
काठमाडौं । नेपालको धितोपत्र बजारमा संगठित रूपमा कृत्रिम कारोबार गरी मूल्यमा चलखेल गरेको अभियोगमा नेपाल सरकारले ८१ जना व्यक्ति तथा संस्था विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा १ अर्ब १४ करोड ८ लाख ६९ हजार ९३६ रुपैयाँ ७० पैसा बिगो दाबी गर्दै अभियोग पत्र दर्ता गरेको हो ।
अभियोग पत्रमा इन्फिनिटी होल्डिङ्सका सञ्चालक दीपक भट्ट र सुलभ अग्रवाललाई मुख्य योजनाकारका रूपमा उभ्याइएको छ । त्यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा, सञ्चालक रोहित गुप्ता, व्यवसायीहरू अमित मोर, गोजिन्द सरियासहित विभिन्न बीमा कम्पनी, मर्चेन्ट बैंक र धितोपत्र दलाल कम्पनीका उच्च पदस्थ अधिकारीहरूलाई प्रतिवादी बनाइएको छ । कुल ८१ प्रतिवादीमध्ये धेरैजसो हाल फरार रहेका छन् ।
अनुसन्धानका अनुसार यो समूहले नेपाल पुनर्बीमा कम्पनी, एनएलजी इन्स्योरेन्स र गार्डियन माइक्रो लाइफ लगायतका कम्पनीहरूको सेयर मूल्यमा व्यापक चलखेल गरेको पाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार उनीहरूले चक्रीय कारोबार गरेको, बीमा कम्पनीको रकम दुरुपयोग र प्रविधिमा जालसाजी गरेको आरोप गरेको पाइएको छ ।
सीआईबीले एउटै समूहका व्यक्ति र संस्थाहरूबीच सेयर खरिद–बिक्री गरी बजारमा नक्कली माग देखाउने र मूल्य बढाउने गरेको उल्लेख गरेको छ । यसैगरी हिमालयन रि–इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स लगायतका कम्पनीहरूको करोडौँ रुपैयाँ नियमविपरीत ‘एडभान्स’का रूपमा धितोपत्र दलाल कम्पनी (भृकुटी स्टक ब्रोकिङ) मा पठाएर सुलभ र दीपक भट्टको समूहले आफ्ना व्यक्तिगत खाताबाट सेयर खरिद गर्न प्रयोग गरेको खुलेको छ । साथै विभिन्न ८–१० वटा संस्थाहरूको सेयर कारोबार सुलभ अग्रवाल अध्यक्ष रहेको ‘शौर्य सिमेन्ट’ र ‘जगदम्बा स्टील्स’को एउटै आईपी एड्रेस बाट हुने गरेको प्राविधिक अनुसन्धानले देखाएको छ । यसले यी सबै कारोबार एकै ठाउँबाट नियन्त्रित रहेको प्रहरीको दाबी छ ।
भृकुटी स्टक ब्रोकिङ (ब्रोकर नं. ५५) का सञ्चालक सन्दीप चाचन अग्रवालको समेत मिलेमतोमा यो घोटाला भएको दाबी गरिएको छ । प्रतिवादी शेखर गोल्छा र रोहित गुप्ताले ब्रोकर कम्पनीमा आफ्नो डिम्याट खाता समेत नभएको अवस्थामा जनही ५२ करोड ५० लाख रुपैयाँ ‘अग्रिम रकम’का रूपमा जम्मा गरेको र उक्त रकम अन्य प्रतिवादीहरूको नाममा सेयर खरिद गर्न प्रयोग भएको देखिएको छ ।
सरकारी वकीलले प्रतिवादीहरूलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४ (झुठो कारोबार), दफा ९५ (मूल्यमा उतारचढाव गराएको), दफा ९६ (धितोपत्र बजारलाई प्रभावित पारेको) र दफा ९८ (जालसाजीयुक्त कारोबार) को कसूरमा सजाय माग गरेको छ । बिगोका अतिरिक्त प्रतिवादीहरूलाई ऐनको दफा १०१ बमोजिम जरिवाना र कैद सजायको माग गरिएको छ । साथै, सुलभ अग्रवालको हकमा यसअघि कालोबजारी मुद्दामा सजाय पाइसकेको हुनाले मुलुकी अपराध संहिता बमोजिम थप सजायको मागदाबी समेत गरिएको छ ।









प्रतिक्रिया