बैंकको तलबभत्तामा कर्मचारीको असन्तुष्टि बढ्यो, भविष्य नदेखेर एकैवर्ष ३,३५९ जनाले छाडे जागिर

29.1k
Shares

काठमाडौं । एउटा यस्तो जमाना थियो, सरकारी जागिर छाडेर मान्छेहरु बैंकमा जागिर खान आउँथे । आकर्षक तलबभत्ता र सेवासुविधाका कारण सरकारी जागिर छाडेर सयौंको संख्यामा बैंकमा जागिर खान आएका थुप्रै उदाहारण छन् ।

बैंकर्स संघका पूर्वअध्यक्षद्वय भुवन दहाल र ज्ञानेन्द्र ढुंगाना सरकारी जागिर छाडेर बैंकमा जागिर खान आएका थिए । ढुंगाना राष्ट्र बैंकको निर्देशबाट जागिर छाडेर तत्कालीन एनसीसी बैंकमा जागिर खान आएका थिए । अहिले उनी नबिल बैंकका सीईओ छन् ।

त्यस्तै, सरकारी जागिर छाडेर ‍नबिल बैंकमा जागिर खान आएका दहाल सानिमा बैंकको सीईओ बनेर अवकाशको जीवन बिताइरहेका छन् ।

त्यस्तै, राष्ट्र बैंकको जागिर छाडेर ग्लोबल आईएमई बैंकमा जागिर खान आएका मनोज ज्ञवाली अहिले नबिल बैंकको सिनियर डेपुटी सीईओ अर्थात् वेटिङ सीईओ छन् ।

यी ३ उदाहारण त प्रतिनिधिमूलक मात्रै हुन् ।

नेपालमा निजामति र सार्वजनिक संस्थान पछि बैंकिङ क्षेत्रको जागिरलाई सम्मानित मानिन्छ । आकर्षक तलब भत्ता, आर्थिक वर्ष सकिएपछि बैंकहरुले आर्जन गरेको मुनाफाबाट प्राप्त हुने आकर्षक बोनसले गर्दा बैंककको जागीर नेपालमा आकर्षक मानिँदै आएको थियो । आकर्षक तलब सुविधाका साथै उपदान र विभिन्न प्रकारका बिदा समेतले गर्दा बैंकिङ क्षेत्रको जागिर केही समय अगाडिसम्म नेपालीहरुको लागि आकर्षणको केन्द्र बनेको थियो ।

‘२०४६ देखि २०४८ सम्म सरकारी जागिर खाँदा मेरो तलब मासिक १२४० रुपैयाँ थियो, मलाई २०४८ सालमा नबिल बैंकले ४१५० रुपैयाँ दियो, म पैसाकै लागि सरकारी जागिर छाडेर बैंकमा जागिर खान गएको हुूँ‘ क्लिकमान्डुसँको कुराकानीमा दहालले भनेका छन् ।

राष्ट्र बैंकको सहायक निर्देशकको जागिर छाडेर ग्लोबल आईएमई बैंकमा फाइनान्स चिफ भएर आउने निर्णय गर्न मनोज ज्ञवालीलाई तलब र सेवा सुविधाले नै लोभ्याएको थियो ।

‘त्योबेला राष्ट्र बैंकमा मेरो तलब ३८/४० हजार रुपैयाँ थियो, घर कर्जाको सीमा जम्मा ५ लाख थियो, गाडी चढ्ने वर्षौं कुर्नुपर्थ्यो,’ ज्ञवाली भन्छन्, ‘ग्लोबल आईएमई बैंक जाँदा तलब दोब्बरभन्दा बढी भयो, घरकर्जाको सीमा पनि ५० लाख रुपैयाँ र राष्ट्र बैंकका विशिष्ट श्रेणीका कर्मचारीले चढ्ने गाडी सुविधा पनि पाएँ ।’

राष्ट्र बैंकको जागिर छोड्दा ‘बिग्रिस्’ भन्नेहरु अहिले प्रगति देखेर प्रेरित हुने गरेको ज्ञवाली बताउँछन् ।

म सरकारी जागिर छोडेर निजी क्षेत्रमा हाम फाल्नुमा कुनै अरु चिज थिएन, यही आयस्रोत र पर्फमेन्का आधारमा प्रोमोसनले गर्दा हो,’ उनले भनेका छन् । ज्ञवाली अहिले महिनाकै ७/८ लाख रुपैयाँ कमाउँछन् ।

तर, अहिले परिस्थिति उल्टिएको छ ।

विगतमा बैंकले मागेभन्दा ३०/४० गुणाले आवेदन दिने गरेकोमा अचेल उक्त अनुपात घटिरहेको मात्रै छैन, जागिर गरिरहेका व्यक्तिसमेत टिक्ने क्रम घट्दो छ ।

कारण हो, बैंकमा काम गर्ने कर्मचारीहरु आफ्नो सेवा सुविधामा असन्तुष्ट हुने क्रम बढ्दो छ । ३० वर्षभन्दा कम उमेर भएका बैंकमा कार्यरत कमर्चारीहरुको जागिर छाड्ने संख्या निकै उच्च छ । बैंकिङ क्षेत्रका लागि कर्मचारी टिकाउन नसक्नु सबैभन्दा ठूलो चुनौतिका रुपमा देखा पर्दै गएको छ ।

नेपाल बैंकर्स संघले गरेको एक सर्वेक्षणले पनि बैंकिङ क्षेत्रका कर्मचारीहरुमा सेवासुविधालाई लिएर असन्तुष्टि बढ्दै गएको देखाएको छ ।

‘जसरी जुनियर अधिकृतहरु विदेशी जाने क्रम बढेको छ, यो प्रवृति रोकिएन भने केही वर्षपछि बैंकमा मध्यम तहका दक्ष जनशक्तिको अभाव हुने निश्चित छ,’ एक बैंकका सीईओले क्लिकमान्डुसँग भने,‘नेपालमा पनि अवसर छ भन्ने सन्देश प्रवाह गर्न सकिएन भने थप जनशक्ति पलाउन हुँदै जानेछन् । जुन बैंकिङ क्षेत्रका लागि मात्रै होइन, देशकै लागि ठूलो चुनौति बन्ने निश्चित छ ।’

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले गरेको एक सर्वेक्षणले पनि बैंकिङ क्षेत्रका कर्मचारीहरुमा सेवासुविधालाई लिएर असन्तुष्टि बढ्दै गएको देखाएको छ । संघले गत जेठमा सार्वजनिक गरेको एक सर्वोक्षणले बैंकिङ क्षेत्रका कर्मचारीमा तलब र सेवासुविधाप्रति पुर्णसन्तुष्ट हुने कर्मचारीको अनुपात घट्दै गएको छ भने असन्तुष्ट हुने कर्मचारीको संख्या बढ्दै गएको छ।

संघले २०२४ को जनावरीदेखि अप्रिलसम्म लगाएर बैंकका कर्मचारीसम्बन्धी एक सर्वेक्षण गरेको थियो । २० मध्ये १९ वाणिज्य बैंकको ६ हजार १४० कर्मचारी सहभागी भएको उक्त सर्वेक्षणले बैंकहरुको तलब र सेवासुविधाप्रति असन्तुष्ट रहेको कर्मचारीको संख्या बढ्दै गएको देखाएको छ ।

त्यतिमात्रै नभएर बैंकिङ क्षेत्रमा आफ्‌नो करियर देख्दिन भन्ने कर्मचारीको अनुपातसमेत बढ्दै गएको छ । त्यस्तै काम र करियरको दृष्टिकोणले बैंकिङ क्षेत्र असुरक्षित रहेको महशुस गर्ने कर्मचारीको अनुपातसमेत बढ्दै गएको छ ।

पछिल्लो समय बैंकिङ क्षेत्रमा कार्यरत युवाहरु बीचमै जागिर छोडेर विदेश पलायन हुनेक्रम बढ्दै गएपछि बैंकिङ क्षेत्रमै भोलिका दिनमा जनशक्ति अभाव हुने आशंका बढ्दै गएको बैंकरहरु बताउँछन् । बैंकर्स संघले गरेको सर्वेक्षणले समेत उक्त तथ्यलाई पुष्टि गरेको छ । बैंकिङ क्षेत्रमा तलब र सुविधाप्रति असन्तुष्ट कर्मचारी बढ्दै गएको र उक्त जागिरमा आफ्‌नो भविष्य नदेख्ने कर्मचारीहरु बढ्दै जानुले समेत उक्त तथ्यलाई पुष्टि गरेको छ ।

पछिल्लो एक वर्षमा वाणिज्य बैंकहरुमा कार्यरत कर्मचारीहरुको संख्या घटेको छ । बैंकर्स संघका अनुसार २०७९/८० मा ४४ हजार ९ सय ६२ जना रहेको कर्मचारी संख्या २०८०/८१ मा ३३ सय ५९ ले घटेर जम्मा ४१ हजार ६ सय ३ जनामा सीमित भएको छ।

तलब तथा सेवासुविधामा बढ्दो असन्तुष्टि

बैंकर्स संघले गरेको ‘कर्मचारी सर्वेक्षण’को नतिजाले बैंकिङ क्षेत्रको तलब तथा सेवासुविधामा पुर्णसन्तुष्ट रहेका कर्मचारीको अनुपात पछिल्लो २ वर्षमा करिब साढे ५ प्रतिशत बिन्दुले घटेको छ । सन् २०२२ मा वाणिज्य बैंकहरुको कर्मचारीमध्ये २३.३९ प्रतिशत कर्मचारी तलब तथा सेवा सुविधामा पुर्णसन्तुष्ट रहेको उक्त सर्वेक्षणले देखाएको छ । २०२४ मा आउँदा तलब तथा सेवासुविधामा पुर्णसन्तुष्ट हुने कर्मचारीको अनुपात १८ प्रतिशतमात्रै रहेको सर्वेक्षणको नतिजा छ ।


यस्तै बैंकहरुका कर्मचारीमा तलबप्रति असन्तुष्ट रहेका कर्मचारीको अनुपात ३ प्रतिशत बिन्दुले बढेको छ । सन् २०२२ मा २१.०७ प्रतिशत कर्मचारी तलबप्रति असन्तुष्ट रहेकोमा २०२४ मा उक्त अनुपात बढेर २४.१० प्रतिशत पुगेको सर्वेक्षणले देखाएको छ । आंशिक सन्तुष्ट रहेका कर्मचारीको अनुपात ५५.५४ प्रतिशतबाट बढेर ५७.९० प्रतिशत पुगेको हो । पर्याप्त नभए पनि अन्य क्षेत्रको तुलनामा राम्रो तलब तथा सेवासुविधा भएकोले आंशिकरुपमा सन्तुष्ट हुने कर्मचारीको संख्या अधिक रहने गरेको बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारीहरु बताउँछन् ।

बैंकिङ क्षेत्रका कर्मचारीहरुको तलब तथा सेवासुविधाका स्केल अहिले पनि राम्रो भएपनि शिक्षा, स्वास्थ्य लगायत सार्वजनिक सेवाहरुको बढ्दो लागतले गर्दा कर्मचारीहरुमा पनि त्यसको असर परेको बैंकर्स संघका अध्यक्षसमेत रहेको माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला बताउँछन् ।

तलब मात्रै नभएर अन्य सेवासुविधामा असन्तुष्ट रहेको कर्मचारीको संख्या पनि बढ्दो छ । अन्य सेवासुविधामा पुर्णसन्तुष्ट कर्मचारी २०२२ मा १८.९७ प्रतिशत रहेकोमा २०२४ मा १३.४४ प्रतिशत मात्रै छ । आंशिक सन्तुष्ट कर्मचारीको अनुपात केही बढेको देखिन्छ । २०२२ मा यस्तो अनुपात ५६.२१ प्रतिशत रहेकोमा २०२४ मा ५८.५६ प्रतिशत पुगेको छ । यस्तै असन्तुष्ट कर्मचारी २४.८३ प्रतिशतबाट बढेर २८ प्रतिशत पुगेको हो ।

बढी तलब बढ्नेमा बैंकिङ क्षेत्र नै अगाडि

पछिल्ला ५ वर्षमा सबैभन्दा आकर्षक तलबवृद्धि बैंकिङ क्षेत्रका कर्मचारीको देखिन्छ । राष्ट्र बैंकले प्रकाशित गर्ने तलब तथा ज्यालादर सुचकांकमामा सबैभन्दा धेरै तलव वृद्धिदर बैंक तथा बिमा क्षेत्रमा कार्यरत कर्मचारीहक्रुो देखिन्छ । आर्थिक वर्ष २०७६/७७ को असारमा वार्षिक बिन्दुगत तलब तथा ज्यालदर सुचकांकको ७.४० प्रतिशतमात्रै हुँदा बैंकिङ तथा बिमा क्षेत्रको तलब तथा ज्यालादर सुचकांक २५.४३ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांक छ ।

आर्थिक वर्ष २०७७/७८ मा बैंकिङ क्षेत्रको कर्मचारीको तलब वृद्धि भएन । तर, समग्र तलब तथा ज्यालदर सुचकांक उक्त वर्ष २.७६ प्रतिशतले वृद्धि भएको  थियो । आर्थिक वर्ष २०७८/७९ मा बैंकिङ तथा बिमा क्षेत्रको तलब तथा ज्यालादर सुचकांक २८.२५ प्रतिशतले वृद्धि भयो । तर, वार्षिक तलब तथा ज्यालादर सुचकांक भने ९.०९ प्रतिशतले मात्रै वृद्धि भएको राष्ट्र बैंकको तथ्यांक छ ।

आर्थिक वर्ष २०७९/८० को असारमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सुचकांक ८.७१ प्रतिशतले वृद्धि हुँदा बैंकिङ तथा बिमा क्षेत्रको तलब तथा ज्यालादर सुचकांक २५.०४ प्रतिशतले बढेको र २०८०/८१ असारमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सुचकांक ३.५६ प्रतिशतले वृद्धि हुँदा बैंकिङ क्षेत्रको तलब तथा ज्यालादर सुचकांक ८.६२ प्रतिशतले बढेको देखिन्छ ।

चालु आर्थिक वर्षको पुषमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सुचकांक २.८५ प्रतितले बढेकोमा बैंकिङ तथा बिमा क्षेत्रको तलब तथा ज्यालादर सुचकांक केही कम अथात् २.२२ प्रतिशतले मात्रै बढेको छ ।

बैंकमा करियर सुरक्षित नदेख्ने कर्मचारी बढ्दै

बैंकिङ क्षेत्रमा आफ्‌नो करियर वृद्धिको अवसर नदेख्ने कर्मचारी अनुपात २ वर्षको अवधिमा करिब ९ प्रतिशत बिन्दुले बढेको छ। बैंकर्स संघको सर्वेक्षण अनुसार २०२२ मा बैंकिङ क्षेत्रमा करियर वृद्धिको अवसर नदेख्ने कर्मचारीको अनुपात २२.९५ प्रतिशत मात्रै थियो । २०२४ मा आउँदा उक्त अनुपात बढेर ३१.७६ प्रतिशत पुगेको छ । त्यहि बैंकिङ क्षेत्रमा करियर वृद्धिको अवसर देख्ने कर्मचारीको अनुपात २०२२ मा ७७.०५ प्रतिशत रहेकोमा २०२४ मा ६८.२४ प्रतिशतमा झरेको छ ।

बैंकिङ क्षेत्रका कर्मचारीले करियर वृद्धिको अवसर नदेखेको मात्रै होइन बैंकको जागिर र करियर नै असुरक्षित रहेको महशुस गर्ने कर्मचारी समेत बढ्दै गएका छन् । यस्तो कर्मचारीको अनुपात २०२२ मा ३९.३० प्रतिशत रहेकोमा २०२४ मा ४३.९६ प्रतिशत पुगेको छ । यस्तै जागिर र करियर सुरक्षित महसुस गर्ने कमीचारी २०२२ मा ६०.७० प्रतिशतबाट २०२४ मा ५६.०४ प्रतिशतमा घटेको छ ।