
काठमाडौं । जावलाखेल डिस्टिलरीले गत आर्थिक वर्षको ९ महिनाको अवधिमा सवा १ अर्ब रुपैयाँको मदिरा बेचेको छ । कम्पनीले गत आवको ९ महिनाको अवधिमा १ अर्ब २३ करोड ३० लाख रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीले सन् २०२५ मा १ अर्ब ६४ करोड ५० लाख रुपैयाँ, सन् २०२४ मा १ अर्ब १० करोड रुपैयाँ, सन् २०२३ मा २ अर्ब १२ करोड ९० लाख रुपैयाँ, सन् २०२२ मा २ अर्ब ८ करोड ५० लाख रुपैयाँ र सन् २०२१ मा २ अर्ब ६७ करोड ८० लाख रुपैयाँको मदिरा बेचेको थियो ।
गत आवको ९ महिनाको अवधिमा कुल कारोबारमध्ये कम्पनीको सञ्चालन नाफा मार्जिन ३१ प्रतिशत रहेको छ । यस्तो मार्जिन सन् २०२५ मा २७ प्रतिशत र सन् २०२४ मा ऋणात्मक थियो ।
यसबीचमा कम्पनीको कर्जा सेवा अनुपातमा सुधार आएको छ । कम्पनीको ऋण सेवा कवरेज अनुपात ४ गुणा रहेको छ । अर्थात् कम्पनीको वार्षिक सञ्चालन नाफा वार्षिक किस्ताको ४ गुणा बढी छ । यसैगरी कम्पनीको कुल ऋण र ट्यान्जिबल नेटवर्थको अनुपात १.९ गुणा रहेको छ । कम्पनीको ब्याज कवरेज अनुपात ७.५ गुणा रहेको छ । अर्थात वार्षिक ब्याजभन्दा सञ्चालन नाफा ७.५ गुणा बढी छ ।
सन् २०१३ मा स्थापना भएको कम्पनीलाई यसअघि विजय डिस्टिलरी भनिन्थ्यो । कम्पनीले विभिन्न प्रकारका मदिरा ब्लेन्डिङ र बोटलिङ युनिट स्थापना गरी जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजअन्तर्गत सञ्चालन गर्दै आएको छ ।
चार दशकभन्दा बढीको अनुभव रहेको कम्पनीले मदिरा उत्पादन र वितरण गर्दै आएको छ । कम्पनीको मुख्य चार वटा उत्पादित मदिरा छन् । जसमा ब्राउन स्पिरिट सेग्मेन्टमा कालापत्थर, ह्वाइट स्पिरिट सेग्मेन्टमा रुस्लान भोड्का र ब्ल्यू डाइमन्ड र रेडी टु ड्रिंकमा रुस्लान आइस टी रहेका छन् ।
विजयकुमार साहको पूर्ण स्वामित्व रहेको कम्पनीको देशभर २ सय ४० वटाभन्दा बढी शाखा छन् । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ३४ करोड ७० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ४७ करोड २० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ८७ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको हो ।





प्रतिक्रिया