नेपाल एयरलाइन्समात्रै होइन, सरकारी लगानीका थाई, एयर इन्डिया र श्रीलंकन एयर पनि घाटामै !



काठमाडौं । जब-जब नेपाल एयरलाइन्सको कुरा चल्छ तुलनाका लागि थाई एयरवेजको प्रसंग जोडिन्छ । कारण यी दुबै एयरलाइन्सले लगभग एउटै समयमा आफ्नो सेवा विस्तार गरेका थिए । र, दुबैमा सरकारी लगानी छ ।

थाई एयरलाइन्सको उदारहण दिँदै नेपाल एयरलाइन्सले केही पनि प्रगति गर्न नसकेको आरोप पनि लगाइन्छ । लगातार घाटा बेहोरिरहेको नेपाल एयरलाइन्सलाई विमान उडाउनै नसेकेको र राम्रो व्यवस्थापन नभएको आरोप लाग्दै आएको छ ।

यद्यपि यो सत्य पनि हो कि आन्तरिक उडानमा लगभग शुन्य प्रायः अवस्थामा रहेको नेपाल एयरलाइन्सको अवस्था अन्तर्राष्ट्रिय उडानमा पनि सुखद् छैन ।

लामो समयसम्म वाइड बढी जहाज थन्किएर बसे । आन्तरिकतर्फको उडान कैयन ठाउँमा हुन सकेको छैन । भएका ठाउँमा पनि रोकिएको छ जसको फाइदा निजी क्षेत्रका विमानले लिइरहेका छन् । चिनियाँ विमान एउटा मात्रै उडिरहेको छ बाँकी ३ वटा ह्याङगरमै थन्किएका छन् ।

यो सबैका बावजुद पनि अन्तर्राष्ट्रिय उडानतर्फ नेपाल एयरलाइन्सले गत वर्ष विदेशबाट बढी यात्रु बोक्नेमा सबैभन्दा अगाडि थियो ।

छिमेकी मुलुक भारत, दुबई, कतार, हङकङ, मलेसिया केही महिनादेखि जापानको ओसाका उडान गरिरहेको नेपाल एयरलाइसले आगामी दिनमा चीनको ग्वाञ्जाओ, जापानको नारिता, साउदी अरेबिया, फिनल्याण्ड, अष्ट्रेलिया र दक्षिण कोरियाका लागि समेत उडानको योजनामा राखेको छ ।

नेपाल एयरलाइन्सले योजना अनुसार चीन र जापानको नारिता उडानको मात्रै अनुमति पायो भने विमानको संख्या नै पुग्दैन् । तालिका मिलाउन हम्मेहम्मे पर्छ ।

नेपाल एयरलाइन्ससँग व्यवसाय सुरु गरेको भनिएको थाइ एयरवेजसँग अहिले १०० भन्दा बढी विमान छन् । ती विमानले ३७ वटा देशका ८४ वटा गन्तव्यमा उडान भर्छन् । यद्यपि सरकारी स्वामित्वमा रहेको थाईले जति प्रगति गरे पनि नाफामा भने छैन ।

थाई एयरवेजले सन् २०१८ मा ३६५ मिलियन अमेरिकी घाटा बेहोरेको थियो । वर्ष २०१७ को तुलनामा यो ५ गुणा बढी घाटा हो । सन् २०१७ मा थाइले ६६ मिलियन अमेरिकी डलर घाटा बेहोरेको थियो ।

थाईको सञ्चालन खर्च एक वर्षमा ३.९ प्रतिशतले बढेको थियो । एक वर्षमा ५ वटा विमान थप गरेको थियो । तर २ वटा विमान थन्किएपछि तीन वटा विमानको आम्दानी मात्रै थपिएको थियो ।

सन् २०१९ को अर्धवार्षिक अवधिमा थाई एयरवेज ६.४४ अर्ब भाट घाटामा छ । कम्पनीसँग हालसम्मको सञ्चित नोक्सानी २८० अर्ब भाट अर्थात १० खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ । कम्पनीमा हाल २० हजार रोजगार छन् ।

सन् २०१९ मा मात्रै एयरलाइन्सले १० अर्ब भाटको अनुमानित नोक्सानी बेहोरेको बताइन्छ । कम्पनीले सन् २०२२ मा मात्रै घाटा र ऋण चुक्ता गरिसक्ने कम्पनीले लक्ष्य लिएको छ ।

त्यस्तै, हजारौं करोड भारु घाटामा रहेको भारतको सरकारी लगानीको एयरलाइन्स एयर इन्डियाको हालत त झन नेपाल वायू सेवा निगम जत्तिको राम्रो पनि छैन । बिक्रीका लागि अनेकन प्रयास गर्दा समेत हालसम्म यसले खरिदकर्ता पाउन सकेको छैन ।

लगातार घाटामा गए पनि भारतीय सरकारले यसलाई बिक्री गर्न थालेको छ । भारत सरकार अहिले १०० प्रतिशत सेयर नै बिक्री गर्ने तयारीमा छ ।

५८ हजार करोड भारुको ऋणमा डुबेको एयर इन्डियालाई सन् २०१९/१९ मा ८४ अर्ब भारु घाटा भएको थियो । एयर इन्डियाको ठूलो सञ्चालन खर्च र विदेशी मुद्रा विनियमका कारण नोक्सानी बेहोर्नु परेको थियो । यतिसम्म कै एयर इन्डियाले इन्धनको बाँकी रकम समेत तिर्न सकेको छैन ।

एयर इन्डियालाई सुरुवाती कम्पनी टाटाले नै खरिद गर्ने चर्चा चुलिएको छ । एयर इन्डिया सुरुवाती समयमा टाटा एयर सर्भिसका नामले सञ्चालनमा थियो सन् १९४६ मा कम्पनी पब्लिक लिमिटेडमा गइसकेपछि एयर इन्डियाको नाममा सुरु भएको थियो ।

त्यस्तै, श्रीलंकाको श्रीलंकन एयरलाइन्स पनि सरकारी स्वामित्वको कम्पनी हो । यो एयरलाइन्स पनि घाटामै चलिरहेको छ । सन् २०१८ मा मात्रै कम्पनीले ४० मिलियन रुपिज घाटामा गएको थियो । कुनै समय इमिरेट्सले व्यवस्थापन सम्हाल्दा फाइदामा पुगेको एयरलाइन्स अहिले फेरि घाटामा चलिरहेको छ ।

श्रीलंकन एयरलाइन्स पछिल्लो पटक फाइदामा सन् २००८ मा मात्रै पुगेको थियो । त्यसयता कम्पनीले हरेक वर्ष घाटा बेहोरिरहेको छ । सन् २००८ मा ४ अर्ब ४२ करोड फाइदा गरेको कम्पनीले सन् २००९ मा ९ अर्ब ३० करोड घाटामा थियो । सन् २०१७ मा आइपुग्दा श्रीलंकन एयरलाइन्स २९ अर्ब रुपैयाँ घाटामा छ ।

यसरी सरकारी लगानीमा रहेका विमानहरु किन घाटामा जान्छन् त ? ‘नेपाल वायू सेवा निगमका अध्यक्ष मदन खरेल भन्छन, ‘सरकारले नाफा र घाटा हेरेर व्यवसाय गर्दैन, फेरि एयरलाइन्सले पनि आफू घाटामा गएर पनि देशका लागि फाइदा गरेको छ/छैन हेर्नुपर्छ ।’

‘हो पक्कै पनि व्यवसाय गरेपछि फाइदा हुनैपर्छ नत्र संस्था चलाउन गाह्रो हुन्छ, हामीले पनि अन्तर्राष्ट्रिय उडानका लागि काम गरिरहेका छौं भने खर्च समेत कम गराउँदै लगेका छौं,’ उनले थपे ।

विगत एक वर्षमा मात्रै निगमले २ अर्ब रुपैयाँ बचाएको छ । जसबाट ३३ करोड ऋण पनि चुक्ता गरिसकेको छ । यद्यपि अर्बौ रुपैयाँ ऋण रहेको निगमका लागि ३३ करोड रुपैयाँ ठूलो होइन, तर आफूहरु त्यो बाटोमा हिडिरहेको खरेलले जानकारी दिए ।

उनले थाई एयलाइन्सको उदाहरण दिँदै भने, ‘थाईले आफू घाटामा गए पनि मुलुकको पर्यटनमा निकै ठूलो सहयोग गरेको छ, नेपाल एयरलाइन्सले पनि गत वर्ष सबैभन्दा बढी यात्रु बोक्यो, त्यसैले फाइदा मात्रै भन्दा पनि मुलुकको अन्य क्षेत्रमा यसले सहयोग गरिरहेको हुन्छ ।’


पुष्प दुलाल