ल्हेन्दे बाढीले बगाएको पुल चीनले बन‍ाएपछि ५ महिनामा रसुवा नाका खुल्यो, आज ४८ कन्टेनर भित्रिँदै

77
Shares

काठमाडौं । बाढी पहिरोको कारण बन्द भएको नेपाल चीनस्थित रसुवा नाका पाँच महिनापछि आजबाट औपचारिक रुपमा सञ्चालनमा आउन लागेको छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले आजबाट रसुवा नाका औपचारिक रुपमा सञ्चालनमा आएको जानकारी दिए । उनका अनुसार आज मालसामान लोड गर्न केही थान कन्टेनर केरुङ नाकातर्फ गएको जानकारी दिए।

‘आजदेखि चीनबाट मालसामानहरु भित्र्याउने गरी रसुवा नाका खुलेको छ,’ प्रमुख जिल्ला अधिकारी पन्थीले क्लिकमान्डुसँग भने, ‘पक्की पुल निर्माण नहुँदासम्म अहिले तत्कालको लागि कन्टेनरहरु बान वे मात्रै सञ्चालन हुनेछन् । उताबाट मालसामान बोकेर आएको कन्टेनर रसुवा भित्रिएपछि रसुवातर्फबाट केरुङतर्फ कन्टेनरहरु पठाउने व्यवस्था मिलाएका छौं ।’

प्रमुख जिल्ला अधिकारी पन्थीले नाका सञ्चालनका लागि चीन सरकारले ९१ मिटर लम्बाइको बेलिब्रिज निर्माण गरेपश्चात् सवारीसाधन सञ्चालनमा आएका जानकारी दिए ।

उनका अनुसार पुलको भारवहन क्षमता ५५ टन बराबर रहेको छ। केरूङ नाका खुलेपश्चात् चिनियाँ सामान आयातका लागि आठ वटा नेपाली कन्टेनर मितेरी पुल पार गरी केरूङतर्फ प्रस्थान गरेको छ।

जिल्ला प्रशासन कार्यालय रसुवाले गत आइतबार नै सार्वजनिक सूचना प्रकाशित गरी चिनियाँ सरकारको द्विपक्षीय सहयोगमा बेलीब्रीजको निर्माण सम्पन्न भएर भारवहन क्षमतालगायतको प्राविधिक परीक्षणपश्चात् आजबाट उक्त नाका सञ्चालन हुने जानकारी दिएको थियो ।

असार २४ गते बिहान तिब्बतको ल्हेन्दे खोलामा आएको ठूलो बाढीका कारण रसुवा नाका र चीन जोड्ने सम्पर्क मार्ग र मितेरी पक्की पुल बगाएर बाटो पूर्ण रुपमा अवरुद्ध बनेको थियो ।

यस्तै निर्माणको अन्तिम चरणमा पुगेको सुक्खा बन्दरगाहसमेत पूर्ण रुपमा क्षतिग्रस्त बनेको थियो ।

त्यस लगत्तै साउन १४ गते पुनः ल्हेन्दे र केरुङ खोलामा आएको बाढीका कारण दुवैतर्फको बाटोमा थप क्षति पुर्याएको थियो ।

बाढी पहिरोका कारण रसुवातर्फ टिमुरे भन्सारदेखि कोप्लाङसम्मको १६ किलोमिटर सडक खण्डसमेत बगाएर क्षतिग्रस्त बनाउँदा सर्वसाधारणसहित सवारी साधनलाई ओहोर दोहोर गर्न कठिनाइ भएको थियो । हालसम्म उक्त खण्ड पुनः निर्माण गर्न नेपाल सरकारले चासो नदेखाएको व्यवसायीहरुले गुनासो पोखेका छन् ।

सडक विभागले सडक सञ्चालनमा ल्याउन कटान क्षेत्रमा नयाँ ट्रयाक खोल्न सुरु गरेको छ । ट्रयाक खोल्ने क्रममा विभागको एक्साभेटर समेत पहिरोमा परेको थियो । कटान भएको तातोपानी र टिमुरेमा नयाँ ट्रयाक खोल्ने कार्यलाई गति दिइएको विभागले जनाएको छ ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका सदस्य जितेन्द्र दाहालका अनुसार गत मंगलबारदेखि रसुवा प्रशासनले सर्वसाधारणको लागि रसुवा नाका खुला गरे पनि मालसामान ल्याउने र पठाउने प्रक्रिया भने आजबाट सुरु भएको छ ।

उनका अनुसार गत असारको बाढी पहिरोका कारण बाटो अबरुद्ध भएपछि सामान लोड भएका करिब ८ सय कन्टेनर चीनमा अलपत्र परेका थिए । त्यसमध्ये करिब ५ सय कन्टेनर री-रुट गरी मुस्ताङको कोरला र केहि तातोपानी नाकाबाट भित्र्याइएको थियो ।

बाँकी रहेका तीन सय कन्टेनरमध्ये ४८ वटा कन्टेनरमा मालसामान पुनः लोड गरी चिनियाँ अधिकारीले बुधबार सील लगाइसकेका छन् । सील लागेको ४८ कन्टेनरसहितको मालसामान आज रसुवा भन्सारमा भित्रिन लागेको दाहालले जानकारी दिए ।

ति ४८ कन्टेनरमा रेडिमेड कपडा, मोटर तथा कम्प्युटर पार्टससहित अन्य दैनिक उपभोग्य वस्तुहरु रहेका छन् । उनका अनुसार अहिले आउन लागेको ७५ प्रतिशत कन्टेनर पुरानै मालसामानको हो । ईभी सवारी साधन, फलफूल भने तातोपानी र कोरला नाकाबाट आयात भइरहेका छन् ।

चीनको ल्हासास्थित महावाणिज्यदूत लक्ष्मी निरौलाका अनुसार बाढी पहिरोले मितेरी पुल बनाएपछि चीनले आफ्नै खर्चमा नेपाल र चीन जोड्ने ल्हेन्दे खोलामा बेलिब्रीज निर्माण गरेपछि उक्त नाका सञ्चालनमा आएको हो ।

‘बाढी पहिरोको प्रभावका बीच पटक पटकको प्रयासपश्चात् बेलिब्रीजको निर्माण गर्न चिनियाँ अधिकारीहरु सफल भएका छन्,’ महावाणिज्यदूत निरौलाले भने, ‘तत्कालीन समयमा मौसमले सहयोग नगरेका कारण पटक पटक बेलीब्रीज निर्माण कार्य र निर्माण सामाग्री बाढीले बगाएको थियो । तर चिनियाँ पक्षको मिहिनेतका कारण बेलिब्रीजको निर्माण सम्पन्न भएर आजदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ ।’

चीनतर्फ कष्टम ड्युटी शुल्क बढ्दा नयाँ सामान लोडमा समस्या

नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिवसमेत रहेका नेपाल राष्ट्रिय व्यापार संघका प्रथम उपाध्यक्ष रामचन्द्र पराजुलीले चिनियाँ पक्षले रसुवा नाका खुला गरे लगत्तै भन्सारको कष्टम ड्युटी शुल्क चर्को परिमाणमा बृद्धि गरेको जानकारी दिए ।

उनका अनुसार रसुवा नाका सुचारु भएपछि चिनियाँ पक्षले भन्सार कष्टम ड्युटी शुल्क झण्डै प्रति कन्टेनर ६ हजार आरएमबी (१ लाख २३ हजार ५ सय ९५ नेपाली रुपैयाँ) बृद्धि गरेका कारण नयाँ सामान लोड गरेर भित्र्याउन समस्या भएको छ ।

‘रसुवा नाका खुला भएलगत्तै चिनियाँ पक्षले कष्टम ड्युटी शुल्क प्रति कन्टेनर एकैपटक ९२ हजार ६ सय ९६ नेपाली रुपैयाँ बृद्धि गरेका कारण व्यवसायीहरु नयाँ सामान लोड गर्न हच्किएका छन्,’ पराजुलीले भने, ‘यसअघि पुरानै कष्टम ड्युटी शुल्कको आधारमा लोड भएका सामान मात्रै नेपालतर्फ भित्र्याउन लागेका छौं । नयाँ शुल्कको बारेमा छलफल गरेर मात्रै नयाँ सामान लोड गरेर ल्याउने हाम्रो तयारी छ ।’

उनका अनुसार यसअघिसम्म प्रतिकन्टेनर ३० हजार ८ सय ९८ नेपाली रुपैयाँ (एक हजार ५ सय आरएमबी) कष्ट्म ड्युटी शुल्क लाग्दै आएको थियो । नयाँ शुल्कका कारण लागत खर्च अत्यधिक बृद्धि भएर चीनबाट सामान ल्याएर नेपाली बजारमा बजारिकरण गर्न ठूलो चुनौती आएको पराजुली जानकारी दिए ।

रसुवाको टिमुरेस्थित भन्सार कार्यालयका सूचना अधिकारी ठाकुर गौतमकाअनुसार नेपाल र चीनबीचको सम्पर्कमार्गमा बेलीब्रीज निर्माण भएपछि आजदेखि रसुवा नाका सुचारु भएको जानकारी दिए ।

उनका अनुसार बाढी पहिरोले नेपाल इन्टरमोडल र भन्सार कार्यालयको अधिकाँश भाग बगाएको थियो । इन्टरमोडलको बाँचेको भागमा सरसफाई गरी तत्कालको लागि काम सुचारु गर्न लागिएको गौतमले जानकारी दिए ।

तातोपानीको बिकल्प बनेको थियो रसुवा, फेरी गुलजार बन्दै

हिमालय सीमापार व्यापार संघका महासचिब पराजुलीले रसुवा नाका क्षतिग्रस्त हुँदा व्यवसायीले ठूलो क्षति व्यहोर्न बाध्य भएको जानकारी दिए ।

तातोपानी नाकाको विकल्पमा रसुवा नाकामार्फत विस्तारै बजार चलायमान र गुलजारमय बनिरहेको अवस्थामा रसुवा नाकालाई बाढीले प्रभावित गर्दा व्यवसायीमाथी ठूलो बज्रपात परेको पराजुलीले जानकारी दिए ।

उनका अनुसार तातोपानी नाकाको बिकल्पमा बनेको रसुवा नाका मालसामान ओसारपसारको लागि मात्रै उपयुक्त मार्ग थिएन । पछिल्लो समयमा यो मार्ग कैलाश मानसरोवर जाने तिर्थालुका लागि पनि यो मार्ग निक्कै लोकप्रिय बनेको थियो ।

उद्योग वाणिज्य आपूर्ति मन्त्रालयका अनुसार तातोपानी नाकातर्फको भौगौलिक अवस्था उपयुक्त नभएकाले स–सानो वर्षात हुँदा पहिरो गएर बाटो अवरुद्ध भइरहने समस्या आएकाले चीनसँग द्विपक्षीय व्यापारको लागि सबैभन्दा भरपर्दो र सुरक्षित नाकाको रुपमा रसुवालाई मानिएको छ ।

मन्त्रालयका अनुसार चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा २०७७ सालमा मितेरी पुलको पुर्ननिर्माण भएको थियो । पछिल्लो समयमा तातोपानी नाकाको तुलनामा रसुवा नाकामार्फत बढी द्विपक्षीय व्यापार भएको पाइएको थियो ।

गत् आर्थिक वर्ष २०८१/८२ को तथ्याँकअनुसार तातोपानी नाकाको तुलनामा झण्डै दोब्बर रुपैयाँबराबरको मालसामान रसुवा नाकाबाट नेपालमा भित्रिएको थियो ।

यस्तै उक्त अवधीमा तातोपानी नाकामार्फत नेपालबाट निर्यात शून्य हुँदा रसुवा नाकाबाट भने थोरै भएपनि निर्यात भएको पाइएको छ ।

गत् आर्थिक वर्षमा रसुवा नाकामार्फत ८५ अर्ब २३ करोड २३ लाख रुपैयाँबराबरको विभिन्न मालसामान चीनबाट आयात भएको थियो भने २ अर्ब ५ करोड रुपैयाँबराबरको विभिन्न सामान नेपालबाट चीनमा निर्यात भएको थियो ।

यहि अवधिमा तातोपानी नाकाबाट भने ५० अर्ब ३९ करोड ५८ लाख रुपैयाँबराबरको विभिन्न सामान भित्रिँदा नेपालबाट भने त्यो नाकामार्फत शुन्य परिमाणमा निर्यात भएको थियो ।

बाढी पहिरोका कारण रसुवा नाका पूर्ण रुपमा ठप्प हुँदा पनि उक्त नाकाबाट गत् साउनदेखि मंसिर महिनासम्ममा भने ४७ करोड ५६ लाख रुपैयाँको मालसामान आएको तथ्याँकले देखाएको छ ।

भन्सार कार्यालय रसुवाका प्रमुख गौतमका अनुसार बाढि आउनुपूर्व थुप्रै मालसामानसहितको कन्टेनर र ईभी सवारी साधनहरु आयात भएर भन्सार यार्डमा राखिएका थिए । बाढी पहिरोका कारण करिब एक सय ईभी सवारी साधन र केहि मालसामानसहितको कन्टेनर बगाएको थियो ।

‘बाढि पहिरोका कारण धेरै मालसामान बगेपनि केहि मालसामानसहितको कन्टेनर जोगिएको थियो, त्यहि जोगिएकार मालसामानको जाँचपास गरेवापतको ४७ करोड ५६ लाख रुपैयाँ आयातमा देखिएको हो,’ गौतमले भने ।

रसुवा नाका प्रभावित हुँदा पछिल्लो समयमा गत असोजमा व्यवसायीहरुले चीनतर्फ अलपत्र परेका मालसामानसहितको कन्टेनर प्रक्रिया पुर्याएर रिरुट गरी मुस्ताङको कोरला नाकाबाट अधिकांश ठूला सामानहरु भित्र्याएका थिए । केहि सामानहरु तातोपानी नाकाबाट भित्र्याइएको थियो ।

तत्कालिन समयमा रसुवा नाकाको विकल्पमा व्यवसायीहरुले कोरला नाका उपभोगमा ल्याएका थिए । रसुवा नाका सुचारु भएपछि छोटो दूरी र भाडाको हिसावले यो बाटो सुलभ हुने भएकाले व्यवसायीहरु पुनः रसुवा नाका नै प्रयोग गरी मालसामान ल्याउने र पठाउने गृहकार्यमा जुटेका छन् ।

‘भाडा र दूरीको हिसावले हामीलाई यहि नाका सहज हुने भएकाले नाका सञ्चालन भएपछि फेरी यहि नाका सदुपयोग गर्छाै, सुनसान बनेको यो नाका फेरि गुलजारमय हुने भएको छ,’ पराजुलीले भने ।