अर्थतन्त्रमा सुखद् संकेतः १९ वर्षपछि आयातभन्दा निर्यातको वृद्धिदर धेरै



काठमाडौं । लामो समय देशको अर्थतन्त्र सकरात्मक दिशातर्फ अघि बढेको तथ्यांक सार्वजनिक भएको छ । आयातको तुलनामा निर्यात बढेको तथ्यांकले मुलुकको अर्थतन्त्र सन्तुलनउन्मूख भएको देखाउँछ ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको ३ महिनाको देशको आर्थिक अवस्थाको तथ्यांक आज (बिहीबार) सार्वजनिक गरेको छ । उक्त तथ्यांकमा कुल वस्तु निर्यात १४.४ प्रतिशतले वृद्धि भई २७ अर्ब १७ करोड रुपैयाँ पुगेको उल्लेख छ ।

गत आर्थिक वर्षको यसै अवधिमा यस्तो निर्यात १६.१ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ३५.८ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा १९.९ प्रतिशत र अन्य मुलुकतर्फ ११.७ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा पाम तेल, अलैंची, आयुर्वेदिक औषधि, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, जुस, तयारी पोशाक, ऊनी गलैचा, तार लगायतका वस्तुहरुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७६/७७ को तीन महिनामा कुल वस्तु आयात १०.३ प्रतिशतले घटेर ३ खर्ब ३४ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आयात ४३.६ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२.२ प्रतिशत र १९.१ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ११.६ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा कच्चा पाम तेल, हटरोल सिट, अन्य मेसिनरी तथा पाटपुर्जा, विद्युतीय उपकरण, सोलार प्यानल लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाज तथा पार्टपुर्जा, एम.एस. बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुहरुको आयात घटेको छ । गत वर्षको ३ महिनाकोे अवधिसँग तुलना गर्दा १० अर्ब रुपैयाँले पेट्रोलियम पदार्थको आयात घटेकोछ ।

१९ वर्षपछि पहिलोपटक आयातभन्दा निर्यात बढी भएको राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक गुणाकर भट्टले जानकारी दिए ।

‘मेरो जानकारीमा भएसम्म आर्थिक वर्ष २०५७/५८ पछि पहिलोपटक आयातभन्दा निर्यातको वृद्धिदर बढी देखिएको छ,’ कार्यकारी निर्देशक भट्टले क्लिकमाण्डूसँगल भने, ‘यसले अर्थतन्त्र सन्तुलततर्फ उन्मूख भएको देखाउँछ । तर, आयात घटेका कारण उच्च आर्थिक वृद्धिदर प्राप्त गर्न भने केही कठिनाइ देखिएको छ ।’

आयातमा आधारित अर्थतन्त्र भएकाले हायात ह्यात्तै घट्दा मुलुकको आर्थिक वृद्धिदरमा त्यसले असर पार्नसक्ने उनको भनाई थियो ।

भन्सार नाकाका आधारमा निर्याततर्फ वीरगंज भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय, मेची भन्सार कार्यालय र कन्चनपुर भन्सार कार्यालय बाहेकका मुख्य भन्सार नाकाहरुबाट गरिएको निर्यातमा ह्रास आएको छ ।

आयाततर्फ सुख्खा बन्दरगाह भन्सार कार्यालय, मेची भन्सार कार्यालय, कन्चनपुर भन्सार कार्यालय र रसुवा भन्सार कार्यालय बाहेकका मुख्य भन्सार नाकाहरुबाट भएको आयातमा ह्रास आएको छ ।


पुष्प दुलाल