अमेरिकी कार्यवाहक राजदूत र सभामुख डीपी अर्यालबीच भेटघाट, के भयो कुराकानी ?

42
Shares

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कटले बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटका क्रममा सभामुख अर्यालले संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न भएपछि नेपाल राजनीतिक यात्राको नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै वर्तमान सरकार स्थिरता, रूपान्तरण, पारदर्शिता, सुशासन तथा संस्थागत सुधारप्रति प्रतिबद्ध रहेको बताए ।

उनले जनताको सुशासन र तीव्र आर्थिक विकासप्रतिको अपेक्षाअनुसार कानुन निर्माण, प्रभावकारी कार्यकारी निगरानी, रचनात्मक संसदीय बहस तथा लोकतान्त्रिक मूल्य-मान्यताको संरक्षणमा प्रतिनिधिसभा दृढतापूर्वक लागिरहेको धारणा राखे ।

सभामुख अर्यालले नेपाल र संयुक्त राज्य अमेरिकाबीच सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता पारस्परिक सम्मान, विकास सहयोग तथा जनस्तरीय सम्बन्धमा आधारित घनिष्ठ र सहयोगात्मक सम्बन्ध कायम रहँदै आएको उल्लेख गरे । उनले दुवै देशले लोकतन्त्र, मानव अधिकार तथा स्वतन्त्रताजस्ता साझा मूल्यलाई सम्मान गर्दै आएको पनि बताए ।

आगामी वर्ष नेपाल–अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको ८०औँ वर्षगाँठ मनाइने सन्दर्भ उल्लेख गर्दै उनले उक्त अवसरले दुई देशबीच आठ दशकदेखि कायम मित्रता, सहकार्य र साझेदारीको समीक्षा गरी भविष्यका सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

सभामुख अर्यालले सो अवसरमा संसदीय भ्रमण आदानप्रदान कार्यक्रम आयोजना गरी दुवै देशका संसद् र जनप्रतिनिधिबीचको सम्बन्ध अझ मजबुत बनाउन सकिने धारणा पनि राखे ।

भेटमा उनले नेपाल–अमेरिका संसदीय मैत्री समूह पुनर्गठनको प्रक्रिया अघि बढिरहेको जानकारी दिँदै अमेरिकी विधायिकामा पनि नेपाल–अमेरिका मैत्री समूह पुनः सक्रिय हुनुपर्ने आवश्यकता औंल्याए । यस्ता समूहहरूले संसदीय सम्बन्ध, व्यापार, लगानी, पर्यटन तथा सांस्कृतिक आदानप्रदान प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

सभामुख अर्यालले अमेरिका नेपालको महत्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्दै सन् १९५० को दशकदेखि नेपालको सामाजिक तथा आर्थिक विकास, संस्थागत सुदृढीकरण तथा मानव पुँजी विकासमा अमेरिकाले पुर्‍याएको योगदानप्रति आभार व्यक्त गरे । उनले आगामी दिनमा पनि नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने र अमेरिकाको सहयोग तथा समर्थन निरन्तर रहने अपेक्षा व्यक्त गरे ।

कार्यवाहक राजदूत स्कटले नेपाल र संयुक्त राज्य अमेरिकाबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धप्रति अमेरिकाको प्रतिबद्धता पुनः व्यक्त गरे । उनले लोकतान्त्रिक मूल्य, सुशासन, आर्थिक विकास तथा जनस्तरीय सम्बन्धलाई थप सुदृढ बनाउन अमेरिका निरन्तर सहकार्य गर्न इच्छुक रहेको बताए ।

नेपाल र संयुक्त राज्य अमेरिकाबीच २५ अप्रिल १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । संयुक्त अधिराज्य बेलायतपछि नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको दोस्रो देश अमेरिका हो । नेपालले फेब्रुअरी १९५८ मा वाशिङ्टन डीसीमा आफ्नो दूतावास स्थापना गरेको थियो भने अमेरिकाले अगस्ट १९५९ मा काठमाडौंमा आफ्नो दूतावास स्थापना गरेको थियो ।