विद्युत नियमन आयोगको सदस्यमा दोस्रो पटक नियुक्त भट्टराई को हुन् ?

1.3k
Shares

काठमाडौं । विद्युत नियमन आयोगको सदस्य भागिरथी भट्टराई ज्ञवालीले शपथग्रहण लिएकी छिन् ।

    यही फागुन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको सदस्यमा नियुक्ति भट्टराईले ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको उपस्थितिमा मन्त्रालयमा सपथग्रहण लिएकी हुन् । उनलाई विद्युत नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले शपथग्रहण गराएका हुन् ।

    यसअघि  २०७६ देखि २०८१ बैशाखसम्म सोही आयोगको सदस्यमा कार्यरत भट्टराईले आज दोस्रो कार्यकालका लागि शपथग्रहण लिएकी हुन् । आयोग स्थापनाकालमा सदस्य भएकी भट्टराईले सोही समयमा विद्युतको उपभोक्ता हक, हित र संरक्षण समितिको संयोजकका रुपमा काम गरेकी थिइन् ।

    अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर ५९ वर्षीय भट्टराई २०६९ देखि २०७३ सम्म खानेपानी महसुल निर्धारण आयोगको सदस्य थिइन् । उनी यसअघि ग्लोबल आईएमई बैँकको स्वतन्त्र सञ्चालक थिइन् ।  

    शपथग्रहण समारोहमा बोल्दै ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ढिलै भएपनि नियमन आयोगले पूर्णता पाएको भन्दै उत्पादन बढ्दै जाँदा नियमनकारी निकायको जिम्मेवारी पनि बढ्दै गएको बताए । ‘सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ, उक्त लक्ष्यलाई पुरा गर्न नियमनकारी निकायको जिम्मेवारी अझ बढी छ,’ मन्त्री खड्काले भने ।  

    उनले प्रसारण लाईन निर्माणमा निजी क्षेत्रलाई ल्याउँदै गर्दा कति शुल्कमा दिने भन्नेबारे आयोगले चाँडो टुङ्ग्याउनुपर्ने समेत बताए । सरकारले लिएको ऊर्जा विकासको लक्ष्यलाई पुरा गर्न आयोग सारथीका रुपमा उभिनुपर्ने मन्त्री खड्काको भनाई छ । उनले बढी विद्युत खरीद गर्नेलाई कसरी सहुलियतदरमा विद्युत उपलब्ध गराउन सकिन्छ त्यसबारे समेत आयोगले अध्ययन गर्नुपर्ने उल्लेख गरे ।