
काठमाडौं । नेपालीको मुख्य चाडपर्वको मुखमा उत्तरी नाका जोड्ने प्रमुख व्यापारिक नाका रसुवा र तातोपानी अवरुद्ध हुँदा १९ सय कन्टेनरमा भएका सामान अलपत्र परेका छन् ।
नेपाली व्यापारीले तिज, दशैं र तिहारको लागि अर्डर गरी आयात गर्न ठिक्क पारेको चाडपर्व लक्षित सामान अलपत्र परेका हुन् । चाडपर्व लक्षित सामान साउनको पहिलो सातादेखि नै नेपाल भित्रिएका देशभरका बजारमा पुगिसक्नुपर्ने थियो ।
तर चीनलाई जोड्ने दुई नाका रसुवा पूर्ण रुपमा ठप्प र तातोपानी नाका पानी पर्ना साथ सडकको जमिन भासिने र माथिबाट पहिरो जाने समस्याका कारण ति सामान नेपाल आउन नपाउँदै चीनकै विभिन्न स्थानमा अलपत्र परेका छन् ।
नेपाल हिमालय सीमापार बाणिज्य संघका अध्यक्ष रामहरी कार्कीले चीनबाट सामान ल्याउन तातोपानी नाकाको कहिले भर नहुने जानकारी दिए ।
‘छिनमै पानी पर्दा सडकको जमिन भासिने र माथिबाट पहिरो जाने समस्या तातोपानी सडक खण्डमा अत्याधिक छ । दिनभर लगाएर बाटो बनायो, राति सानो पानी पर्नासाथ फेरी सडक अवरुद्ध हुन्छ,’ क्लिकमान्डुसँग कार्कीले भने, ‘यसले गर्दा व्यवसायीको प्राथमिकतामा तातोपानी नाकाभन्दा रसुवा नाका परेको हो । तर अहिले रसुवा नाका पूर्ण रुपमा अवरुद्ध र तातोपानी खुल्ने र बन्द हुने अवस्थाका कारण हामी व्यवसायीलाई ठूलो मार परेको छ ।’
पछिल्लो समयमा नेपाल–चीनबीच हुने कूल द्विपक्षीय व्यापारमध्ये झण्डै ७० प्रतिशतभन्दा बढी रसुवा नाकामार्फत भइरहेको थियो । अब फेरी पहिलेकै हाराहारीमा यो क्षेत्र चलायमान र गुलजारमय बन्न केही वर्ष कुर्नै पर्ने बाध्यता आएको छ ।
चीनबाट चाडपर्वको सामान आयात गर्न बैकल्पिक उपाय नहुँदा मध्यम र साना व्यवसायीलाई ठूलो समस्या परेको उनको भनाइ छ । उनका अनुसार रसुवा नाकाको मितेरी पुल र सडक बाढीले बगाएपछि तिज, दशैं र तिहारलाई लक्षित गरी सामान लोड भएका ५ सय कन्टेनर केरुङमा अलपत्र परेका छन् ।
यस्तै तातोपानी खण्ड पटक पटक अवरुद्ध भएका कारण १ हजार ४ सय सामान बोकेको कार्गो कन्टेनर चीनको ल्हासा–न्यालममा फसेको कार्कीले जानकारी दिए ।
ति १९ सय वटा कन्टेनरमा ३५ अर्ब रुपैयाँबराबरको विभिन्न प्रकारका फलफूल, लसुन, जुत्ता, तयारी पोशाक, हल्का ज्याकेट र जर्सी, बेल्ट, घडी, खेलकुदका सामान, कस्मेटिक्स, तन्ना, रेडिमेड डसना, तिहारमा बाल्ने झिलिमिली बिद्युतीय वत्तिसहित बिद्युतीय उपकरणलगायतका सामानहरु रहेको व्यवसायीहरुले जानकारी दिएका छन् ।
‘केरुङतर्फ अलपत्र परेका कन्टेनरलाई रिरुट गरी तातोपानी ल्याउँदा लागत खर्च १० प्रतिशतसम्म बढ्न जान्छ, यस्तै थप दुई दिन लाग्छ,’ कार्कीले,‘तर तातोपानी सडक खण्डको पनि कुनै भर भएन । यसले गर्दा यो वर्ष दशैं लक्षित सामान नेपाली बजारमा आउने सम्भावना १ प्रतिशत मात्रै छ ।’
नेपाल राष्ट्रिय व्यवसायी संघका अध्यक्ष हेमलाल खरालका अनुसार सामान लोड भएर केरुङमा अलपत्र परेका कन्टेनर रिरुट गरेर तातोपानी नाका ल्याउन सकिने विकल्प भएपनि नेपालतर्फको सडक खण्डको भर नभएका कारण पनि व्यवसायीलाई ठूलो समस्या भएको हो ।
तिज लक्षित लोड भएका सामान तिज सकिएको करिब दुई साता वित्न लाग्दा पनि नेपाल आउन नसकेर उतै अलपत्र परेको उनको भनाइ छ । तिज लक्षित सामान आउन नसक्दा यो वर्ष गोदाममा भएका तिजका पुरानै सामान बजारमा पठाइएको खरालले बताए ।
अहिलेसम्म स्थायी रुपमा तातोपानी सडक खण्ड पनि खुल्ने काँटछाँट नभएकाले दशैंमा नयाँ सामान बजारमा आउँला र खरिद गरेर उपभोग गरौंला भनेर आशावादी नहुन पनि उनले सुझाव दिए ।
नेपाली व्यवसायीहरुका लागि दशै, तिहार र छठ पर्वको अवधी चाँदी कटाईको समय भएर बर्षभर सुस्त भएको बजार यही वेला बुम हुने गर्छ । यो वेला देशभरको बजार चलायमान भएर मुलुकको कूल अर्थतन्त्रको करिब ३५ प्रतिशत रकम (दुई खर्बभन्दा बढी) बजारमा प्रभावित हुने गर्छ ।
तर तातोपानी र रसुवा नाका अवरुद्धका कारण बजार चलायमान बनाउन आवश्यक पर्ने सामानको अभावमा अन्य वर्षको तुलनामा यो वर्ष बजार सुस्त हुने व्यवसायीहरुको भनाई छ । चीनबाट आयात हुने सामान मूल्यको हिसावले अधिकाँश नेपालीको पहुँचमा पुग्ने भएकाले बजार चलायमान बनाउन उक्त सामान समयमै आयात हुनुपर्ने उनीहरुले सुझाव दिएका छन् ।
‘तातोपानी सडक खण्डदेखि १० किलो क्षेत्रमा दैनिक रुपमा आउने पहिरो र भोटेकोशीको पानीको भेलले सडकको जमिन काट्ने समस्याले यो नाकाबाट तत्कालै ल्हासा–न्यालम र केरुङमा अलपत्र परेका सामानसहितको कार्गो कन्टेनर ल्याउन सक्ने अवस्था छैन,’खरालले भने,‘कन्टेनर नै ल्याउन नसकिएपछि बजारमा दशैं तिहार लक्षित सामान जाने र उपभोक्ताले खरिद गर्ने अवस्था निक्कै झिनो छ । त्यहि भएर यो वर्षको दशैं तिहार सम्झिने पानी छम्किने अवस्था सिर्जना हुँदैछ ।’

उता तातोपानी नाकामाथि चीनको ल्हासा–न्यालममा फसेका कन्टनेरबाट बिग्रन सक्ने फलफूल मात्रै जसोतसो भरियामार्फत बोकाएर नेपालतर्फ ल्याउने काम भइरहेको छ ।
फलफूलवाहेक अन्य सामान भने भरियामार्फत ल्याउन सम्भव नभएकाले नल्याइएको खरालले जानकारी दिए । उनका अनुसार चीनतर्फ सामानसहित अलपत्र परेका कन्टेनरहरु समुद्रिमार्गमार्फत वीरगञ्ज र बिराटनगर नाकासम्म पुर्याउन सक्ने एउटा विकल्प भएपनि मध्यम र निम्न वर्गका व्यवसायीहरुले भने त्यसको लागत खर्च व्यहोर्न सक्ने अवस्था छैन ।
‘समुद्रीमार्गमार्फत कोलकात्ता वन्दरगाह हुँदै वीरगञ्ज र बिराटनगरसम्म कन्टेनर ल्याउन सकिन्छ, तर यसमा निक्कै ठूलो लागत खर्च पर्छ, यस्तै यो रुटमार्फत ल्याउन कम्तिमा थप दुई महिनाको समय लाग्छ,’ खरालले भने,‘तातोपानी र रसुवा नाकामार्फत व्यापारिक कारोबार गरिरहेका करिब ९५ प्रतिशत व्यवसायी निम्न र मध्यमवर्गीय छन्, अलपत्र परेका सामानलाई रिरुट गरी समुद्रीमार्गबाट नेपालसम्म ल्याउन उनीहरुको आर्थिक हैसियतले अनुमति दिदैंन ।’
बाटो अवरुद्धका कारण यो वर्षको चाडपर्वलाई लक्षित गरेर लोड भएका सामानसहितको कन्टेनर दशैं अगावै आउन नपाए अर्को वर्षको दशैं तिहारमा त्यहि सामान बजारमा ल्याउने तयारी व्यवसायीले गरेका छन् ।
उनका अनुसार चाडपर्व लक्षित सामान बजारमा ल्याउन व्यवसायीहरु बैशाखदेखि जेठसम्मको अवधीमा चीनियाँ उत्पादकलाई आफूलाई चाहिएको सामान र त्यसको बनावटको बारेमा अग्रीम जानकारीसहित एडभान्स रकम दिनुपर्छ ।
त्यो जानकारीको आधारमा चीनियाँ उत्पादकले तयार पारेको सामान साउनदेखि नेपाली व्यवसायीलाई डेलिभरी दिन थाल्छन । यस्ता अधिकाँश सामान नेपाली व्यवसायीले साउनदेखि भदौं पहिलो सातासम्म देशभरको बजारमा पुर्याएपछि बजारमा बजारिकरण हुन सुरु हुन्छ ।
यो प्रक्रियाका कारण अब कुनै बिकल्पबाट केही सामान नेपाल आइपुगे पनि देशभरको बजारमा ति सामान पठाउन समय नै नभएको व्यवसायीहरुको भनाइ छ ।
निर्धारित समयमा चाडपर्व लक्षित सामान नेपाल आइनपुग्दा व्यवसायीहरुलाई ठूलो आर्थिक मारसमेत परेको उनीहरुको भनाइ छ । अधिकाँशले बैंकबाट ऋण लिएर चीनबाट सामान मगाएका छन् । चाडपर्वमा अत्यधिक बिक्री हुने भएकाले मुल रकमसहित ब्याजवापतको रकम तिर्न व्यवसायीलाई सहज हुन्छ ।
तर चाडपर्व अघि नै ति सामान नआउँदा व्यवसायीलाई बैंकको ऋण र ब्याज रकम तिर्नसमेत अप्ठयारो परेको उनीहरुले बताएका छन् ।
असार २४ गते बिहान तिब्बतको ल्हेन्दे खोलामा आएको ठूलो बाढीका कारण रसुवा नाका र चीन जोड्ने सम्पर्क मार्ग पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो ।
बाढीले चीनसँग आयात निर्यात हुने बाटोका साथै नेपाल–चीनबीचको मितेरी पुलसमेत बगाएको थियो । यस्तै निर्माणको अन्तिम चरणमा पुगेको सुख्खा वन्दरगाहसमेत पूर्ण रुपमा क्षतिग्रस्त बनेको थियो ।
त्यस लगत्तै साउन १४ गते पुनः ल्हेन्दे र केरुङ खोलामा आएको बाढीका कारण दुवैतर्फको बाटोमा थप क्षति पुर्याएको थियो । अहिले रसुवा नाकालाई चीनसँग जोड्ने कुनै बाटो छैन ।
महावाणिज्य दूत भन्छन्: रसुवा नाका सुचारु गर्न मौसमले साथ दिएन
चीनको ल्हासास्थित महावाणिज्यदूत लक्ष्मी निरौंलाका अनुसार चीन सरकारले क्षतिग्रस्त भएको रसुवा नाकालाई तत्कालै खोल्ने प्रयास गरेपनि मौसमले साथ नदिंदा ढिलाई भइरहेको जानकारी दिए ।
उनका अनुसार असार २४ गते रसुवामा आएको बाढी पश्चात् चीनियाँ टोलीले तत्कालको लागि दुवै मुलुकलाई जोड्ने गरी मितेरी पुलको स्थानमा ल्हेन्दे खोलामाथि अस्थायी रुपमा ४ वटा ह्युम पाइप राखेर बेलिब्रीज निर्माण कार्यलाई अगाडि बढाएको थियो ।
तर लगत्तै साउन १४ गते पुनः उक्त खोलामा आएको बाढीको भेलले ४ ह्युम पाइपमध्ये २ पाइप बगाएको र बेलिब्रीज निर्माणस्थलको जमिनसमेत काटेर लगेकाले निर्माण कार्य प्रभावित भएको निरौंलाले जानकारी दिए ।
‘चीनियाँ पक्षले सकेसम्म दशैं अगावै बेलिब्रीज निर्माण गर्ने लक्ष्य राखेर युद्धस्तरमा काम गर्दा पनि पटक पटक पानी परेर बाढी आइरहने समस्याका कारण योजनाअनुसार निर्माण कार्य अघि बढाउन सकिएको छैन,’ क्लिकमान्डुसँग निरौंलाले भने,‘उता चीनपट्टीको विभिन्न खोला र हिमतालमा आउने बाढीको भेल पनि मितेरी पुल नजिकैको ल्हेन्दे खोलामा आउने भएकाले थप जोखिम सिर्जना भएको छ । दिनभर बनायो, राति पानी परेर बाढी आउँदा भत्काइदिने ठूलो समस्या आएको छ ।’
चीनपट्टी र नेपालपट्टी कम्तिमा एक महिना पानी नपरिदिए निर्माण कार्य तत्कालै सम्पन्न गर्न सकिने महावाणिज्यदूत निरौंलाले जानकारी दिए ।
तातोपानीको विकल्प रसुवा नाका
हिमालय सीमापार व्यापार संघका पूर्वअध्यक्ष अशोक श्रेष्ठले रसुवा नाका क्षतिग्रस्त हुँदा व्यवसायीले ठूलो क्षति व्यहोर्न बाध्य भएको जानकारी दिए ।
तातोपानी नाकाको विकल्पमा रसुवा नाकामार्फत विस्तारै बजार चलायमान र गुलजारमय बनिरहेको अवस्थामा रसुवा नाकालाई बाढीले प्रभावित गर्दा व्यवसायीमाथी ठूलो बज्रपात परेको श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार तातोपानी नाकाको बिकल्पमा बनेको रसुवा नाका मालसामान ओसारपसारको लागि मात्रै उपयुक्त मार्ग थिएन । पछिल्लो समयमा यो मार्ग कैलाश मानसरोवर जाने तिर्थालुका लागि पनि यो मार्ग निक्कै लोकप्रिय बनेको थियो ।
उद्योग वाणिज्य आपूर्ति मन्त्रालयका अनुसार तातोपानी नाकातर्फको भौगौलिक अवस्था उपयुक्त नभएकाले स–सानो वर्षात हुँदा पहिरो गएर बाटो अवरुद्ध भइरहने समस्या आएकाले चीनसँग द्विपक्षीय व्यापारको लागि सबैभन्दा भरपर्दो र सुरक्षित नाकाको रुपमा रसुवालाई मानिएको छ । मन्त्रालयका अनुसार चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा २०७७ सालमा मितेरी पुलको पुर्ननिर्माण भएको थियो ।
पछिल्लो समयमा तातोपानी नाकाको तुलनामा रसुवा नाकामार्फत बढी द्विपक्षीय व्यापार भएको पाइएको छ ।
गत् आर्थिक वर्ष २०८१/८२ को तथ्याँकअनुसार तातोपानी नाकाको तुलनामा झण्डै दोब्बर रुपैयाँबराबरको मालसामान रसुवा नाकाबाट नेपालमा भित्रिएको थियो । यस्तै उक्त अवधीमा तातोपानी नाकामार्फत नेपालबाट निर्यात शून्य हुँदा रसुवा नाकाबाट भने थोरै भएपनि निर्यात भएको पाइएको छ ।
गत् आर्थिक वर्षमा रसुवा नाकामार्फत ८५ अर्ब २३ करोड २३ लाख रुपैयाँबराबरको विभिन्न मालसामान चीनबाट आयात भएको थियो भने २ अर्ब ५ करोड रुपैयाँबराबरको विभिन्न सामान नेपालबाट चीनमा निर्यात भएको छ ।
यहि अवधिमा तातोपानी नाकाबाट भने ५० अर्ब ३९ करोड ५८ लाख रुपैयाँबराबरको विभिन्न सामान भित्रिँदा नेपालबाट भने त्यो नाकामार्फत शुन्य परिमाणमा निर्यात भएको थियो ।







प्रतिक्रिया