अब नेपालमा भारतका ठूला दरका भारतीय नोट प्रयोग गर्न पाइने

196
Shares

काठमाडौं । भारतले नेपालमा ठूला दरका भारतीय नोट चल्ने बाटो खोलिदिएको छ ।

यद्यपि नेपाल राष्ट्र बैंकले भारतीय निर्णयलाई समायोजन हुनेगरी सूचना निकालेपछि मात्रै यो निर्णय कार्यान्वयनमा आउनेछ ।

भारतीय रिजर्भ बैंक (आरबीआई) ले भारतको केन्द्रीय राजपत्रमा सूचना प्रकाशन गर्दै अबदेखि नेपालमा ठूलो दरका भारतीय नोटको कारोबारमा रहेको प्रतिबन्ध हटाएको हो ।

विदेशी मुद्रा प्रबन्ध (करेन्सी निर्यात तथा आयात) संशोधन विनियमावली २०२५ जारी गर्दै भारतीय केन्द्रीय बैंकले भारतबाहिर नेपाल र भुटानलाई भारतको मुद्रा र रिजर्व बैंकको भारतीय नोट (१०० मूल्यदेखि माथिका नोटबाहेक) लैजान र ल्याउन सक्ने व्यवस्था गरेको छ ।

संशोधित व्यवस्थाअनुसार भारतबाहिर नेपाल वा भुटान यात्रामा जानेले भने भारु १०० भन्दा बढी मूल्यका नोट २५ हजार भारुसम्म लैजान पाउनेछन् भने नेपाल र भुटानबाट भारतमा भारुतीय नोट (१०० मूल्यमाथिका नोट छोडेर) ल्याउन सक्ने व्यवस्था गरिएको छ ।

नेपाल वा भुटानबाट भारत यात्रामा आउने व्यक्तिले भने १०० भारुभन्दा बढी मूल्यका ठूला नोट २५ हजार भारुसम्म भारत ल्याउन पाउनेछन् ।

नेपाल वा भुटानका नोटहरू भारतबाहिर नेपाल वा भुटानमा लैजान सकिनेछ । त्यसैगरी नेपाल र भुटानबाट पनि ती नोटहरु भारतमा ल्याउन सकिने भएको छ ।

पछिल्लो व्यवस्था पाकिस्तान वा बंगलादेशका नागरिकलाई भने दिइएको छैन । यसअघि नेपालमा ठूला भारतीय नोटको कारोबार गर्न नपाइने व्यवस्था गरिएको थियो ।

नेपाल राष्ट्र बैंकले पनि यस्तै व्यवस्था गरेपछि पछिल्लो व्यवस्था कार्यान्वयनमा आउनेछ भने भारत जाने र भारतबाट नेपाल आउने पर्यटक र श्रमिकलाई फाइदा पुग्नेछ ।

सन् २०१६ मा नोटबन्दी हुनुअघि नेपालमा भारु पाँच सय र एक हजार दरका भारतीय रुपैयाँको कारोबार र सटही सहजरूपमा हुनेगरेको थियो । तर त्यसपछि भने एक सय दरका बाहेक अरु ठूला नोटहरू चलाउन अनुमति दिएको थिएन ।

पछिल्लो समय भारतमा दुई हजार दरको नोट पनि चलनचल्तीमा रहेको छ । भारतले नेपालमा ठूला दरका नोटहरू चलाउन अनुमति दिएपछि नेपाली मुद्रा बजारमा अबदेखि दुई हजार दरको भारतीय नोट पनि सहजरूपमा चल्न सक्नेछ ।