बैंकमा टिक्नै छाडे ३० वर्षभन्दा कम उमेरका कर्मचारी: राजीनामा दिँदै, विदेश जाँदै



कमजोर सुशासन, खराब सरकारी सेवा प्रवाह, कमसल सरकारी शिक्षा र स्वास्थ्य, निजी शिक्षा र स्वास्थ्यको बढ्दो लागतका साथै अस्पष्ट भविष्य देखेपछि तुलनात्मकरुपमा आकर्षक तलब र सुविधामा बैंकिङ क्षेत्रमा काम गरिरहेका कयौं व्यक्ति जागिर छोड्दै विदेश जाने क्रम ह्वात्तै बढेको छ ।

काठमाडौं । सरकारी जागिरपछि बैंकको जागिरलाई नेपालमा सम्मानित मानिने गर्छ । आकर्षक तलब-भत्ताका साथै प्रत्येक आर्थिक वर्षको अन्त्यमा प्राप्त हुने बोनस, उपदानसहित विभिन्न प्रकारका विदा सुविधाले पनि बैंकको जागिरलाई आकर्षक मान्ने गरिएको हो ।

नेपालको निजी क्षेत्रमा काम गर्ने कयौं व्यक्तिले नियमित तलबका लागि पनि संघर्ष गर्नु पर्ने अवस्था छ । जागिर छोडेका दिन उपदान दिने संस्था केही मात्रै छन् । बैंकिङ क्षेत्रले नियमित तलब र जागिर छोड्दा केही उपदान पनि दिने भएकाले पनि बैंकको जागिरलाई आकर्षक मानिएको हो ।

केही वर्ष अघिसम्म निजी क्षेत्रले सञ्चालन गरेका बैंकमा काम गर्ने कर्मचारीहरुको बैध सेवा-सुविधा र आम्दानी सरकारी संस्थानमा कार्यारत कर्मचारीभन्दा दोब्बर बढी हुन्थ्यो ।

पछिल्लो समय बैंकिङ क्षेत्रको तलब-सुविधामा गिरावट आए पनि अहिले पनि सरकारी कर्मचारीको बैध आम्दानीभन्दा बैंकका कर्मचारीको कमाई बढी नै छ ।
नेपालमा अन्तर्राष्ट्रिय र राष्ट्रिय गैरसरकारी संस्थालाई छोड्ने हो भने बैंकिङ क्षेत्र बराबरको सेवा सुविधा दिने निकाय केही मात्रै होलान् ।

केही वर्ष अघिसम्म रोजगारीका लागि आकर्षक मानिने बैंकिङ क्षेत्रमा लामो समय काम गर्न युवाहरुले रुची कम हुँदै गएको छ ।

स्नातकोत्तर उत्तिर्ण गर्दै व्यवस्थापन प्रशिक्षार्थी (म्यानेजमेन्ट टे्रनी) र स्नातकपछि प्रशिक्षार्थी सहायक (ट्रेनी असिष्टेन्ट) मा काम सुरु गरेका धेरै युवाहरुले १÷२ वर्षमा जागिर छोड्ने क्रम बढिरहेको छ । ३० वर्षभन्दा कम उमेर समूहकाले जागिर छाड्ने क्रम बढ्न थालेपछि प्रायः बैंकहरुले नियमितरुपमा व्यवस्थापन प्रशिक्षार्थी र प्रशिक्षार्थी सहायकको विज्ञापन प्रकाशित गर्ने क्रम पनि बढ्दो छ ।

रोजगारी परामर्श सम्बन्धी सेवा दिने कम्पनीले लिखित परीक्षासहित विभिन्न चरण पार गर्दै बैंकका लागि कर्मचारी छनोट गर्ने गर्छन् । रोजगारी परामर्श सेवा दिने एक कम्पनीका अनुसार पछिल्लो समय बैंकको परिक्षामा सामेल हुनेको संख्या निरन्तर घटिरहेको छ ।

विगतमा बैंकले मागेभन्दा ३०/४० गुणाले आवेदन दिने गरेकोमा हाल उक्त अनुपात घटिरहेको सम्बद्ध अधिकारीहरु बताउँछन्।

बैंकका काम गर्ने रुची गर्ने मात्रै होइन बैंकमा जागिर गरिरहेका व्यक्तिसमेत टिक्ने क्रम घट्दो छ ।

प्राय ३० वर्षभन्दा कम उमेर समूहका कर्मचारीहरुले राजिनामा गर्दै विदेश जाने चाहना राख्न थालेकोे विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृतहरु बताउँछन् ।

‘जसरी जुनियर अधिकृतहरु विदेशी जाने क्रम बढेको छ, यो प्रवृति रोकिएन भने केही वर्षपछि बैंकमा मध्यम तहका दक्ष जनशक्तिको अभाव हुने निश्चित छ,’ एक बैंकका सीइओले क्लिकमान्डुसँग भने,‘नेपालमा पनि अवसर छ भन्ने सन्देश प्रवाह गर्न सकिएन भने थप जनशक्ति पलाउन हुँदै जानेछन् । जुन बैंकिङ क्षेत्रका लागि मात्रै होइन, देशकै लागि ठूलो चुनौति बन्ने निश्चित छ ।’

आगामी दिनमा देशभित्रै अवसर सिर्जना हुन्छ भनेर सम्झाउन खोज्दा निकै कम मात्रै व्यक्तिलाई मनाउन सकिएका बैंकरहरु बताउँछन् ।

‘नेपालमा राम्रो हुन्छ भनेर सम्झाउन खोज्दा विदेश गएर राम्रो गरिरहेका साथीको उदाहरण दिने गर्छन्,’ अर्का बैंकका सीइओ भन्छन्, ‘जागिर खाने समयमा ३ वर्ष बैंक छोड्दिन । विदेश जाने कुनै योजना छैन भन्छन् । केही समय बैंकमा काम गर्दा पैसा पनि हुन्छ । बैंकिङ क्षेत्रमा सहजै कर्जा लिन सकिन्छ भन्ने पनि थाहा पाउँछन् । विभिन्न विश्व विद्यालयमा आवेदन दिएका हुन्छन् । केही न केही निहूँ बनाएर जागिर छोड्दै विदेश जान्छन् ।’

वार्षिक १५ लाख रुपैयाँसम्मको सुविधा प्राप्त गर्ने अधिकृत तहका कर्मचारीले पनि राजिनामा गर्दै विदेशी जान खोज्नु र त्यो क्रम निरन्तर बढ्दै जानु गम्भिर भएको बैंकरहरु बताउँछन् । बैंकरहरुका अनुसार गत वर्षमात्रै बैंकमा काम गरिरहेका ६÷७ सय जना कर्मचारी जागिर छाडेर विदेशिएका छन् ।

३० वर्षभन्दा कम उमेर समूहका कर्मचारीहरु राजिनामा गर्ने र सिनियर कर्मचारीलाई लक्षित गर्दै पटक-पटक स्वेच्छिक अवकाश कार्यक्रम ल्याउँदासमेत अवकाश रोज्ने कर्मचारी निकै कम हुँदा आफूहरुलाई जनशक्ति व्यवस्थापनमा समस्या भएको बैंकरहरु बताउँछन् ।

‘सिनियर कर्मचारीले अवकाश नरोज्दा उच्च व्यवस्थापनमा धेरै कर्मचारी थुप्रिएका छन्,’ एक पूरानो बैंकका सीईआले भने,‘जुनियर कर्मचारीले राजिनामा गर्दै बाहिरिँदा नयाँ–नयाँ कर्मचारी नियुक्त गर्नु परेको छ । कर्मचारी छनौटको लागत बढेको छ । संस्थाको सेवा प्रभावमा असर गरेको छ ।’

एमबिए÷बिबिए पास गरेर बैंकमा काम गरिरहेका प्राय कर्मचारीले स्वदेशमा करियर नभएको बताउन थालेका छन् ।

‘मर्जरपछि माथिल्लो तहमा प्रमोसन हुने सम्भावना छैन । महँगी निरन्तर बढिरहेको छ । जति कमाएपनि बचत शुन्य छ,’ विदेश जाने प्रक्रियामा रहेका एक बैंकका कर्मचारीले भने,‘राति ७/८ बजेसम्म बैंकका काम गर्नु पर्ने दबाब हुन्छ । परिवारलाई समय दिन सकेको छैन । यति धेरै खट्दा पनि भविष्यमा पनि आर्थिक उन्नति हुने सम्भावना नदेखेकाले विदेश जाने सोचमा पुगेको हूँ ।’

बैंक वित्तीय संस्थाले विगतमा कर्जा लगानी गर्न दबाब दिएको अहिले व्यवसायीक वातावरण विग्रेको अवस्थामा जसरी पनि कर्जा असूल गर्न टार्गेट दिँदा पनि काम गर्न समस्या भएको कर्मचारीहरु बताउँछन् । अर्कोकुरा मर्जरपछि अर्को बैंकबाट आएका संस्थालाई व्यवस्थापनले बढी पेल्न थालेको छ । यसरी व्यवस्थापनको पेलाइ खाएर बस्नुभन्दा जागिरै छाडेर विदेशिनेहरु पनि छन् ।

‘बैंकको साँवा र ब्याज तिर्नुस् भनेर ऋणीलाई फोन गर्दा थर्काउने र गाली गर्ने गर्छन्,’ एक बैंकका कर्मचारीले भने,‘सधैं तनाव लिएर बस्नुभन्दा विदेश गएर केही सजिलो हुन्छ कि भन्ने लागेको छ ।’

सरकारी शिक्षा र स्वास्थ्य गुणस्तरीय र विश्वसनिय नभएको अवस्थामा निजी क्षेत्रको शिक्षा र स्वास्थ्य निकै महँगो हुँदा समेत सिमित आर्जन गर्ने व्यक्तिलाई भविष्य कठिन हुन्छ भन्ने लाग्न थालेको छ । सरकारी निकायबाट सेवा लिन बेहोर्नु पर्ने सास्तीले पनि कयौं युवाहरु विदेशमा मात्रै करियर देख्न थालेका छन् ।

विगतमा वित्तीय पहुँच नहुँदा समृद्ध राष्ट्रमा जाने सपना देख्न नसक्ने वर्गले पनि हाल अमेरिका, अष्ट्रेलिया जाने सोच बनाउन थालेको छ ।

संघीयतापछि प्रत्येक स्थानीय तहमा वाणिज्य बैंकहरु पुग्दा शैक्षिक कर्जा लिन सहज भएपछि पनि विदेश जान सहज भएको कतिपयको भनाइ छ ।

यस्तै, क्यानडालगायतका देशले सजिलै भिषा दिन थालेकाले पनि विदेश जाने क्रम बढिरहेको छ ।

हाल सत्तामा रहेका र प्रतिपक्षमा प्रायः नेताका छोराछोरी, सरकारी कर्मचारी र सामाजका प्रभावशाली व्यक्तिका सन्तानले विदेशमा मात्रै करियर देख्न थालेकाले पनि बैंकिङ क्षेत्रमा काम गर्ने मध्यम वर्गमा सन्तानले विदेशमा अवसर देख्न थालेका हुन् ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट अध्ययनका लागि विदेश जाने क्रम बढ्नुलाई नकारात्मकरुपमा मात्रै लिन नहुने बताउँछन् ।

‘यदि विदेश गएको व्यक्ति नयाँ सीप सिकेर स्वदेश फर्कियो भने देशलाई पनि ठूला लाभ हुन्छ । स्वदेश फर्किएन भने मात्रै देशलाई घाटा हो,’ भट्टले भने,‘पुँजी, जनशक्ति, सीप र प्रविधि अवसर भएको स्थानमा जानु स्वभाविक हो । हामीले नेपालमा पनि अवसर छ भन्ने सन्देश दिँदै अवसर सिर्जना गर्नतर्फ लाग्नुपर्छ ।’


शरद ओझा