प्रभु बैंकले कस्लाई गाभ्दैछ ? मर्जरको छलफल गर्न सञ्चालक समितिको बैठक बोलायो



काठमाडौं । राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई एकआपसमा मर्ज हुन निर्देशन दिँदै मौद्रिक नीतिअघि प्रतिवद्धता बुझाउन निर्देशन दिएपछि प्रभु बैंकले यस विषयमा छलफल गर्न बैठक बोलाएको छ ।

लभ पार्न धमाधम बैंक सञ्चालक समितिको बैठक, आँखा जुध्यो तर डेटिङ भा’छैन: बैंकर

‘राष्ट्र बैंकले वाणिज्य बैंकहरुबीच मर्ज गर्न निर्देशन दिएपछि त्यस विषयमा छलफल गर्न हाम्रो बैैंकको सञ्चालक समितिको बैठक बस्दैछ,’ प्रभु बैंकका अध्यक्ष देवीप्रकाश भट्टचनले क्लिकमाण्डूसँग भने, ‘असार १९ गते बिहीबार साढे ४ बजे हाम्रो सञ्चालक समितिको बैठक बस्दैछ, त्यसपछि कस्तो रणनीति अख्तियार गर्ने भन्ने टुंगो लाग्छ ।’

प्रभु बैंक अरु कुनै बैंकसँग गाभिएर बिलय हुने पक्षमा नरहेको उनको भनाई थियो ।

‘मर्जरमै जानु पर्यो भने हामी अरु बैंक गाभ्छौं,’ भट्टचनले भने ।

तर, प्रभुले यसअघि नै २ वटा वाणिज्य बैंक गाभिसकेको उदाहारण दिँदै उनले आफूहरु राष्ट्र बैंकको नीति मान्न तयार रहेको बताए ।

‘हामीले पहिल्यै बिग मर्जर गरिसकेकाका छौं,’ उनले भने, ‘यसअघि बिग मर्जर गरिसकेकाले फेरि गर्नुपर्ने हो वा होइन, त्यो क्लियर भइसकेको छैन ।’

प्रभुको साधारणसभाले कुनै बैंक तथा वित्तीय संस्थालाई आफूमा गाभ्न सक्ने तर अन्य बैंक तथा वित्तीय संस्थामा आफू गाभिन नजाने निर्णय गरिसकेको उनले जानकरी दिए ।

‘भोलिको बैठकमा सीइओ र सञ्चालकज्यूहरुले मर्जरका बारेमा कसैसँग कुरा भएको÷नभएको बारे जानकारी गराउनुहुने छ,’ भट्टचनले भने, ‘त्यसपछि कसरी अघि बढ्ने भन्ने रणनीति तयार पार्छौ ।’

मर्जरको जोडी खोज्न बैंकले मर्जर कमिटि गठन गरेको र उक्त कमिटिले काम गरिरहेको उनले जानकारी दिए ।

‘हामी परिस्थिति हेरेर अघि बढ्छौं,’ उनले भने ।

तत्काली प्रभु फाइनान्स किष्ट बैंक, ग्राण्ड बैंक, नेपाल विकास बैंक, जेनिथ फाइनान्स, गौरीशंकर विकास बैंक, वैभव फाइनान्स, समवृद्धि विकास बैंकलाई गाभेर प्रभु बैंकको रुपमा सञ्चालन भइरहेको छ ।

पछिल्लो सयम व्यवसायमा उल्लेख्य प्रगति गरेको प्रभु समूहको लगानी रहेको यो बैंक अरु संस्थाहरुलाई गाभेर अझै ठूलो बन्ने रणनीतिका साथ अघि बढेको छ । प्रभु बैंकका अध्यक्ष भट्टचन प्रभु समूहका पनि अध्यक्ष हुन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले मर्जरका लागि कुनैपनि संस्थासँग छलफल नगरेको बताए ।

‘सञ्चालक समितिको बैठक बसेपछि मात्रै कसरी अघि बढ्ने भन्ने रणनीति तयार हुन्छ । र, त्यसैअनुसार अघि बढ्छौं,’ शेरचनले क्लिकमाण्डूसँग भने, ‘त्यसैले अहिलेसम्म गाभ्ने र गाभिने विषयमा छलफल भएको मेरो जानकारीमा छैन ।’


पुष्प दुलाल