
काठमाडौं । धितोपत्र बजारमा संगठित रूपमा किर्ते कारोबार गर्ने ११ कम्पनीसहित ८१ जना विरुद्ध मुद्दा दायर भएको छ । ११ कम्पनीसहित ८१ जना मिलेर सर्कुलर ट्रेडिङ र बजार चलखेल गरी १ अर्ब १४ करोड रुपैयाँको घोटाला गरेको अभियोगमा बिहीबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
जिल्ला सरकारी वकील कार्यालयले प्रतिष्ठित व्यवसायीहरू शेखर गोल्छा, सुलभ अग्रवाल, दीपक भट्टसहित ८१ जनालाई प्रतिवादी बनाउँदै अभियोग पत्र दर्ता गरेको हो ।
अभियोग पत्रका अनुसार प्रतिवादीहरूले विभिन्न बीमा कम्पनी र लगानी कोषको रकम दुरुपयोग गरी धितोपत्र बजारमा अस्वभाविक उतारचढाव ल्याएका थिए । यसबाट विभिन्न ११ वटा संस्थाहरूलाई १ अर्ब १४ करोड ८ लाख ६९ हजार ९३६ रुपैयाँ ७० पैसा बराबरको हानी नोक्सानी पुर्याएको भन्दै सोही बराबरको बिगो (क्षतिपूर्ति) भराउन माग गरिएको छ ।
प्रतिवादीहरूलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को विभिन्न दफाहरू अन्तर्गत सजाय गर्न माग गरिएको छ । ऐनको दफा ९४, ९५ र ९६ को कसूरमा (झुठो कारोबार र मूल्यमा उतारचढाव): दफा १०१ (२) बमोजिम ५० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना वा १ वर्षसम्म कैद वा दुवै सजायको माग भएको छ ।
दफा ९८ को कसूरमा (जालसाजीयुक्त कारोबार)मा दफा १०१ (३) बमोजिम १ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिवाना वा २ वर्षसम्म कैद वा दुवै सजायको माग भएको छ ।
थप सजाय (सुलभ अग्रवालको हकमा) पनि प्रतिवादी सुलभ अग्रवाल यसअघि पनि ‘कालोबजारी’ मुद्दामा सजाय पाइसकेको व्यक्ति भएकोले मुलुकी अपराध संहिता, २०७४ को दफा ४४ (२) बमोजिम कसूर दोहोर्याएकोमा थप सजाय गर्न समेत माग गरिएको छ ।
अभियोग पत्रका अनुसार प्रतिवादीहरूले भृकुटी स्टक ब्रोकिङ (ब्रोकर नं. ५५) मार्फत मिलेमतोमा ‘सर्कुलर ट्रेडिङ’ गरेका थिए । सुलभ अग्रवाल अध्यक्ष रहेको शौर्य सिमेन्टको एउटै आईपी एड्रेस प्रयोग गरी विभिन्न कम्पनी र व्यक्तिको नाममा शेयर खरिद-बिक्री गरिएको प्राविधिक प्रतिवेदनले देखाएको छ ।
पुनर्बीमा कम्पनीको शेयर मूल्यमा अस्वाभाविक वृद्धि गराई सर्वसाधारण लगानीकर्तालाई ठग्ने र संस्थागत रकम दुरुपयोग गर्ने काम भएको दाबी गरिएको छ ।
यो मुद्दामा दीपक भट्ट, शेखर गोल्छा, सुलभ अग्रवाल, रोहित गुप्ता, अमित मोर, ऋधिराज मोर, सन्दिप चाचन अग्रवाल लगायतका उच्च पदस्थ व्यक्तिहरू फरार वा अनुपस्थित रहेको भन्दै म्याद जारी गर्न समेत अदालतसँग अनुरोध गरिएको छ ।
कुन संस्थालाई कति नोक्सानी (बिगो दाबी रु.मा)?
१. हिमालयन रि-इन्स्योरेन्स लि.: ७२ करोड १४ लाख
२.हिमालयन लाईफ इन्स्योरेन्स लार्ज क्याप फण्ड: २१ करोड ४० लाख
३. नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी: ४ करोड ६२ लाख
४. क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स: ४ करोड ११ लाख
५. हिमालयन लाइफ इन्स्योरेन्स: ४ करोड ५० लाख
६. गार्जियन माइक्रो लाइफ इन्स्योरेन्स: २ करोड ७८ लाख
७. प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स: १ करोड ७७ लाख
८. लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स: ९९ लाख
९. हिमालयन इन्भेष्टमेन्ट बैंकर लि.: ८५ लाख
१०. हिमालयन सेक्युरिटिज बैंकर लि.: ५० लाख
११. हिमालयन क्यापसर्भ लि.: ३८ लाख









प्रतिक्रिया