मौद्रिक नीति भोलि आउँदै, एकसाताको प्रतीक्षाको फल कस्तो रहला ?



काठमाडौं । एक सातादेखि रोकिएको मौद्रिक नीति अन्ततः भोलि शुक्रबार सार्वजनिक हुने भएको छ । गत शुक्रबार नै सार्वजनिक हुने भनिएको मौद्रिक नीतिमा प्रधानमन्त्रीको कार्यालयबाट ‘एकपल्ट हेर्ने’ कुरा आएपछि मुखैमा रोकिएकामा एक सातापछि सार्वजनिक हुने भएको हो ।

स्रोतका अनुसार सबै परिस्थिति ठीकठाक रहे अब थप ढिलाइ हुनेछैन ।

गत शुक्रबार बोलाइएको नेपाल राष्ट्र बैंकको सञ्चालक समिति वैठकमा गभर्नर महाप्रसाद अधिकारीले आफू तयार नभएको भनेर छलफल गरेका थिएनन् । राष्ट्र बैंककै पूर्वगभर्नर तथा अर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका नवनियुक्त आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले मौद्रिक नीतिको मस्यौदा हेर्न चाहेपछि मौद्रिक नीति रोकिएको थियो ।

एक साताको समय लगाएर प्रधानमन्त्रीको कार्यालयबाट परिमार्जनसहितको मौद्रिक नीति मस्यौदा आएपछि शुक्रबार सार्वजनिक गर्न लागिएको हो । परिमार्जनसहितको नीति व्यवस्थापन समितिले पास गरेर सञ्चालक समितिले अनुमोदन गरेपछि शुक्रबार सार्वजनिक हुँदैछ ।

स्रोतका अनुसार केन्द्रीय बैंकले लचिलो मौद्रिक नीतिको तयारी गरेको छ । राष्ट्र बैंकका केही अधिकारीहरु तत्काल लचिलो भइहाल्नुपर्ने पक्षमा छैनन् । मौद्रिक नीतिको कार्यदिशा लचिलो हुने भएकाले बैंकहरुलाई कर्जा प्रवाहमा सजिलो हुने स्रोतको भनाइ छ ।

डा. खतिवडाको इन्ट्रीका कारण नियामकीय व्यवस्था हेरफेरबारे कस्तो प्रबन्ध हुने भन्ने स्रोत पक्का छैन । केन्द्रीय बैंकले तयार पारेको मस्यौदाअनुसार निर्माण तथा खुद्रा क्षेत्रलाई केही सजिलो बनाइनेछ । चर्चाको विषय रहेको मार्जिन प्रकृतिको सेयर धितो कर्जामा भने १५/२० करोडको क्याप हट्नैछैन । तर सीमा बढाउने तयारी गरेकामा राष्ट्र बैंक ब्याक भएको छ ।

‘मौद्रिक नीतिमा सेयर धितो कर्जाको सीमा बढाउने तयारी गभर्नरसाबले गर्नु भएको थियो,’ एक अधिकारीले भने ।

तर, यसबीचमा सेयर बजार करिब ५ सय अंकले बढिसकेको कारण सो सीमा हेरफेर नगर्ने मनसायमा गभर्नर पुगेको ती अधिकारीको भनाइ छ ।

घरजग्गा तथा सवारी कर्जामा पनि गत कात्तिक र जेठमा गरेको परिमार्जनलाई यथावत राख्ने राष्ट्र बैंकको तयारी छ ।

यता बैंकहरुलाई ब्यालेन्स सिट मेन्टेन गर्न राष्ट्र बैंकले केही सजिलो गरिदिनेछ । तर, कस्तो सहजता दिने भन्ने खुलेको छैन । चर्चाको विषय रहेको सम्पत्ति व्यवस्थापन कम्पनी (बोलीचालीको भाषामा ब्याड बैंक) स्थापनाको पुनःउद्घोष राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् गर्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली मौद्रिक नीति उदार भएर आउनुपर्ने पक्षमा छन् । गत बिहीबार साँझ आर्थिक सल्लाहकारमा नियुक्त भएलगत्तै ओलीले सोचअनुसार मौद्रिक नीति ल्याउने म्यान्डेट डा. खतिवडाले पाएका छन् ।

मौद्रिक अर्थशास्त्री खतिवडाले सोही कुरा सुनिश्चित गर्न मौद्रिक नीति रोकेका थिए । यता गभर्नर अधिकारी आफ्नो ५ वर्षीय कार्यकालको अन्तिम मौद्रिक नीति भएकाले विगतमा गरेका कमजोरी सच्याउने भरमग्दुर कोशिस र अर्को कार्यकालका लागि प्रधानमन्त्री र उनका सल्लाहकार रिझाउने जोडबल यही मौद्रिक नीतिमार्फत् गर्दैछन् ।


क्लिकमान्डु