होटेललाई उकास्न सस्तो ऋण, भ्याट छुट र बिजुलीमा ५०% छुट चाहिन्छः शशिकान्त अग्रवाल



कोरोना भाइरसको महामारीका कारण अहिले सबैभन्दा धेरै पर्यटन क्षेत्रमा असर परेको छ । जसमा हवाई क्षेत्र र होटल क्षेत्रको व्यवसाय ठप्प छ ।

यसकाले ल्याउने सामाजिक र आर्थिक असर निकै ठूलो छ । अहिले लकडाउन भएको १ महिना भइसक्यो । यसबाट परेको असरलाई रिभाइभ गर्नका लागि लामो समय लाग्छ । यसको असर कति पर्छ भन्ने यकिन छैन ।

फेरि लकडाउन शुरु भइसकेपछि पनि व्यापार पहिले कै अवस्थामा आउने होइन । त्यसपछि पनि समस्या निस्कन्छ । सामाजिक हिसाबले पनि हुने र नहुने वर्गबीचको अन्तर झनै बढ्छ । अब यसका लागि नीति तथा योजना बनाउनका लागि सबै विज्ञ र व्यवसायी बसेर नै बनाउनु पर्छ ।

अहिले बंगलादेश, श्रीलंका, थाइल्यान्ड, मालदिभ्स, अमेरिका लगायत देशले ठूलो राहत प्याकेज ल्याएका छन् । सरकारले पनि करबाट उठेको ढुकुटीबाट नै हो । यस्तो अवस्थामा सरकारले राहतको प्याकेज ल्याउनु पर्ने हुन्छ ।

पर्यटन उद्योगका लागि सरकारले विशेष ध्यान दिनुपर्ने देखिन्छ । कोरोना महामारीको असरका कारणले ठूला ठूलो होटलहरु सबैभन्दा मारमा पर्ने निश्चित छ ।

त्यसका लागि सरकारले ३ वर्षसम्मका लागि न्यूनतम ब्याजदरमा ३ वर्षका लागि ऋण दिनुपर्छ । साथै विद्युतमा ५० प्रतिशतसम्म छुट दिनुपर्छ साथै स्थानीय करमा पनि छुट दिनुपर्छ । साथै भ्याट पनि छाडिदिनुपर्छ । भ्याट भनेको सीधै कन्जुमरलाई नै दिने हो ।

अहिले मजदुरहरु विस्तापित हुने अवस्था आइसकेको छ । पर्यटन क्षेत्रमा मात्रै पनि १३ लाख जनशक्ति कार्यरत छन् । यतिबेला रेमिट्यान्स पनि घट्दो क्रममा छ ।

ट्यारिफ ब्यारियर र नन ट्यारिफ ब्यारियर लगाएर स्थानीय उद्योगलाई स्थानीय स्रोत साधनको अधिकतम उपयोग गर्नुपर्छ । कपडा उद्योगको हकमा पनि त्यो सम्भव छ । उद्योग सञ्चालनका लागि सहुलियत ऋणको व्यवस्था गर्नुपर्छ ।

रेमिट्यान्स नआएपछि व्यापार घाटा पनि बढ्छ । त्यसैले अहिले सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन प्याकेज ल्याउनुपर्छ । त्यसका लागि राहत प्याकेजसँगै नीतिमा पनि परिवर्तन गर्नुपर्छ ।

व्यापार घाटा कम गर्नका लागि स्वरोजगारमा पनि ध्यान दिनुपर्छ । जस्तै उदारहणका लागि कपाल काट्ने जनशक्ति अहिले धेरै संख्यामा भारतीयहरु छन् । नेपालीहरु नै त्यस्ता काममा किन नलगाउने ? साथै इलेक्ट्रिक र प्लम्बरका लागि पनि यस्ता जनशक्ति उत्पादन गर्नुपर्छ ।

कोरोनाको महामारी अहिले आएको हो, त्यो भन्दा अगाडि भूकम्पपछि नै सिक्नुपर्ने थियो । यद्यपि सिक्ने कुरा अहिले पनि ढिला हुँदैन । अहिले पनि पाठ सिकेर काम गर्न सकिन्छ ।

मेरियट होटलकै कुरा गर्दा पनि अहिले बन्द छ । अहिले २५ जना जति कामदारहरु छन् । अहिले डेलिभरीको काम बाहेक अरु सेवा बन्द नै छन् । देशमा सञ्चालित सबै होटलहरु यतिबेला बन्द नै अवस्थामा छन् ।

लकडाउन खुलेपछि श्रमिकलाई पारिश्रमिक दिनेदेखि सञ्चालनका लागि समेत ठूलो लगानी चाहिन्छ । त्यसलाई सम्बोधन हुने गरी सरकारले पनि राहत ल्याउनुपर्छ । (कुराकनीमा अधारित)


पुष्प दुलाल