‘भाग्यशाली’ निलो जर्सी लगाएर मैदानमा उत्रिँदै अर्जेन्टिना, इंग्ल्यान्डसँगको दुस्मनी फेरि जीवन्त

126
Shares

एजेन्सी । सन् २०२६ फिफा विश्वकपको सेमिफाइनलमा बुधबार एटलान्टाको मर्सिडिज-बेन्ज स्टेडियममा हुने अर्जेन्टिना र इंग्ल्यान्डबीचको खेलमा अर्जेन्टिनाले आफ्नो प्रसिद्ध नेभी ब्लू (गाढा नीलो) एवे जर्सी लगाउने भएको छ । इंग्ल्यान्ड भने आफ्नो परम्परागत सेतो होम किटमा मैदानमा उत्रिनेछ ।

किन नीलो जर्सी नै ?

खेल नियमअनुसार सेमिफाइनलमा अर्जेन्टिना ‘टिम बी’ तोकिएकाले उनीहरू यसै पनि नीलो जर्सी लगाउने पालोमा थिए, तर एएफए (अर्जेन्टिना फुटबल संघ) ले कुनै शंकाको ठाउँ नराख्न फिफासमक्ष औपचारिक रूपमा नीलो जर्सी नै लगाउन अनुरोध गरेको थियो । यस पटकको खेलसँगै विश्वकपको इतिहासमा दुई टिमबीचको छैटौं भिडन्तमा अर्जेन्टिनाले चार पटक नीलो जर्सी लगाएको हुनेछ ।

यो निर्णयको पछाडि खेल नियमभन्दा बढी अन्धविश्वास जोडिएको छ। यही नीलो जर्सीले अर्जेन्टिनालाई इंग्ल्यान्डविरुद्ध इतिहासका सबैभन्दा सम्झनायोग्य दुई जीत दिलाएको थियो -१९८६ को क्वार्टरफाइनल र १९९८ को लास्ट-१६।

तर यो जर्सी सधैं भाग्यशाली रहेको भने होइन । सन् २००५ को एउटा मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले यही नीलो जर्सीमा २-१ को अग्रता लिएर पनि इंग्ल्यान्डसँग ३-२ ले हार बेहोरेको थियो, जहाँ माइकल ओवेनले अन्तिम मिनेटहरूमा गोल गरी खेल पल्टाइदिएका थिए।

१९८६: ‘ह्यान्ड अफ गड’ र ‘गोल अफ द सेन्चुरी’

अर्जेन्टिना-इंग्ल्यान्ड फुटबल दुस्मनीको जरा १९६६ को विश्वकपसम्म पुग्छ । जब वेम्बलीमा भएको क्वार्टरफाइनलमा अर्जेन्टिनाका कप्तान एन्टोनियो राटिनलाई रातो कार्ड देखाइएको थियो र इंग्ल्यान्डका प्रशिक्षक आल्फ रामसेले अर्जेन्टिना खेलाडीहरूलाई ‘जनावर’ भनेर वर्णन गरेका थिए, जसले अर्जेन्टिनामा ठूलो आक्रोश निम्त्याएको थियो।

तर यो दुस्मनी साँच्चै विस्फोट भएको सन् १९८६ मा हो- त्यो पनि फकल्यान्ड युद्धको चार वर्षपछि । सन् १९८२ मा अर्जेन्टिना र बेलायतबीच फकल्यान्ड टापुहरूको स्वामित्वलाई लिएर भएको युद्धमा अर्जेन्टिनाले हार बेहोरेको थियो र यसले दुई देशबीचको सम्बन्धमा गहिरो घाउ छोडेको थियो ।

मेक्सिकोको एस्टाडियो अज्टेकामा भएको क्वार्टरफाइनलमा डिएगो माराडोनाले हातले बल छोएर गोल गरे, जुन पछि ‘ह्यान्ड अफ गड’ नामले परिचित भयो । रेफ्रीले माराडोनाको हातको प्रयोग नदेखेकाले गोल मान्य भयो । त्यसको केही मिनेटपछि माराडोनाले पाँच इंग्लिस खेलाडी र गोलकिपरलाई छल्दै एक्लै दौडेर गरेको दोस्रो गोल ‘गोल अफ द सेन्चुरी’ का नामले फुटबल इतिहासकै उत्कृष्ट गोलहरूमध्ये एक मानिन्छ । अर्जेन्टिनाले उक्त खेल २-१ ले जितेको थियो।

माराडोनाले पछि एउटा वृत्तचित्रमा यो गोललाई फकल्यान्ड युद्धको ‘प्रतीकात्मक बदला’ भनेका थिए । धेरै अर्जेन्टिनावासीका लागि उक्त जीत विश्वकप जित्नुभन्दा पनि ठूलो थियो, इंग्ल्यान्डलाई हराउनु नै वास्तविक लक्ष्य थियो।

१९९८ र त्यसपछि

बाह्र वर्षपछि फ्रान्समा भएको १९९८ विश्वकपको लास्ट-१६ मा दुस्मनी फेरि उर्लियो । माइकल ओवेनको एक्लो गोल र भियार जभिएर जानेतिको फ्रिकिकबाट बराबरी पछि खेल २-२ मा अडियो। यसै खेलमा डेभिड बेकहमले डिएगो सिमियोनेलाई लात हानेको आरोपमा रातो कार्ड पाएका थिए, जुन घटना उनको क्यारियरकै सबैभन्दा विवादित पलहरूमध्ये एक बन्यो। खेल अन्ततः पेनाल्टी शुटआउटमा गएर अर्जेन्टिनाले जितेको थियो।

सन् २००२ मा जापानमा भएको भिडन्तमा भने दुवै टिमले आ-आफ्नो सामान्य जर्सी साटेर खेलेका थिए, जहाँ बेकहमकै पेनाल्टी गोलले इंग्ल्यान्डलाई १-० को जीत दिलाएको थियो।

समग्रमा आधिकारिक खेलहरूमा इंग्ल्यान्डको पल्ला भारी छ । ६ जीत विरुद्ध अर्जेन्टिनाका दुई जीत, र पाँच खेल बराबरीमा टुंगिएका छन् (जसमध्ये एउटा बराबरी अर्जेन्टिनाले पेनाल्टी शुटआउटबाट जितेको थियो)।

अहिलेको खेल

बुधबारको सेमिफाइनलमा लियोनेल मेसीको नेतृत्वमा गत च्याम्पियन अर्जेन्टिना अतिरिक्त समयमा स्विट्जरल्यान्डलाई ३-१ ले हराएर आएको छ, जबकि इंग्ल्यान्डले अतिरिक्त समयमै नर्वेलाई २-१ ले पराजित गरेर सेमिफाइनल पुगेको हो । यो पहिलो पटक हो जब चालीस वर्षपछि दुई टिम विश्वकपको क्वार्टरफाइनल वा त्यसभन्दा माथिको चरणमा आमनेसामने भएका छन्।

अर्जेन्टिना समर्थकहरूमाझ हालसालै लोकप्रिय भएको गीत ‘ला कुआर्ता एस्ट्रेया’ (चौथो तारा) मा ‘फकल्यान्डका लागि, डिएगोका लागि, लियोको अन्तिम खेलका लागि’ भन्ने पंक्तिहरू छन्, जसले यो खेल अझै पनि फुटबलभन्दा बाहिरको भावनासँग जोडिएको देखाउँछ।

खेल नेपाली समय अनुसार बिहीबार विहान १२:४५ बजे हुने छर विजेता टिमले फाइनलमा प्रवेश पाउनेछ।

Skip This