इप्पान निर्वाचन: उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, वरिष्ठ उपाध्यक्षमा भ्लोन र खतिवडा भिड्दै

91
Shares

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को २४औं वार्षिक साधारणसभाको अवसरमा हुने नयाँ कार्यसमिति निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिएको छ । निर्वाचन समितिले उम्मेदवारहरूमाथि परेको दाबी विरोध र छानबिनपछि बिहीबार (जेठ २८ गते) अन्तिम सूची सार्वजनिक गरेको हो ।

सार्वजनिक नामावलीअनुसार संस्थाको विभिन्न पदहरूमा तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । जेठ २९ गते हेरिटेज प्लाजा, कमलादीमा हुने साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ ।

संस्थाको वरिष्ठ उपाध्यक्ष पदका लागि उत्तम भ्लोन (सिद्धिभ्यु होल्डिङ्स) र बलराम खतिवडा (बराह मल्टिपावर) बीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । त्यसैगरी, ५ जना उपाध्यक्षका लागि ७ जनाको उम्मेदवारी कायम भएको छ । उपाध्यक्षका उम्मेदवारहरूमा उत्तर कुमार श्रेष्ठ, नरेन्द्र बल्लभ पन्त, विक्रम विष्ट, भरत प्रसाद नेपाल, भरत बहादुर खत्री, सुसन कर्माचार्य र हिम प्रसाद पाठक रहेका छन् ।

१ जना महासचिवका लागि टेकनाथ आचार्य र प्रकाश चन्द्र दुलाल मैदानमा उत्रिएका छन् । उप-महासचिव पदका लागि भने कविता पोखरेलको मात्र उम्मेदवारी देखिएको छ । उनी सर्वसम्मत उपमहासचिव बनेकी हुन् ।

५ जना सचिवका लागि अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुबेर मणि नेपाल, विजय मोहन भट्टराई र सुमन कुमारी जोशीको उम्मेदवारी कायम भएको छ । यस्तै, १ जना कोषाध्यक्ष पदका लागि मिथुन चक्रवर्ती प्रसाद पौडेल र शंकर बस्यालबीच प्रतिस्पर्धा हुनेछ ।

खुला कार्यसमिति सदस्य (७ जनाका लागि) १४ जनाले उम्मेदवारी दिएका छन् । सदस्यका उम्मेदवारहरूमा अनुप आचार्य, इन्दिरा पन्त, कदम के.सी., जगदिश सिवाकोटी, जगत बहादुर पोखरेल, नारायण कंडेल, प्रदिप ओली, डा. भूषण गुरागाईं, मिलन खड्का, वर्णन लामिछाने, बाबुराम थापा, सकुन्द ओझा, सन्तोषराज नेपाल र सोमनाथ कँडेल रहेका छन् । महिला सदस्यतर्फ ३ जनाको सिटका लागि ज्योति गैरे, प्रतिमा ज्ञवाली, संगिता धमला र सिर्जना खड्का गरी ४ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन समितिले जेठ २९ गते बिहानदेखि मतदान प्रक्रिया सुरु हुने र सोही दिन नयाँ कार्यसमितिको घोषणा गरिने जनाएको छ ।