
ताप्लेजुङ । पाथिभरा माताको दर्शन गर्न जो कोहीलाई सहजगर्न र ताप्लेजुङ जिल्लाको विकास समृद्धि र पहिचानका लागि केबलकार निर्माण गरिनु पर्ने माग गर्दै मंगलवार सदरमुकाम फुङलिङमा बृहत नागरिक सदभाव र्याली प्रर्दशन गरिएको छ ।
स्थानीय सामुदायिक भवनवाट स्वतफुर्त निस्किएको र्यालीले नगर परिक्रमा गर्दै वीरेन्द्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई फुङलिङ नगरपालिकाका मेयर अमिर मादेन, सहित पमद चेन्जीमावो, छविरमण गुरुङ र मिनाकुमारी गुरुङले सम्बोधन गरेका थिए ।
चेन्जीमावो धरानमा केबलकार विरोधी पक्षबाट कालोमसो दलिने केबलकार पक्षधर हुन ।
मेयर मादेन सहितका वक्ताले पाथिभरा माताको दर्शनकालागि मन्दिर सम्म पुग्न वृद्ध, अशक्त, वालवालिका र जो कोहीलाई केबलकारको विकल्प नभएको बताएका थिए ।
वक्ताहरुले केबलकारले कसैको पनि धार्मिक आस्थामा चोट नपुर्याउने, वातावरण र पर्यावरणमा असर नपुग्ने दावी गर्दै केबलकारले सिंगो ताप्लेजुङको विकास र पर्यटनको संमृद्धि ल्याउने उल्लेख गरे । उनीहरुले केबलकारकै कारण जिल्लामा रोजगारीको अवसर सिर्जना हुने र जिल्लाको आर्थिक गतिविधि चलायमान हुने विश्वास व्यक्त गरे ।
त्यसैक्रममा धरानमा केबलकार विरोधी समूहबाट कालोमोसो दलिएका पमद चेन्जीमावोले केही उत्सृंखल व्याक्तिले आफूलाई कालोमसो दल्दैमा ताप्लेजुङमा केबलकार निर्माण हुन नरोकिने बताए ।
उनले भने, ‘ताप्लेजुङमा केबलकार बन्नुपर्छ, त्यसका लागि म जस्तो सुकै सजाय भोग्न तयार छु ।’ केबलकारले ताप्लेजुङमा धार्मिक पर्यटन बढ्ने र जिल्लाको आर्थिक गतिविधि चलायमान हुने चेन्जीमावोको विश्वास छ ।
ताप्लेजुङको काफ्लेपाटी देखि करिब एक किलोमिट पूर्वदक्षिण डडेलेमा केबलकारको पहिलो स्टेशन निर्माण सुरु भएसँगै नो केबलकार र केबलकार खारेज संघर्ष समिति सहित पहिचानवादीले आन्दोलन गर्दै आएका छन् ।
संघीय, प्रदेश र स्थानीय सरकार पाथीभरा माताको दर्शन गर्न जो कोहीलाई सहज रुपमा पुर्याउन केबलकार निर्माण गरेरै छाड्ने अडानमा छन । तर, खगेन्द्र फेम्बुको नेतृत्वमा गठित नो केबलकार मुक्कुमलुङ संघर्ष समिति, केबलकार खारेजी संघर्ष समिति सहित पहिचावादी पक्षले पाथीभरा माता केबलकार कम्पनीले केबलकार निर्माण प्रक्रिया अगाडि बढाए देखि नै अवरोध गर्दै आएको छ । आन्दोलनरत पक्षले पाथीभरा मुक्कुमलुङ लिम्बु समुदायको मुन्धुमीस्थल भएकाले केबलकार निर्माण गरेर त्यसको अस्तित्व मेटन नहुने भन्दै त्यसलाई यथावत अवस्थामा राख्नु पर्ने माग गर्दै आन्दोलन गर्दै आएको छ ।


प्रतिक्रिया