसान्तसम्म जारी गरेको बिमालेखा मध्ये आधा हिस्सा मोटर बिमाको रहेको छ भने कुल बिमा शुल्क मध्ये एक तिहाइ बिमाशुल्क आर्जनमा मोटर बिमाको योगदान रहेको छ ।

बिमा प्राधिकरणको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा निर्जीवन बिमा कम्पनीहरुले जारी गरेको बिमालेखा मध्ये ५५.३५ प्रतिशत मोटर बिमाको रहेको हो । यस्तै तथ्यांकअनुसार गत आवकाे बिमा शुल्क आर्जनमा पनि ३०.३० प्रतिशत हिस्सा मोटर बिमाको रहेको हो ।

बिमा प्राधिकरणकाअनुसार गत आवको असार मसान्तसम्म निर्जीवन बिमा कम्पनीहरुले कूल २९ लाख ७७ हजार ११६ वटा बिमालेख जारी गरेर ४१ अर्ब ४६ करोड ६१ लाख ६० हजार रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् ।

जसमध्ये निर्जीवन बिमा कम्पनीहरुले १६ लाख ४७ हजार ९१३ वटा मोटर बिमा पोलिसी जारी गरेर १२ अर्ब ५६ करोड ४३ लाख रुपैया बिमा शुल्क आर्जन गरेका हुन् ।

प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जित बर्जाचार्यले निर्जीवन बिमा कम्पनीका कुल बिमालेखमा ठूला हिस्सा मोटर बिमाको रहेको बताए ।

मोटर खरिद गरेपछि तेस्रो पक्ष बिमा अनिवार्य गरेका कारण पनि मोटर बिमाको हिस्सा बढी हुन गएको उनी बताउँछन् । ‘अहिले बिमाको जनचेतना पनि बढ्दै गएको छ,’ उनले भने, ‘नेपालमा तेस्रो पक्ष बिमा अनिवार्य छ । यसले जोखिम कम गर्न मद्दत गर्छ । जसले गर्दा मोटर बिमाको हिस्सा बढेको हो ।’

ब्यक्तिगत बाहेक संघ संस्थाहरुले खरिद गर्ने सवारी साधनको पनि बिमा हुने हुँदा यो हिस्सा बढेको सीईओ बर्जाचार्यको बुझाई छ ।

बिमा प्राधिकरणका अनुसार प्रदेशगत रुपमा हेर्दा सबैभन्दा बढी मोटर बिमालेख जारी गर्ने र बिमा शुल्क आर्जन गर्नेमा बागमती प्रदेश अगाडि रहेको छ । बागमती प्रदेशबाट ७ लाख ४५ हजार ०५८ वटा मोटर बिमालेख जारी भएर ७ अर्ब १५ करोड ६ लाख रुपैयाँ बिमा शुल्क आर्जन भएको छ ।

लुम्बिनी प्रदेशबाट २ लाख ३९ हजार ५१९ वटा मोटर बिमालेख जारी हुँदा १ अर्ब ५२ करोड ३९ लाख रुपैयाँ बिमाशुल्क आर्जन भएको छ ।

प्राधिकरणका अुनसार कोशी प्रदेशभर मोटरको १ लाख ९७ हजार १६५ वटा बिमालेख जारी हुँदा १ अर्ब १९ करोड ८८ लाख रुपैयाँ बिमाशुल्क आर्जन भएको छ ।

मधेश प्रदेशभर १ लाख ५१ हजार ४०१ वटा मोटर बिमालेख जारी हुँदा ९८ करोड ४० लाख रुपैयाँ बिमाशुल्क आर्जन भएको छ।
यसैगरि, गण्डकी प्रदेशमा १ लाख ९६ हजार ८७६ वटा मोटर बिमालेख जारी भएर १ अर्ब ७ करोड २२ लाख रुपैयाँ बिमाशुल्क आर्जन भएको छ ।

कर्णाली प्रदेशमा २५ हजार ११३ वटा मोटर बिमालेख जारी भएर १६ करोड १८ लाख रुपैयाँ बिमाशुल्क आर्जन भएको छ भने सुदुरपश्चिम प्रदेशमा ९० हजार ७७४ वटा बिमालेख जारी भएर ४७ करोड २८ लाख रुपैयाँ बिमा शुल्क आर्जन भएको छ ।

यस्तै, बिमा प्राधिकरणका अनुसार असार मसान्तसम्ममा हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ लाख ९० हजार ९०८ वटा मोटर बिमालेख जारी गरेर ९३ करोड २२ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ ।

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १ लाख ४६ हजार १८८ वटा बिमालेख जारी गरेर १ अर्ब १९ करोड ४८ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ ।

नेशनल इन्स्योरेन्सले १४ हजार २०१ वटा बिमालेख जारी गरेर २२ करोड ६२ लाख रुपैयाँ बिमाशुल्क, नेको इन्स्योरेन्सले १ लाख ७४ हजार ४०८ वटा बिमालेख जारी गरेर १ अर्ब १८ करोड २८ लाख, नेपाल इन्स्योरेन्सले १ लाख ४६ हजार ६४८ वटा बिमालेख जारी भएर ५८ करोड ९७ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् ।

यस्तै एनएलजी इन्स्योरेन्सले १ लाख २४ हजार २६८ वटा बिमालेख जारी गरेर १ अर्ब ७ करोड २० लाख, प्रभु इन्स्योरेन्सले ९२ हजार ११० वटा बिमालेख जारी गरेर ६६ करोड ८१ लाख, राष्ट्रिय बिमा कम्पनीले ४१ हजार १७१ वटा बिमालेख जारी गरेर १३ करोड ५५ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ लाख ६३ हजार १३ वटा मोटर बिमालेख जारी गरेर १ अर्ब ७१ करोड २९ लाख, सानिमा जीआईसीले ९२ हजार ६०६ वटा बिमालेख जारी गरेर ७१ करोड १९ लाख रुपैयाँको बिमाशुल्क, शिखर इन्स्योरेन्सले १ लाख ५८ हजार १८८ वटा बिमालेख जारी गरेर १ अर्ब ५० करोड ५९ लाख, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ लाख ६६ हजार ७७८ वटा बिमालेख जारी गरेर १ अर्ब ४२ करोड ४२ लाख, ओरियन्टल इन्स्योरेन्सले २१ हजार २९४ वटा बिमालेख जारी गरेर १६ करोड ६ लाख र यूनाइटेड अजोड इन्स्योरेन्सले १ लाख १६ हजार १३२ वटा बिमालेख जारी गरेर १ अर्ब ४ करोड ६८ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको प्राधिकरणले जनाएको छ ।


सोभित थपलिया