सरकारका प्रवक्तालाई प्रश्न: मिडिया हाउसअघि गाडी पार्किङमा तपाईंहरूको संलग्नता छ ?

147
Shares

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री सस्मित पोखरेलले पछिल्लो समय मिडिया हाउस र नेताहरूको निवास अगाडि देखिएको ‘गाडी पार्किङ’ र त्यसले निम्त्याएको अन्योलबारे सरकारको धारणा प्रष्ट पारेका छन् ।

मंगलबार मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता पोखरेलले यस प्रकरणमा सरकारको कुनै संलग्नता नरहेको र कानुन मिच्ने जोसुकै भए पनि कारबाहीको दायरामा आउने बताए ।

पत्रकारहरूले विभिन्न मिडिया हाउस र राजनीतिक दलका नेताहरूको घरअगाडि अव्यवस्थित रूपमा गाडीहरू पार्किङ गरिएको, शुल्क र जरिवाना नतिरी ‘गाडी आतंक’ सिर्जना गरिएको र यसमा सरकारकै मिलेमतो रहेको आशंकाबारे प्रश्न गरेका थिए ।

‘सरकारले नै यस्तो कार्य गरेको भए नेपाल प्रहरीले यसरी खोजी गर्ने थिएन । नेपाल प्रहरी गृह मन्त्रालयकै मातहतमा छ। प्रहरीले यस घटनामा को-को संलग्न छन् भन्नेबारे सक्रियताका साथ खोजतलास गरिरहेको छ, ‘जवाफमा प्रवक्ता पोखरेलले भने, ‘जुनसुकै पार्टीको व्यक्ति भए पनि यदि उहाँहरूले नियमविपरीत यस्तो कार्य गर्नुभएको छ भने कानुन बमोजिम जे सजाय हुनुपर्ने हो, त्यो अवश्य हुन्छ।’

Skip This