रसुवा बाढीः २०० बढी ईभी र डेढ सय कन्टेनर बगेको अनुमान, सुक्खा बन्दरगाह क्षतिग्रस्त

1.6k
Shares

काठमाडौं । रसुवामा आएको बाढीमा करिब २०० बढी विद्युतीय सवारीसाधन (ईभी) रहेको पाइएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार समितिको बन्दै गरेको सुक्खा बन्दरगाह र त्यसको वरिपरी करिब २०० देखि २५० हाराहारी विद्युतीय सवारीसाधन थिए ।

यस्तै, डेढ सयदेखि २०० हाराहारी कन्टेनर पनि रहेको अनुमान गरिएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए ।

‘बाढी पसेको ठाउँमा करिब २०० देखि २५० हाराहारी विद्युतीय सवारीसाधन र डेढ सय हाराहारी कन्टेनर रहेको अनुमान छ,’ गजुरेलले भने, ‘तर, कति बगायो र कति क्षति पुर्‍यायो भन्ने पुरा विवरण भने आउन बाँकी छ ।’

उनले बाढीका कारण ८१ प्रतिशत काम सम्पन्न भएको सुख्खा बन्दरगाहमा क्षति पुगेको छ । यद्यपि, यसको विस्तृत जानकारी भने आउन बाँकी रहेको उनको भनाइ छ ।

‘सुख्खा बन्दरगाहको काम करिब करिब सकिन लागेको थियो,’ गजुरेलले क्लिकमान्डुसँग भने, ‘रिटेन्सन वाल भत्काएको छ, सुख्खा बन्दरगाह परिसरमा भेलबाढी पसेको छ । सबै पन्छाएपछि मात्र कति क्षति पुग्यो भन्ने थाह हुन्छ ।’

तिब्बतको लिंदे खोला फुटेर भोटेकोशीमा आएको बाढीले नेपाल–चीनको सीमास्थित मितेरी पुल बगाएको छ भने चीनको भन्सार र प्रशासनिक भवनको ठिक अगाडिपट्टि नेपाली भूभागमा क्षति पुर्‍याएको छ । कयौं कन्टेनर बगाएको छ र सुख्खा बन्दरगाहसमेत ठूलो क्षति पुगेको छ ।