न्युरोड क्षेत्रका पसल धमाधम बन्द भएकै हुन् ?



ग्राहक पर्खिंदै न्यु एस के एस इन्टरप्राइजेजका सुरेश श्रेष्ठ ।

काठमाडौं । मंगलबार दिउँसो १ बजे काठमाडौंको ओटुमा रहेको सजिता इन्टरप्राइजेजका प्रोप्राइटर राकेश पराजुली ग्राहक कुरिरहेका थिए । बिहानदेखि केही खुद्रा व्यापारी आए पनि सामान उठाउँदै, छाड्दै गरिरहेका थिए ।

साढे १ बजेतिर चाबहिलका दुई जना व्यापारी आए । उनीहरुले निकैबेर लगाएर १ सेट (पाँच जोर) जुत्ता छाने । ‘जम्मा १ सेट लैजाने ?’ पराजुलीले सोधे, ‘बल्ल आउनुभएको छ, ४-५ सेट त लैजानु !’

‘सामान बिके पो लैजानु,’ एक व्यापारीले भने, ‘पहिला दिनभरमा २५-३० हजारको सामान बेचिन्थ्यो, अहिले २-४ हजार पनि बिक्दैन । यो बिकेछ भने फेरि आएर लैजाउँला ।’ अर्को एक जनाले त किन्दै किनेनन् ।

पराजुलीका अनुसार एक वर्ष अघिसम्म ती व्यापारी (खुद्रा) सातामा दुई पटकजति पसलमा आउँथे । एकपटकमा ३५-४० जोर जुत्ता लैजान्थे । यसपटक बल्ल १ महिनापछि आए, जम्मा १ सेट लिएर गए ।

‘पसल थालेको ७ वर्ष भयो,’ कफीको कप सोकेसमाथि राख्दै पराजुलीले भने, ‘पहिलो पटक यसरी ग्राहक कुरेर बस्नुपरेको छ ।’

धेरै व्यापारीले सिजन पर्खिरहेको र दसैंसम्म पनि बजार लयमा फर्किएन बन्द हुने क्रम बढ्ने उनको आकलन छ । ‘अहिले नै बन्द गरेर भागिहालेको त भेटिएको छैन तर झन्डै १ वर्षदेखि व्यापार १०-१५ प्रतिशतमा झरेको छ,’ उनले भने, ‘दसैंमा केही हुन्छ कि भन्नेमा व्यापारीहरु छन्, दसैंमा पनि लयमा फर्किएन भने धेरै समस्यामा पर्छन् ।’

ग्राहक नआएपछि मोबाइल चलाएर बसिरहेका व्यापारीहरु ।

ओटुकै गुच्छा टोलमा रहेको न्यु एस के एस इन्टरप्राइजेजका सुरेश श्रेष्ठ पनि ग्राहक पर्खिरहेका थिए । ‘असार-साउनमा त हरेक वर्ष निकै कम चहलपहल हुन्छ,’ उनले भने, ‘यसपटक लामो समय भयो, सुनसान छ ।’

पूर्वदेखि पश्चिमसम्मका मानिस आउने उनको होलसेल कपडा पसलमा हिजोआज उपत्यकाबाहिरका खासै आउँदैनन् ।

‘सरकारले बजेट खर्च नगरेका कारण जनताको हातमा पैसा पुगेको छैन, रोजगारीका अवसर छैनन्,’ उनी भन्छन्, ‘युवाजति विदेशमा छन्, यहाँ भएकाहरुको किन्ने क्षमता छैन ।’

बढी फेसनेबल हुने भएकाले युवा वर्गले बढी खर्च गर्ने हुँदा उपभोग र माग बढ्ने उनको तर्क छ । ‘बालक र वृद्धवृद्धाबाट त धेरै डिमान्ड नै हुँदैन नि !’ ३५ वर्षदेखि पसल सञ्चालन गरिरहेका उनले भने । समग्र माग घटेकाले बजारमा मन्दी छाएको उनको अनुमान छ ।

ओटुकै एमजे मार्टमा जिन्स कपडाको होलसेल सञ्चालन गरिरहेका मनिर अन्सारीले आज साढे २ बजेसम्ममा जम्ममा एक जनालाई सामान बेचेको बताए । ‘कहिलेकाहीँ त ३-४ दिनसम्म कुनै सामान बिक्री हुँदैन, ठप्प हुन्छ,’ उनले भने, ‘आज त अलेलि भयो ।’

लकडाउनपछि बजार बिग्रिएको अन्सारीको बुझाइ छ । ‘बैंकले कर्जा दिन छाडेपछि समस्या भएको हो,’ उनले भने, ‘लकडाउनका बेला जति पनि पैसा दिए, सामान पनि बिक्यो, अहिले पैसा पनि बन्द छ, सामान किन्न आउने पनि निकै कम छन्।’ विगतमा उनी दैनिक १ लाख रुपैयाँसम्मको कपडा बेच्थे ।

ओटु क्षेत्रमा रहेको एमजे मार्टका २५ भन्दा बढी पसल १ वर्षयता बन्द भइसकेको आसपासका व्यापारी बताउँछन् । त्यस्तै निर प्लाजाका पनि पहिलो र दोस्रो तलाका सबैजसो पसल बन्द भएका छन् । विगतमा व्यापारीले भाडा बढाउँदा पनि चुपचाप लागेर पसलमा सामान थप्ने व्यापारी अहिले भाडा नबढाए पनि पसल छाडेर हिँडिरहेका छन् ।

‘ओटु जस्तो ठाउँमा घरबेटीले १० हजार भाडा बढाएको भएर सटर खाली गरिदिए,’ आफ्नै पसलसँग जोडिएको सटरतिर देखाउँदै पराजुलीले भने, ‘विगतमा यहाँ सटर पाउन साह्रै ठूलो मेहनत गर्नुपर्थ्यो ।’

ओटुमा रहेको निर प्लाजाका पहिलो तल्लामा बन्द भएका सटर ।

न्युरोड क्षेत्रका कति पसल बन्द भए भन्ने कुराको यकिन तथ्यांक भने कसैसँग छैन । काठमाडौं महानगरपालिकाको न्यायिक समितिमा सटर बन्द गराइदिन र भाडा उठाइदिन घरबेटीहरुले उजुरी दिने क्रम बढेको छ ।

महानगर उपप्रमुख एवं न्यायिक समिति संयोजक सुनिता डंगोलका अनुसार अहिले दैनिक औसत ८० प्रतिशत उजुरी कोठा र सटर बन्द गराएर भाडा असुलिदिनुस् भन्ने खालका हुन्छन् । ‘न्यायिक समितिले काम सुरु गरेपछि नै (१ वर्ष) अघिदेखि नै यस्ता उजुरी आइरहेका थिए,’ उनले भनिन्, ‘तर अहिले धेरै नै बढेको छ ।’

सबैभन्दा बढी समस्या सहकारीले भाडामा लिएका घर र फ्ल्याटहरुमा देखिएको उनले बताइन् । सहकारीका सञ्चालकहरु सम्पर्कमा पनि नआउने, बन्द गरेर भाग्ने र भाडा पनि कहिल्यै नदिने भएपछि धेरै घरबेटी पीडामा परेको उनको बुझाइ छ । ‘कतिपयको खाने स्रोत नै घरभाडा पनि छ, त्यस्तोमा महिनौंदेखि भाडा नबुझाउने अवस्था आएपछि उहाँहरु उजुरी लिएर आउनुभएको हो ।’

महानगरपालिकाले प्रक्रिया पुर्‍याएर धेरै समस्यामा परेकाहरुको घर खाली पनि गराइदिएको उपप्रमुख डंगोलले जानकारी दिइन्। ‘धेरै अप्ठ्यारोमा पर्नुभएकाहरुको घर खाली पनि गराइदिइरहेका छौं,’ उनले भनिन्, ‘अरु पनि धेरै खाली गर्दै जानुपर्ने स्थिति छ ।’


डीआर आचार्य