प्रभु बैंकको बोर्ड बैठकः कमजोर संस्था खोजेर एक्वायर गर्ने निर्णय, जोडी खोज्न सबै लाग्ने



काठमाडौं । प्रभु बैंकको सञ्चालक समितिकको बैठकले कमजोर संस्था एक्वायर (प्राप्ति) गर्ने रणनीति अपनाउँदै जोडी खोज्न लागि परेको छ । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले यस्तो रणनीति बनाएर अघि बढ्ने निर्णय गरेको हो ।

‘हाम्रो बैंकको साधारणसभाले नै मर्जरमा जान नसक्ने व्यवस्था गरेको छ, त्यसैले हामी एक्विजिसनमा मात्रै जान सक्छौं,’ प्रभु बैंकका एक सञ्चालकले क्लिकमाण्डूसँग भने, ‘आफूभन्दा कमजोर संस्थालाई प्राप्ति गर्ने रणनीति बनाएर जोडी खोज्न लागि परेका छौं ।’

साँझ ४ बजेदेखि ७ बजेसम्म बसेको सञ्चालक समितिको बैठकमा राष्ट्र बैंकलाई आत्मसाथ गर्दै कसरी अघि बढ्न सकिन्छ भनेर छलफल भएको थियो ।

प्रभु बैंकले सिभिल बैंकलाई मर्जरको प्रस्ताव गर्यो, संभावना कति ?

राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले गत असार १२ गते बैंकका अध्यक्ष र सीइओलाई मौद्रिक नीतिअघि नै मर्जर तथा एक्वायरको लिखित प्रतिवद्धता राष्ट्र बैंकमा बुझाउन निर्देशन दिएका थिए ।

त्यसयता प्रभु बैंकको सञ्चालक समितिको बैठक २ पटक बसेको छ । असार १९ गते र असार २३ गते बैंक सञ्चालक समितिको बैठक बसेको हो ।

‘हिँजोको बैठकमा अध्यक्षज्यूले ककसले कुन कुन बैंकसँग एक्वायरका लागि कुराकारी गरिरहनुभएको छ जानकारी दिनुस् भन्नुभयो,’ ती सञ्चालकले भने, ‘हामीले अहिले भइरहेको छलफलको अवगत गरायौं ।’

ती सञ्चालकका अनुसार प्रभु बैंक र मेगा बैंकबीच दुई पटक कुराकानी भएको छ । त्यस्तै, सिभल बैंकलाई छलफल गर्न हामी खुल्ला छौं भन्दै प्रस्ताब गरिएको छ ।

त्यसबाहेक अरु संस्थाहरुसँग यो विषयमा कुराकानी भएको छैन ।

‘साधारणसभाले मर्जरमा जान नसक्ने भनेकाले हामी एग्रेसिभ भएर कुरा गर्न सकिरहेका छैनौं,’ स्रोतले भन्यो, ‘एक्विजिसनमा मात्रै जानसक्ने भएकाले कमजोर संस्था खोजिरहेका छौं ।’

प्रभु बैंकले कस्लाई गाभ्दैछ ? मर्जरको छलफल गर्न सञ्चालक समितिको बैठक बोलायो

सञ्चालक समितिको बैठकले मंगलबार राष्ट्र बैंकमा लिखित प्रतिवद्धता बुझाउने निर्णय गरेको छ । जसअनुसार आज प्रभु बैंकले राष्ट्र बैंकमा हामी एक्वायरमा मात्रै जान सक्छौं । र, त्यसका लागि तयार छौं । जोडी खोजिरहेका छौं भन्ने व्यहोराको पत्र पठाउँदैछ । हालसम्म १६ वटा बैंकले मर्जरको लिखित प्रतिवद्धता राष्ट्र बैंकमा पठाइसकेका छन् ।

१६ वटा वाणिज्य बैंकले राष्ट्र बैंकलाई मर्जरको प्रतिवद्धता बुझाए (सूचिसहित)

बैंकका अध्यक्ष देवीप्रकाश भट्टचनले सञ्चालक तथा सीइओ र उच्च व्यवस्थापकहरु सबैले आआफ्नो स्रोतबाट कुरा गरेर अर्को सञ्चालक समितिको बैठकमा प्रस्ताव गर्न भनेका छन् ।

‘अध्यक्षज्यूले उपयुक्त जोडी खोजेर अर्को बैठकमा प्रस्ताव गर्न भन्नु भएको छ,’ स्रोतले भन्यो, ‘अर्को बैठकमा सञ्चालक र व्यवस्थापकले पहिचान गरेका उपयुक्त संस्थाको विषयमा छलफल गर्ने र त्यसपछि चित्तबुझ्दो संस्थासँग प्रक्रिया अघि बढाइनेछ ।’

अहिलेसम्म बैंकले मर्जर कमिटि पनि गठन गरेको छैन । अर्को बैठकमा सञ्चालक र सीइओ लगायतले ल्याएको प्रस्तावमा छलफल गर्ने अनि मात्रै मर्जर कमिटि गठन गर्ने तयारी भएको ती सञ्चालकले जानकारी दिए ।

‘संभवत मौद्रिक नीतिअघि नै अर्को बोर्ड बैठक बस्छ,’ स्रोतले भन्यो, ‘कुरो मिल्यो भने एक्वायरको एमओयू नै गर्न पनि हामी तयार छौं । तर, अहिलेसम्म आक्रमकरुपमा जोडी खोज्न नलागेकाले मौद्रिक नीतिअघि एमओयू हुने संभावना निकै कम छ ।’

नयाँ पुस्ताका र पूरानै पुस्ताका भएपनि अत्यन्तै कमजोर प्रफरमेन्स गरिरहेका संस्थामा प्रभुले नजर लगाएको छ ।

‘हामी एक्वायर गर्ने भएकाले आफूभन्दा बलियो र आफू सरहको संस्थासँग कुरै गर्दैनौं,’ स्रोतले भन्यो, ‘६÷७ वटा कमजोर भनिएका बैंकसँग मात्रै कुरा गर्छौं ।’

जब प्रभुले पर्ख र हेरको रणनीति बदल्यो

प्रभु बैंक मर्जरका लागि मौद्रिक नीतिसम्म पर्ख र हेरको रणनीति अपनाएर बसेको थियो । राष्ट्र बैंकले बिग मर्जर भनेपनि बजारले त्यसलाई कसरी लिन्छ र राष्ट्र बैंकले मौद्रिक नीतिमा के कस्तो नीतिगत व्यवस्था गर्छ भनेर कुरेर बसेको थियो ।

तर, जब अर्थ मन्त्रालयका जिम्मेवार व्यक्तिहरुले नै बैंकहरु मर्जरमा जानै पर्छ भनेर अभिव्यक्ति दिए । अनि ग्लोबल बैंकले जनता बैंक गाभ्ने सम्झौता भयो तब प्रभुले आफ्नो पर्ख र हेरको रणनीति बदल्दै जोडी खोज्न थालेको हो ।

ग्लोबल र जनता बैंकको मर्जरलाई बजारले अर्थपूर्ण रुपमा हेरेको छ ।

तत्कालीन प्रभु फाइनान्सले किष्ट र ग्राण्ड दुई वाणिज्य बैंकसहित, नेपाल विकास बैंक, जेनिथ फाइनान्स, गौरीशंकर विकास बैंक, वैभव फाइनान्स, समवृद्धि विकास बैंकलाई गाभेर प्रभु बैंकको रुपमा सञ्चालन भइरहेको छ ।

‘विगतको मर्जरमा हामीले ठूलो दुख पायौं, त्यसैले अब मर्जरमा होइन एक्वायरमा मात्रै जाने नीति बनाएका हौं,’ स्रोतले भन्यो ।

प्रभु बैंक व्यावसायिक घराना प्रभु समूहको ठूलो लगानी भएको बैंक हो । प्रभु समूह पछिल्लो समय व्यावसायिक जगतमा उल्लेख्य प्रगति गरेको समूहको हो । बैंकका अध्यक्ष देवी प्रकाश भट्टचन प्रभु समूहका अध्यक्ष हुन् ।

प्रभु समूहले प्रभु बैंक, प्रभु लाइफ र ननलाइफ इन्सोरेन्स, प्रभु रेमिट्यान्स, प्रभु सहकारी, प्रभु पे, प्रभु हेलिकप्टर, प्रभु टिभी लगायत सञ्चालन गरिरहेको छ भने अन्य विभिन्न क्षेत्रमा लगानी गरेको छ ।


पुष्प दुलाल