
काठमाडौं । समस्याउन्मूख अवस्थामा रहेको पोखरा फाइनान्सले गण्डकी प्रदेशको पोखरामा केन्द्रिय कार्यालय रहेको क्षेत्रीयस्तरको ग्रिन डेभलपमेन्ट बैंकसँग मर्जरमा जाने तयारी गरेको छ । निष्कृय कर्जा ४० प्रतिशतभन्दा माथि पुगेको र पूँजीकोष अनुपात ऋणात्मक भएपछि समस्याउन्मूख देखिएको फाइनान्सले मर्जरको लाग ग्रिन डेभलपमेन्ट बैंकसँग छलफल अगाडि बढाएको हो ।
पोखरामा केन्द्रिय कार्यलय रहेको पोखरा फाइनान्स समस्याउन्मुख देखिएपछि राष्ट्र बैंकले व्यवस्थापन लिन भन्दा पनि मर्जरमार्फत समस्या समाधान गर्नुपर्ने भन्दै मर्जरको लागि दवाब दिएको छ । राष्ट्र बैंकले व्यवस्थापन लिने भन्दा पनि मर्जरको लागि दबाब दिएपछि फाइनान्सले मर्जर कमिटि गठन गरेर छलफल अगाडि बढाएको हो ।
सुरुमा वाणिज्य बैंकहरुलाई नै मर्जर गरिदिन पोखरा फाइनान्सले अफर गरेपनि कुनै वाणिज्य बैंकले चासो नदिएपछि ग्रिन डेभलपमेन्ट बैंकसँग मर्जरको छलफल चलाएको छ । पोखरा फाइनान्स र ग्रिन डेभलपमेन्ट बैंकको सञ्चालकहरुबीच केही चरणमा छलफल समेत भइसकेको छ । छलफल सकारात्मक भएरहेको एक सञ्चालकले बताए ।
यसचैबीच ग्रिन डेभलपमेन्ट बैंकबाट मर्जरको छलफलमा सहजिकरण गरेका प्रकाश गुरुङलाई पोखरा फाइनान्सले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । पोखरा फाइनान्समा पहिले सञ्चालक भइसकेका गुरुङलाई प्रमुख कार्यकारी अधिकृत बनाएको हो ।
उनी हाल ग्रिन डेभलपमेन्ट बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत छन् । १ चैतदेखि उनले पोखरा पाइनान्सको सिइओमा जिम्मेवजारी सम्हाल्नेछन् । पोखरा फाइनान्स र ग्रिन डेभलपमेन्ट बैंकबीच मर्जरको सहजिकरणका लागि नै गुरुङलाई पोखरा फाइनान्सले प्रमुख कार्यकारी अधिकृत बनाएर ल्याएको स्रोतले बतायो ।
साविकको पूर्णिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत रहेको गुरुङकै नेतृत्वमा उक्त बैंक शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा सफल मर्जर भएको थियो । मर्जरपछि शाइनको डेपुटी सिइओ भएर काम गरिसकेका गुरुङ अनुभवि बैंकर हुन् । पोखरा फाइनान्स वित्रीय रुपमा समस्याउन्मूख रहेकोले त्यसलाई व्यवस्थापन गर्नु भने चुनौतिपुर्ण छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म पोखरा फाइनान्स १ अर्ब ५५ करोड २१ लाख रुपैयाँ सञ्चित नोक्सानीमा छ । १ अर्ब ८ करोड २६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको जगेडाकोष १ अर्ब ५ करोड ३७ लाख छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मात्रै फाइनान्स ५८ करोड ९० लाखले नोक्सानीमा रहेको वित्तीय विवरण प्रकाशित गरेको छ । पूँजीकोष ३.०८ प्रतिशतले ऋणात्मक रहेको निष्कृृय कर्जा ३३.४४ प्रतिशत र खुद निष्कृय कर्जा १०.५९ प्रतिशत पुगेको छ ।
यता ग्रिन डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ५३ करोड ८७ लाख छ । सञ्चित नाफा ४ करोड ४८ लाख रहेको बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड ९७ लाख मुनाफा आर्जन गरेको छ । पूँजीकोष अनुपात १५.९६ प्रतिशत छ ।
प्रतिक्रिया