लभ पार्न धमाधम बैंक सञ्चालक समितिको बैठक, आँखा जुध्यो तर डेटिङ भा’छैन: बैंकर
काठमाडौं । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले बैंकहरुलाई मौद्रिक नीतिअघि नै ‘लभ’ गर्न निर्देशन दिएपछि बैंकहरु जोडी खोज्न तातेका छन् ।
मौद्रिक नीतिपछि बिहे (मर्जर) गर्नुपर्ने भन्दै गभर्नर डा. नेपालले त्यसअघि नै जोडी खोजेर लभ गर्न निर्देशन दिएका थिए ।
गत असार १२ गते राष्ट्र बैंकले बैंकका अध्यक्ष र सीइओलाई बोलाएर मौद्रिक नीति आउनुभन्दा अघि नै कुन बैंक कोसँग मर्जर तथा एक्वायरमा जाने हो त्यसको लिखित प्रतिवद्धता राष्ट्र बैंकमा बुझाउन निर्देशन दिइसकेको छ । राष्ट्र बैंकले असार २७ गते आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति सार्वजानिक गर्दैछ ।
राष्ट्र बैंकले यस्तो निर्देशन दिएपछि बैंकका अध्यक्ष, सञ्चालक, ठूला लगानीकर्ता र सीइओहरु मर्जर तथा एक्वायरका लागि जोडी खोज्न कम्मर कसेर लागेका छन् ।
लभ पार्ने जोडी भेटियो त ? भन्ने प्रश्नमा बैंकका सीइओ तथा सञ्चालकहरु भन्छन्, ‘नजर जुधिसकेको छ, आँखा पनि झिम्क्याइसकेका छौं, तर अझैसम्म डेटिङ जाने वातावरण मिलेको छैन ।’
समय छोटो भएकोले आखाँ जुधे पनि डेटिङ जान नपाएको बैंकरहरु बताउँछन् । यसको लागि राष्ट्र बैंकले समय थप गरिदिए हुन्थ्यो भन्ने उनीहरुको चाहना छ ।
बैंकका अध्यक्ष र सीइओले सञ्चालक समितिको बैठक बोलाएर राष्ट्र बैंकले गत असार १२ गते दिएको निर्देशनको ब्रिफिङ गरिरहेका छन् । र, अब कसरी अघि बढ्ने भन्ने रणनीति तयार गर्नमा व्यस्त छन् ।
असार मसान्तमा रिकोभरी, नयाँ योजना बनाउनुपर्ने बेलामा बैंकरहरु जोडी खोज्नमै व्यस्त देखिन्छन् ।
मर्जर सम्बन्धी राष्ट्र बैंकको निर्देशनको विषयलाई लिएर असार १५ र १६ गते नविल बैंकको सञ्चालक समितिको बैठक बसेको छ ।
‘राष्ट्र बैंकको निर्देशन आएपछि कसरी अघि बढ्ने भनेर दुई दिन हाम्रो सञ्चालक समितिको बैठक बस्यो,’ बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले क्लिकमाण्डूसँग भने ।
त्यसैगरी, ग्लोबल आइएमइ बैंकको पनि मर्जरको विषयलाई लिएर सञ्चालक समितिको बैठक बसिसकेको छ ।
‘मर्जर लगायतका विविध एजेण्डालाई लिएर सञ्चालक समितिको बैठक बसिसकेको छ,’ ग्लोबल बैंकका अध्यक्ष चन्द्र ढकालले क्लिकमाण्डूसँग भने, ‘हामी त पहिलेदेखि नै मर्जरको कमिटि बनाएर निरन्तर छलफल गरिरहेका थियौं ।’
आफूहरु सँधै मर्जरको पक्षमा रहेको ढकालले बताए ।
प्रभु बैंकका अध्यक्ष देवी प्रकाश भट्टचन आफूहरु सँधै मर्जरको पक्षमा रहेको बताए ।
‘हामीले त यसअघि नै २ वटा वाणिज्य बैंक, केही विकास बैंक र फाइनान्स कम्पनी मर्ज गरिसकेका छौं,’ भट्टचनले क्लिकमाण्डूसँग भने ।
जनता बैंकका सञ्चालक तथा मर्जर कमिटिका संयोजक सञ्जीब न्यौपाने आँखा झिम्क्याइसकेको तर डेटिङ गइ नसकेको बताउँछन् ।
‘हामीले मर्जरका लागि छलफल गरिरहेका छौं, राष्ट्र बैंकको मर्म र भावना बुझेर तोकिएको समयमै कमिटमेन्ट बुझाउने तयारी गरिरहेका छौं,’ न्यौपानेले क्लिकमाण्डूसँग भने ।
जनता बैंकले मर्जरका लागि २ वटा रणनीति बनाएको उनले सुनाए । पहिलो सकेसम्म अरुलाई गाभेर आफैं नेतृत्व गर्ने, दोस्रो राम्रो संस्था पाए आफू गाभिन जाने न्यौपानेको भनाई छ ।
‘मर्जर लगायतका विषयलाई लिएर सञ्चालक समितिमा छलफल भइसकेको छ,’ उनले भने ।
सिभिल बैंकको सञ्चालक समितिले भने जोडी खोज्ने जिम्मा सीइओ गोविन्द गुरुङलाई दिएको छ ।
‘हाम्रो बैंकको सञ्चालक समितिको बैठक १५ गते बसेको थियो, मर्जरको विषयमा कसरी अघि बढ्ने भन्ने छलफल भएको छ, राष्ट्र बैंकको निर्देशनलाई पालना गर्नका लागि तीब्ररुपमा जोडी खोजिरहेका छौं,’ सीइओ गुरुङले भने, ‘सकेसम्म मौद्रिक नीतिअघि नै कमिटमेन्ट पठाउने तयारीमा छौं ।’
त्यसैगरी, राष्ट्र बैंकले निर्देशन दिएको भोलिपल्टै अर्थात् असार १३ गते माछापुच्छ्रे बैंकको सञ्चालक समितिको बैठक बसेर यस विषयमा छलफल भएको बैंकका डेपुटी सीइओ सन्तोष कोइरालाले जानकारी दिए ।
‘मर्जरका लागि उपयुक्त जोडी खोजिरहेका छौं,’ कोइरालाले क्लिकमाण्डूसँग भने ।
सेञ्चुरी बैंकले मर्जरको विषयमा आज (सोमबार) सञ्चालक समितिको बैठक बसेर छलफल गरेको छ । यो बैंक पनि सकेसम्म मौद्रिक नीति अघि नै जोडी खोजेर प्रतिवद्धता बुझाउने तीब्र तयारीमा छ ।
लक्ष्मी बैंकका सीइओ अजय बिक्रम शाहका अनुसार एक/दुई दिनमै सञ्चालक समितिको बैठक बसेर यस विषयमा औपचारिक छलफल गर्ने जानकारी दिए । तर, अनौपचारिक छलफल भने भइरहेको बताए ।
एनसीसी बैंकको सञ्चालक समितिको बैठकले मर्जरमा जोडी खोज्नका लागि उपसमिति गठन गर्ने निर्णय गरेपछि बैंकले मर्जर उपसमिति गठन गरिसकेको छ ।
त्यस्तै, मर्जर लगायतका विषयलाई लिएर एनएमबि बैंकको सञ्चालक समितिको बैठक असार १४ गते बसिसकेको बैंकका सीइओ सुनिल केसीले जानकारी दिए ।
‘हामी मर्जरको अभियानमै छौं, यसबीचमा राष्ट्र बैंकले वाणिज्य बैंकहरु बीचको मर्जरलाई प्राथमिकता दिएको छ, हामी सोही अ नुरुप उपयुक्त जोडी खोजिरहेका छौं,’ केसीले क्लिकमाण्डूसँग भने ।
प्राइम बैंकका सीइओ नारायणदास मानन्धर मर्जरको विषयमा छलफल गर्नका लागि सञ्चालक समितिको बैठकमा अनौपचारिक र औपचारिकरुपमा छलफल भइरहेको छ ।
‘हामी मर्जरकै अभियानमा छौं, सञ्चालक समितिमा छलफल भइरहेको छ, उपयुक्त जोडी भेटिनेवित्तिकै मर्जर गरिहाल्छौं,’ सीइओ मानन्धरले क्लिकमाण्डूसँग भने, ‘केही वाणिज्य बैंकसँग कुराकानी भइरहेको छ, चाँडै टुंगोमा पुर्याउँछौं ।’
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले मर्जरका विषयमा सञ्चालक समितिमा छलफल भइरहेको जानकारी दिए ।
प्राइम बैंकका सञ्चालक तथा मर्जर कमिटिका संयोजक गजेन्द्र बिष्टका अनुसार बैंकले एक वर्ष अघिदेखि नै मर्जरको छलफललाई तीब्र गतिमा अघि बढाएको छ ।
‘राष्ट्र बैंकले तोेकेको समयभित्र कमिटमेन्ट बुझाउने तयारीका साथ हामी तीब्र छलफलमा छौं,’ विष्टले क्लिकमाण्डूसँग भने ।
त्यसैगरी, सिटिजन्स बैंकले पनि सञ्चालक समितिको बैठक बसेर मर्जरका विषयमा छलफल गरिरहेको छ । बैंकका डेपुटी सीइओ बोधराज देवकोटाका अनुसार मर्जरका विषयमा नियमितरुपमा छलफल भइरकेको छ ।
‘छलफल भइरहेको छ, जोडी खोजिरहेका छौं, टुंगो लागिसकेको छैन,’ देवकोटाले क्लिकमाण्डूसँग भने, ‘तोकिएको समयमै राष्ट्र बैंकसमक्ष बैंकको धारणा बुझाउँछौं ।’
मेगा बैंकका सञ्चालक गोपाल खनालका अनुसार नियमितरुपमा सञ्चालक समितिको बैठक बसेर मर्जरका विषयमा छलफल भइरहेको छ ।
यसैबीच वाणिज्य बैंकका सीइओहरुको संगठन नेपाल बैंकर्स संघले आसार १७ गते मंगलबार बिहान साढे ९ बजे राष्ट्र बैंकको मर्जरका लागि दिएको निर्देशनका विषयमा संघको पूर्ण बैठक बोलाएको छ ।
बैठकले मर्जरमा जानका लागि राष्ट्र बैंकसँग विभिन्न सुविधा तथा सहुलियत दिनुपर्ने निष्कर्श निकाल्दै मागपत्र बुझाउने तयारी भइरहेको एक पदाधिकारीले बताए ।