
काठमाडौं । हेटौँडामा शनिबारदेखि सडक विस्तार अघि बढाइएको छ।
मकवानपुरस्थित सडक डिभिजन कार्यालयले आज बिहानैदेखि हेटौँडा बजार क्षेत्रमा सडक सीमाभित्र रहेका संरचना डोजर लगाएर हटाउन थालेको हो। विस्तार अभियान शनिबार बिहान ६ बजेबाट हेटौंडाको राप्ती रोड देखि सुरु भएको छ।
सडक विस्तारका क्रममा दायाँबायाँ २५-२५ गजभित्र पर्ने संरचना सुरक्षाकर्मीको उपस्थितिमा भत्काउन सुरु गरिएको हो।
यसअघि डिभिजनले १५ दिनको समय दिँदै मंसिर १९ गतेभित्र सडक क्षेत्रमा पर्ने आआफ्ना घरटहरा हटाउन सम्बन्धित व्यवसायी तथा घरधनीलाई सार्वजनिक सूचना गरेको थियो।
तर उनीहरूले आन्दोलनमा उत्रिँदै अटेर गरेपछि सडक डिभिजनले आज बिहानैदेखि त्यहाँ डोजर चलाउन थालेको हो।
शुक्रबार मात्र सर्वोच्च अदालतले हेटौँडाको मुख्य सडक विस्तारसम्बन्धी सूचना कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।
प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सर्वोच्चले ६ जनाको हकमा अन्तरिम आदेश दिएको प्रारम्भिक जानकारी भए पनि आदेश जिल्ला अदालतमार्फत औपचारिक रूपमा दर्ता नभएसम्म काम रोक्नुपर्ने स्थिति छैन।
अनौपचारिक रूपमा पठाइएका कागजातले प्रक्रिया प्रभावित नपर्ने अधिकारीको भनाइ छ।
उनले भने, ‘ह्वाट्सएपमा आएको कागजले केही हुँदैन, आधिकारिक पत्र आउनुपर्छ।’ प्रशासनका अनुसार राप्ती रोड्बाट सुरु गरिएको र १२ वटा टोली परिचालन गरी रातोमाटे, बुद्धचोक, बाइपास, राप्तीरोडदेखि उद्योग वाणिज्य संघ आसपाससम्म संरचना हटाउने कार्य हुने जनाएको छ।
पहिलो चरणमा सटर, बोर्ड र व्यापारिक गतिविधि रोक्ने काम गरिने र आवासीय घर तत्काल भत्काइन भन्काइने प्रशासनले जनाएको छ । सडक डिभिजन कार्यालय मकवानपुरले पनि मंसिर २० गतेदेखि सडक विस्तार सुरु गर्ने निर्णय यथावत् राखेको छ।
मंसिर ५ मा जारी गरिएको १५ दिने म्याद सकिनअघि कुनै रोक आदेश नआएकाले कानुनी अवरोध नरहेको डिभिजनको दाबी छ।
१६ मंसिरमा रास्वपा नेतृ तथा पूर्वसांसद विन्दबासिनी कंसाकारद्वारा सर्वोच्चमा दायर रिटमाथि शुक्रबार सुनुवाइ हुनेछ भन्ने जानकारी आए पनि आदेश कुन क्षेत्रमा र कसका हकमा लागू हुन्छ भन्ने विषय अझै स्पष्ट नभएको प्रशासनले जनाएको छ।
परियोजना अन्तर्गत महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक राप्ती पुलसम्म तथा त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्म करिब ९.५ किलोमिटर सडक विस्तार गर्न ५३१ वटा संरचना हटाइनेछ।









प्रतिक्रिया