विदेशी मुद्राको सञ्चिति घट्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आर्थिक वर्ष २०७६/७७ को ३ महिनासम्मको आयातलाई आधार विदेशी विनिमय सञ्चिति ९.८ महिनाको वस्तु आयात र ८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने रहेको छ ।

कुल विदेशी विनिमय सञ्चिति असार मसान्तको १० खर्ब ३८ अर्ब ९२ करोडबाट ४.७ प्रतिशतले बढेर असोज मसान्तमा आईपुग्दा १० खर्ब ८७ अर्ब ७३ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा असोज मसान्तमा ९ अर्ब ५४ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा ९ खर्ब २ अर्ब ४४ करोड रहेकोमा असोज मसान्तमा ९ खर्ब ४३ अर्ब ८३ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १ खर्ब ३६ अर्ब ४७ करोड रुपैयाँ रहेकोमा असोज मसान्तमा १ खर्ब ४३ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५.१ प्रतिशत रहेको छ ।

यो अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३१.४ प्रतिशत, ७१.१ प्रतिशत र २९.२ प्रतिशत रहेका छन् । असार मसान्तमा यी अनुपातहरू क्रमशः ३०.० प्रतिशत, ६४.९ प्रतिशत र २९.० प्रतिशत रहेका थिए ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य गत वर्षको असोज मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ७९.९१ रहेकोमा असोज मसान्तमा २५.७ प्रतिशतले कमी आई प्रति ब्यारल अमेरिकी डलर ५९.३५ कायम भएको छ ।

त्यसैगरी, सुनको मूल्य गत वर्षको असोज मसान्तमा प्रति आउन्स अमेरिकी डलर १२ सय २९.५ रहेकोमा यो असोज मसान्तमा २१.४ प्रतिशतले वृद्धि भई प्रति आउन्स अमेरिकी डलर १४ सय ९२.६५ पुगेको छ ।


पुष्प दुलाल