तीन प्रदेशबाहेक बाँकी प्रदेशमा मौसम सफा रहने

224
Shares

काठमाडौं । पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशबाहेक बाँकी प्रदेशमा मौसम सफा रहने जनाएको छ ।

तराईका केही भागमा हुस्सु लागेको छ । महाशखाका अनुसार आज राति सुदूरपश्चिम,कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ भने उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा बिहीबार बिहान तराईका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्नसक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।