पहिलो पटक धेरै कर तिर्ने व्यक्ति बन्दा अभूतपूर्व खुसी मिल्यो, तेस्रो पटक दु:ख लाग्योः विजयकुमार साह
म सानो हुँदा सुन्थेँ जनकपुर चुरोट कारखानाले सरकारलाई यति करोड कर तिर्यो, अर्को संस्थाले उति करोड कर तिर्यो । यस्ता खबरहरु सुन्दा मेरो मनमा आउँथ्यो कि कुनै दिन म सरकारलाई १ अर्ब रुपैयाँ कर तिर्न पाऊँ । सोच्थेँ यस्तो क्षणमा म कति खुसी हुन्थेँ होला भनेर ।
अमेरिकामा पढेर सन् १९६९ मा नेपाल फर्किएँ । अनि परम्परागतरुपमा गरिरहेको पारिवारिक मदिरा व्यवसायलाई आधुनिकता दिएँ । ५० वर्षअघि नेपालमा भोड्का उत्पादन सुरु गरेँ । यसका पछि धेरै संघर्षका कथाहरु छन् ।
दशकौंपछि मेरो त्यो बाल्यकालको सपना पूरा भयो । २०७७ सालमा मलाई सबैभन्दा बढी आयकर तिर्ने व्यक्तिका रुपमा सरकारले सम्मान गर्यो । मैले सम्मान पाउँदै गर्दा देश कोरोना महामारीले अस्तव्यस्त थियो । २०७५/७६ मा म आवद्ध विभिन्न संस्थाहरुले राज्यलाई विभिन्न शिर्षकमा १९ अर्ब रुपैयाँभन्दा बढी कर तिरेका थिए ।
तर, म बढी कर तिर्ने व्यक्ति बन्छु भनेर सोचेकोसमेत थिइँन । जब मलाई कर कार्यालयका कर्मचारीले सबैभन्दा बढी आयकर तिर्ने व्यक्तिका रुपमा सम्मान गर्न लागेको जानकारी गराए । म अचम्ममा परेँ । कर कार्यालयले गल्ती पो गर्यो कि भनेर सोच्नसमेत भ्याएँ । किनभने म बढी कर तिर्ने व्यक्ति भएँ होला भनेर सोचेकै थिइँन । त्यसैले सम्मान पाउँदा मेरो खुसीको सीमा नै रहेन । मज्जा आयो । उत्साहित थिएँ । यो ब्यापारको एउटा पक्ष थियो । त्यसैले मैले सामान्यरुपमा लिएँ ।
तर, २०७९ र २०८० सालमा पनि मलाई सरकारले सबैभन्दा बढी कर तिर्ने व्यक्तिका रुपमा सम्मान गर्यो । तीन पटक सम्मान पाएपछि भने मलाई खुसीभन्दा बढी दुःख लाग्यो । मलाई थाहा छ म मेरो देशको सबैभन्दा धनी व्यक्ति होइन । म चाहन्छु मभन्दा धनी रहेका सबैले मैलेभन्दा राम्रो योगदान गरुन् । र, मभन्दा कम रहेका मान्छेहरुले विजय शाहलाई विस्थापन गर्ने लक्ष्य राखुन् ।
तीन तीन पटक म बढी कर तिर्ने व्यक्तिका रुपमा सम्मानित हुनु लाजमर्दो कुरा हो । किनभने, धेरै कर तिर्ने करदाता हुनलाई के म यो देशको सबैभन्दा धनी मान्छे हो ? बकबास । यो देशमा मभन्दा धेरै धनीहरु छन् भन्ने कुरा म स्वीकार्छु । मभन्दा पछिको पुस्ताले मलाई राम्रोसँग हराउन् र मभन्दा राम्रो हुन् । त्यो धनी पुस्ता हो ।
एकपटक त मेरो छोरी पनि महिलातर्फ सबैभन्दा धेरै कर तिर्ने व्यक्ति बनेकी थिइन् । यो लाजमर्दो कुरा हो । किनकी, हाम्रो परिवार औषत धनी मात्रै हो ।
मलाई एक अर्ब रुपैयाँमा कर तिर्नु परेको थियो । त्यसको जुन कर हुन्छ, त्यो मैले तिरिदिएँ । यो सबै प्रक्रिया हो । मेरो त्यहि दिन सपना पूरा भयो, जुन दिन पहिलो पटक सबैभन्दा बढि आयकर सरकारलाई तिरें । त्यो भन्दा २० गुणा बढी तिर्दाखेरी मेरो महत्वाकांक्ष सकियो ।
बढी कर तिर्नेलाई सिंहदरबार छिर्ने कार्ड होइन, सिंहदरबार जानै नपर्ने वातावरण चाहियो
केही दिनअघि मात्रै मेरो कानूनी सल्लाहकारले मलाई के के चिजमा दस्तखत गराउन ल्याउनू भयो । मैले यो के हो भनेर सोध्दा उहाँले भन्नुभयो एउटा नयाँ कार्ड बनाउनु पर्यो, त्यसैको फारम हो यो । के चिजको कार्ड बनाउनु पर्यो ? राष्ट्रिय परिचयपत्रको कार्ड छ । सिम कार्ड छ । यो केको कार्ड भनेर सोधेँ । वकिलजीले भन्नुभयो धेरै कर तिर्ने करदातालाई सरकारले सिंहदरबार छिर्ने दिने भनेको छ । त्यसैको फारम हो यो । म छक्क परेँ । करदातालाई सिंहदरबार छिर्ने कार्ड दिनूभन्दा सिंहदरबार छिर्नै नपर्ने वातावरण मिलाएको भए कति राम्रो हुथ्यो । म पशुपतिनाथको मन्दिर धेरै कम जान्छु । परन्तु, हरदिन घरमा पशुपतिको ध्यान गर्छु । पुगिहाल्छ । तर, सिंहदरबारका लागि भने पशुपतिनाथको जस्तो घरमै ध्यान गरेर पुग्दैन ।
एक्लै खाएको भए लाज हुन्थ्यो, कर तिर्नु मेरो कर्तव्य हो
उद्यम गर्नु, रोजगारी सिर्जना गर्नु र राज्यलाई कर तिर्नु मेरो कर्तव्य हो । त्यसैले मैले धेरै कर तिर्ने व्यक्ति हूँ भनेर किन गर्व गर्नु ? आफ्नो कर्तव्य इमानदारीपूर्वक पालना गर्दा किन गर्व गर्नु ? सबै मान्छेहरुले इमानदारीतापूर्वक आफ्नो कर्तव्य पालना गरे भने यो देश धेरै सम्मृद्ध हुन्छ भन्ने मेरो विश्वास छ ।
इसाई धर्ममा जिजस क्राइस्टलाई एउटा सिक्का देखाएर जब कसैले सोध्यो, यो कसको सिक्का हो ? क्राइस्टले भन्नुभयो त्यो सिक्का मालिकलाई दिनू । मेरो हकमा पैसा छापेको नेपाल सरकारले हो । अर्थात् पैसाको मालिक सरकार हो । मैले मिहेनत गरें । नाफा कमाएँ । मेरो परिवार राम्रोसँग चलिहरेको छ । हामीले आफूलाई जे मन लाग्छ त्यो गरिरहेकै छौं । कुनै प्रतिबन्धमा छैनौं । मलाई दिनमा ३ छाक खानालाई सोच्नु पर्दैन । मसँग कम्पनी छ । मेरा कर्मचारीहरु छन् । कर्मचारीहरु पनि खुसी छन् । छोराछोरी र नातिनातिनाले राम्रै शिक्षा पाएका छन् । मलाई यो कुरामा चाहिँ गर्व छ ।
तर, एक्लै खाएको हुन्थ्यो भने मलाई लज्जा हुन्थ्यो ।
हिमालयन डिष्टिलरीलाई नै हेर्नुस् न । हजारौं मान्छेलाई करोडपति, लखपति बनाएको छ । धेरैलाई धनी बनाउने मेरो अर्को सपना पनि त पूरा भएको छ नि । सबै कम्पनी तथा व्यक्तिको लाइफसाइकल छ । अहिले ७६ वर्षको भएँ । मलाई थाहा छ भोलि म हुदिनँ । मेरो पुस्ता पनि हुँदैन । त्यसैले म भन्छु मेरा लागि उच्च करदाता हुनु सम्मानको कुरा होइन । यसले मेरो अर्को पुस्ताका व्यवसायीहरुलाई अवसर दियोस् । एउटा जोश र हौसला दियोस् न अगाडि आउन । ए विजय साहलाई त मैले यति करोड बढी कर तिरेर पछि पारेँ भन्ने धेरै व्यक्ति आएको दिन मेरो देश सम्मृद्ध हुनेछ ।
नाफा गदिर्न भन्ने व्यापारी गधा हो
सबै व्यवसायीको समूह छ । धेरै कम्पनीहरु छन् । मैले मेरो लगानी र कम्पनीहरुलाई सानो सानो रुपमा विभाजन गरेँ । तपाईं यसलाई लगानीको वर्गिकरण वा विविधिकरण पनि भन्न सक्नुहुन्छ । यदि कोरोनाको समयमा मसँग यति धेरै कम्पनीहरु नभएको भए म डुब्ने थिएँ। किनभने, हामीले हाम्रो बिक्रीको ४० प्रतिशत गुमायौं । अर्थात्, ७० प्रतिशत फाइदा गुमायौं । तर, पनि हामी अझैं नाफामै छौं । यदि बिजनेस नाफामा छैन भने तपाईं बिजनेसम्यान होइन । तपाईं त्यहाँ बस्नै हुँदैन । तपाईंले बैंक डुबाउनुहुन्छ, परिवारको सम्पत्ति डुबाउनुहुन्छ। आफ्नो भविष्य तपाईंसँग देखेका कामदारहरुलाई डुबाउनुहुन्छ । त्यसैले बिजनेसले नाफा बनाउनै पर्छ । मैले पोर्टफोलियोको कुरा गरेको छैन । यदि कुनै व्यापारिले म नाफा गर्दिन भन्छ भने म त भन्छु गधा हो । तपाईं प्रोडक्टिभ त हुनै पर्छ ।
निजी कम्पनीले सामाजिक उत्तरदायित्वको कुरा गर्नु बेकार हो
मलाई गलत तरिकाले नबुझिदिनु होला । म हिन्दु हूँ । इमानदार भएर भन्छु म कर्पोरेट सामाजिक उत्तरदायित्व (सिएसआर)मा विश्वास गर्दिन । मेरो हिन्दु प्रथाको विरोध हो यो । पश्चिमा संस्कृति हामीले आयात गरेको हो । यो त कर तिरेजस्तो हो । त्यहि ०.७५ होइन सिएसआरमा खर्च गर्नुपर्ने ? सरकारले सिधै १ प्रतिशत कर बढाइदियोस् न ।
हामीलाई किन इगो बढाउने ? व्यवसायीले तिर्ने कर भनेको गोप्य दान हो । हिन्दू धर्ममा दान गोप्य हुन्छ । तर, सिएसआरको प्रचार गर्नुपरेको छ विज्ञापन गरेपछि त यसै जन्ममा यसको फल भोग्नुपर्छ। त्यसैले यो प्रचार गर्नुपर्ने सिएसआर बेकारको कुरा लाग्छ मलाई ।
नेपालमा कर धेरै भयो, यसरी गर्न सकिन्छ सुधार
देशमा अहिले हामीले विदेशी लगानीका सम्मेलन नै घोषणा गरेर लगानीकर्ता बोलाएका छौं । बुझ्नुपर्ने कुरा के छ भने ३९ प्रतिशतको कर तिर्न कुन मुर्ख विदेशी आउँछ यहाँ लगानी गर्न ? कर कमभन्दा कम हुनुपर्यो । करको सीमा बढाएर ३६ बाट ३९ प्रतिशत गरिदियौं । थप १ प्रतिशत बढाएर अमेरिकाको जति गरिदिएको कम्तिमा सरकारलाई एउटा जिम्मेवारी त आउँथ्यो नि अमेरिकाकै जति सुविधा जनतालाई दिने ।
किन खेलबाड ? आयकर वा अरु जे सुकै पनि त्यहि बेला असूलौं जतिबेला सामान आउँछ । हरेकले आफ्नो भाग भन्सार विन्दूमै तिर्छन् । एउटा भन्सार अर्को आयकर गरी दुईवटा कर लगाऔं । कानुन एकदम साधारण होस् । जस्तो भ्याटको कानुन छ, त्यो सबैले तिर्नुपर्छ । त्यसो भए स्रोतमै भ्याट लगाऔं । भाग्ने ठाउँ चाहिँदैन । तपाईंको कुनै आयकर वा घरसम्पत्तिको कर होस् वा अरु कर होस्, तिर्दा तिर्दा हैरान । सोच्छु कि मेरो पैसा कहाँ गयो ? यहाँ कुनै रेकर्ड छ ? कसले कति कर तिर्यो भनेर ? तपाईंले सबैमा कर तिर्नु भएको छ । त्यसैले यसलाई जटिल किन बनाउने ? साधारण उपाय छ, एउटा कर सबैले तिर्ने, उत्पादनको स्रोतमै लगाऔं ।
अब करको तमासा हेर्नुस् न, तपाईंले कर तिर्नुभयो । आयकर हाकिमले जज गर्यो । पाँच वर्षपछि कुनै अर्को हाकिम आउँछन् अनि उसले भन्छ, तपाईंको त कर गलत एसेसमेन्ट भएको छ । अब म कर हाकिम हो ? एसेस्मेन्ट गर्ने हाकिमको सरुवा भइसकेको हुन्छ वा अवकास भइसकेको हुन्छ । अनि करदाताले चाहिँ फेरि जवाफ दिनुपर्ने ? गलत एसेस्मेन्ट गर्ने कर अधिकृतहरुले चाहिँ जवाफ दिनु नपर्ने ? मेरो भनाइ न्याय हुनुपर्यो भन्ने हो । लोकतन्त्रमा सबै उत्तिकै जिम्मेवार हुन्छ ।
अधिकार छ भने कर्तव्य पनि छ । करदाताले चाहिँ कर कार्यालयका हाकिमको एसेस्मेन्ट, रिएससमेन्ट मात्रै तिर्नुपर्ने कर अधिकृत पनि उत्तिकै जिम्मेवार हुनुपर्छ यदि करको एसेस्मेन्ट गलत गरेको छ भने । वा, कुनै फेबर गरेको छ भने । तर, किन कर अधिकृतलाई छुटकारा दिइन्छ ? कानून निष्पक्ष हुनुपर्छ । सबै चिजमा १ प्रतिशत कर लगाउनुस् न । हरेक पाइलामा जस्तो भ्याट छ नि त्यस्तै, १ प्रतिशत आयकर लगाइदिनुस् । हिसाब गर्नुस् । यो सम्भव छ । भारतमा पनि यो कुरा उठिरहेको छ । हरेक मान्छे करको दायरामा छन् । र गर्व पनि गर्छन् ।
यहाँ पनि सबै चिजमा कर लागेको छ । मात्र यत्ति हो कि तपाईंलाई तपाईं करदाता हो भन्ने महशुस नै हुँदैन ।
हामी मदिरावालाको अलि बड्ता फूर्ति हुन्छ, त्यसैले हामीलाई थाहा छ कि हामीले कर तिरेको छौं भनेर । कुन जनताले कर तिरेको छैन ? सबै तिरिरहनु भएको छ । त्यसैले, कानुनलाई साधारण बनाउनुपर्छ । कानुनलाई यस्तो बनाउनुपर्छ कि सबैले बुझ्न सकुन् । तर, तपाईं कानुन बनाउनुहुन्छ, कहाँको महान विद्धान शुक्रचार्य ल्याएर । ब्याख्या गर्दै जाँदा कानून यस्तो हुन्छ कि हरेक समय सास फेर्नुअघि तपाईं पुलिस स्टेसनमा गएर दर्ता गराउनुस् । यस्तो अवस्थामा कसले सास फेर्न सक्छ ? कानूनमा यहीनेर समस्या छ ।
यस्तो कानून भएको देशमा कसरी उत्पादकत्व बढ्छ । त्यसैले सरकारले आफ्ना जनतालाई आफ्नै परिवारका सदस्यजस्तै गरी मायाँ गर्ने कानून ल्याउनुपर्छ । तब मात्रै देश सम्मृद्ध हुन्छ ।
(तीन पटकसम्म सबैभन्दा धेरै आयकर तिर्ने व्यक्तिका रुपमा सरकारले सम्मान गरेका जाउलाखेल डिस्टिलरीका संस्थापक अध्यक्ष अर्थात् नेपालमा भोड्काको उत्पादन सुरुवात गर्ने पहिलो व्यक्तिसमेत रहेका व्यवसायी विजयकुमार साहसँग गरिएको कुराकानीमा आधारित )