
काठमाडौं । पेट्रोलियम पाइपलाइनमार्फत् औपचारिक रुपमा पेट्रोल आयात गर्ने विषय अलपत्र परेको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्तरुपमा उदघाट्न गरेपछि उक्त पाइपलाइनमार्फत नियमितरुपमा पेट्रोल खसाल्ने योजना थियो ।
यो योजनाअनुसार सरकारले जनवरी पहिलो तारिखमा उदघाट्न गर्ने तयारी गरेपनि भारतीय पक्षले चासो नदेखाएपछि औपचारिक रुपमा गर्ने भनिएको उदघाट्न अहिलेसम्म हुन सकेको छैन ।
हाल यो पाइपलाइनबाट डिजेल आयात भइरहेको छ । स्तरोन्नतिपछि सोही पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने योजना छ जसका लागि सम्पूर्ण पूर्वधार निर्माण सम्पन्न भइसकेको पनि छ । तर, ओली-मोदी बिग्रँदो सम्बन्धका कारण वर्षौंदेखिको योजना अलपत्र परेको हो ।
‘भारतीय प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीबीच सम्बन्ध चिसिनुका साथै कुटनीतिक सम्बन्धसमेत बिग्रिएका कारण पेट्रोलियम पाइपलाइनबाट पेट्रोल ल्याउने उदघाट्न कार्यक्रम प्रभावित भएको हो,’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले भने,‘नेपालका प्रधानमन्त्री ओलीले भारतको चाहनाविपरित चीनसँगको बीआरआईमा सम्झौता गरेका थिए ।’
यो सम्झौताका कारण पछिल्लो समयमा भारतीय प्रधानमन्त्री मोदी ओलीप्रति रुष्ट बनेका छन् । ओलीप्रति मोदीको रुष्टताका कारण त्यसको प्रभाव पाइपलाइन उदघाट्नमा परेको मन्त्रालयका ती अधिकारीले बताए ।
यसअघि प्रधानमन्त्री भएका ओलीले चुच्चे नक्सासहित जारी गरेको नयाँ नक्सा र नेपाली रुपैयाँको छपाईसम्बन्धी कामसमेत चीनलाई सुम्पिएपछि भारतको सत्ता पक्ष पछिल्लो समयमा ओलीलाई त्यति सकारात्मक रुपमा लिएका छैनन् ।
‘यस्ता घटनाक्रमहरुले गर्दा भारतीय सत्ता पक्ष बिच्किँदा त्यसको प्रत्यक्ष प्रभाव पाइपलाइनको उदघाट्नमा परेको हो,’ मन्त्रालय स्रोतले जनाएको छ ।
यसअघि सन् २०२४ को अगस्ट महिनामा औपचारिकरुपमा उद्घाटन गरी पाइपलाइनमार्फत् पेट्रोलसमेत अमलेखगञ्ज डिपोका खसाल्ने तयारी भएको थियो । तर तत्कालीन समयमा निर्माण कार्यमा भएको ढिलाईका कारण सम्पूर्ण गृहकार्य सकेर गत जनवरी पहिलो सातामा दुवै मुलुकका प्रधानमन्त्रीले संयुक्तरुपमा उद्घाटन गर्ने तयारी भएको थियो ।
‘यसका लागि इण्डियन आयल कर्पोरेशन (आईओसी) र परराष्ट्र मन्त्रालयका साथै काठमाडौंस्थित भारतीय दूतावासमार्फत् पटक पटक कुटनीतिक पहल भएको थियो,’ ती अधिकारीले भने,‘तर भारत सत्ता पक्षले यो विषयप्रति कुनै चासो नै देखाउन तयार भएनन् । कुनै न कुनै बहाना देखाएर उद्घाटन गर्ने विषयलाई ओझेलमा पारियो ।’
उद्घाटनको लागि समय निर्धारण गर्ने कार्यतालिका तय गर्ने तयारी भइरहँदा उता पाइपलाइनमार्फत पेट्रोल ल्याउने परीक्षण भने गत डिसेम्बर महिनामा पूर्ण रुपमा सफल भइसकेको थियो। प्राविधिकमा रुपमा पाइपलाइनबाट पेट्रोल ल्याउन सक्ने तयारी सम्पन्न भइसकेपछि उदघाट्नको लागि तयारी थालिएको थियो ।
उदघाट्नका लागि भारतीय प्रधानमन्त्रीको तर्फबाट साकारात्मक पहल नभएपछि उदघाट्न प्रक्रिया अहिलेसम्म त्यतिकै अलपत्र परेको छ ।
भारतीय प्रधानमन्त्री मोदीले पाइपलाइनको उदघाट्नको लागि साकारात्मक चासो नदेखाएपछि अहिले मन्त्रालयले कुन तहबाट उदघाट्न गराउने बिषयमा गहन छलफलमा जुटेको स्रोतले जनाएको छ ।
औपचारिकरुपमा उदघाट्न सम्पन्न नहुँदासम्म उक्त पाइपलाइनबाट नियमितरुपमा पेट्रोल र डिजेल आपूर्ति गर्न कठिनाई भएको छ ।
अनौपचारिक रुपमा दिन थालियो पेट्रोलको लोडिङ
दुई मुलुकको प्रधानमन्त्रीबाट उदघाट्न गराएर पाइपलाइनमार्फत् औपचारिकरुपमा नियमित पेट्रोल ल्याउने विषय अलपत्र परेपछि अहिले नेपाल आयल निगमले अनौपचारिक रुपमा पाइपलाइनमार्फत् आएको पेट्रोलको लोड ट्यांकरलाई दिन थालेको छ ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भटट्का अनुसार विभिन्न प्राविधिक समस्याका कारण औपचारिकरुपमा उदघाट्न नहुँदा पनि पाइपलाइनबाट आएको पेट्रोल केही ट्यांकरलाई दिन थालिएको जानकारी दिए ।
‘उद्घाटन कसबाट गराउने र कसरी गराउने विषय सरकारको हो, हामीले पेट्रोल ल्याएर ट्यांकरलाई वितरण गर्ने हो,’ निगमका कार्यकारी निर्देशक भट्टले भने,‘सरकारले उदघाट्नको विषयमा आफ्नो गृहकार्य गरिरहेको छ, हामी आफ्नो काम नमूनाको रुपमा अनौपचारिकरुपमा गरिसकेका छौं ।’
औपचारिकरुपमा उदघाट्न नभएपनि पाइपलाइनबाट अहिले नियमित रुपमा आवश्यकताको आधारमा अमलेखगञ्जको डिपोमा पेट्रोल आइरहेको छ ।
चाहिने परिमाणभन्दा पनि निगमले परीक्षण आपूर्तिको रुपमा मात्रै पाइपलाइनबाट पेट्रोल आयात गर्न सुरु गरेको छ । जसअनुसार तीन दिनदेखि पाइपलाइनमार्फत् आएको पेट्रोल बिराटनगर, पोखरा र जनकपुरको ट्यांकरलाई लोड दिन थालेको छ ।
नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रलयंकर आचार्यका अनुसार अहिले बिराटनगर, पोखरा र जनकपुरका ५ देखि ७ वटा ट्यांकरलाई पेट्रोलको लोड दिन सुरु भएको छ ।
‘व्यवसायिक रुपमा पाइपलाइनबाट नियमितरुपमा फूल फेजमा पेट्रोल ल्याएका छैनौं,’ आचार्यले भने,‘तयारी अवस्थामा भएको पाइपलाइनको उपकरणहरु नविग्रियोस भनेर अहिले यसो ट्रायल फेजको रुपमा थोरै थोरै आपूर्ति गरेर ट्यांकरलाई लोडिङ दिने काम सुरु भएको छ । औपचारिकरुपमा उदघाट्न भएपछि फूल फेजमा नियमितरुपमा आपूर्ति गर्छाैं ।’
पाइलाइन विस्तार परियोजनाअन्तर्गत आईओसीले अमलेखगञ्जस्थित डिपोमा चार हजार १०० किलोलिटर क्षमताका दुई पेट्रोल ट्याङ्क, २५० किलोलिटर क्षमताका दुई ट्रान्समिक्स ट्याङ्क, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ्ग वे–रिफिलर, पम्प हाउस र प्रयोगशाला निर्माण गरिदिएको उनले बताए ।
सोही परियोजनाअन्तर्गत ‘फायर फाइटिङ सिस्टम’को स्तरोन्नति, पानी र तेल छुट्याउने ‘ओडब्ल्युएस सिस्टम’ तथा पिएमसिसी कक्षसमेत निर्माण गरिएको छ । सन् २०२३ भित्र सम्पूर्ण पूर्वाधार निर्माणसम्पन्न गर्ने गरी लिखिता इन्फ्रास्ट्रक्चर प्रालिलाई ठेक्का दिइएको थियो ।
यस्तै, पेट्रोल र डिजेल दुवै हुन सक्ने मिश्रित इन्धन राख्नका लागि दुई ट्रान्समिक्स ट्याङ्क र डिपोभित्रको सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताको फायरवाटर ट्याङ्क आईओसीले निर्माण गरिदिएको छ । परियोजनाअन्तर्गत पहिलो चरणको काम सम्पन्न भई गत २०७६ साल भदौ २५ गतेदेखि पाइपलाइनबाट डिजेलको आयात भइरहेको छ ।
‘एउटै पाइपलाइनबाट पेट्रोल र मट्टीतेल आयात गर्न सम्भव भए पनि भण्डारण गर्ने क्षमता नहुँदा ट्याङ्करबाटै पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बाध्यता थियो,’ प्रमुख आचार्यले भने, ‘आयोजनाको काम सम्पन्न भएपछि अनौपचारिक रुपमा पेट्रोल, डिजेल र मट्टीतेल गरी तीनवटै पदार्थको नियमित आयात पाइपलाइनबाटै हुन थालेको छ।’
मोतिहारी–अमलेखगञ्ज पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हुँदा प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाडासमेत बचत हुने तथा वातावरणीय प्रदूषण कम गर्न सहयोग पुग्ने कार्यालय प्रमुख आचार्यको भनाइ छ ।
गत असोज १७ गते आईओसीको प्राविधिक टोलीले पाइपलाइनबाट पेट्रोल ल्याएर टेस्टिङ्ग गर्ने काम सम्पन्न गरेको थियो ।
पाइपलाइनबाट ५ हजार ५ सय किलोलिटर (५५ लाख लिटर) पेट्रोल अमलेखगञ्जको डिपोमा खसालेर भारतीय प्राविधिक टोलीले सफल परीक्षण गरिसकेका छन् ।
यो पाइपलाइनको सहयोगमा प्रतिदिन ६ हजार किलोलिटर पेट्रोल ल्याउन सकिन्छ । पाइपलाइनबाट ३ सय किलोलिटर प्रतिघण्टाको दरले इन्धन ल्याउन सक्ने क्षमता भएपनि हाल परीक्षण ढुवानी प्रतिघण्टा १५० देखि २५० किलोलिटरको दरले भइरहेको छ ।
यस्तै गत मंसिर २६ गते उक्त पाइपलाइनबाट मट्टितेल ल्याउने परीक्षण सफल भएको थियो । परीक्षण ढुवानीअन्तर्गत १ हजार किलोलिटर (१० लाख लिटर) उक्त पाइपलाइनमार्फत मट्टितेल आपूर्ति गरिएको थियो ।
बरौनी रिफाइनरीबाट पेट्रोल र मट्टितेल मोतिहारी–अमलेखगञ्ज पाइपलाइनमार्फत ल्याइएको थियो । मोतिहारीबाट बरौनी रिफाइनरीसम्म छुट्टै पाइपलाइन छ ।
मट्टितेल भण्डारण गर्न प्रादेशिक कार्यालय अमलेखगञ्जमा १५ हजार किलोलिटरको एक र ७६० किलोलिटरको एक गरी दुई वटा स्टोरेज ट्याँकी छ ।
दक्षिण एशियामै पहिलो अन्तरदेशिय पाइपलाइन नेपाल–भारतको सीमामा मोतिहारी–अमलेखगञ्ज पाइपलाइन सञ्चालन आएको छ ।
करिब ६९ किलोमिटर लम्बाई भएको यो पाइपलाइनको २०१९ को सेप्टेम्बर १० तारिखदेखि सञ्चालनमा आएको हो ।
नेपालमा वार्षिक ७ लाख किलोलिटर (७० करोड लिटर) पेट्रोल खपत हुन्छ । यसमध्ये पाइपलाइनबाट ७० प्रतिशतका दरले ४ लाख ९० हजार किलोलिटर (४९ करोड लिटर) आयात गर्ने लक्ष्य निगमले राखेको छ ।
प्रतिक्रिया