
काठमाडौं । पछिल्लो समय नेपाल धितोपत्र बोर्ड (सेबोन)प्रति निकै आक्रमक बन्दै आएका सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल यतिबेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा छन् । झुटो कारोबार गरेर मूल्य प्रभावित गरेको अभियोगमा अग्रवाल पक्राउ परेका हुन् ।
धितोपत्र बोर्डको एक अध्ययनले अग्रवाल सामाजिक सञ्जालमा सर्वसाधारण लगानीकर्तालाई सेयर किन्न उक्साउने गरेको र त्यसबाट आफूले लाखौं रुपैयाँ नाफा कमाउने गरेको निष्कर्ष निकालेको छ । साथै १५ वटा टीएमएस खाता आफैं चलाएर फर्जी किनबेच गरेर मूल्य बढाएको देखिएको छ । सेयर किनबेच गर्न अग्रवालले अर्बौं रुपैयाँको मिति नभएको चेक ब्रोकर कम्पनीलाई दिएर चार गुणासम्म कारोबार लिमिट लिने गरेको पाइएको छ । त्यसमाथि स्मार्ट डोर्स नाम गरेको कम्पनी खोलेर त्यही कम्पनीलाई अग्रवालले झुटो सेयर कारोबारको अखडा बनाएका थिए।
पछिल्लो समय उनी स्मार्ट डोर्सको आईपीओ जारी गर्ने व्यापक तयारीमा थिए । उनी र उनका सहयोगीले स्मार्ट डोर्सलाई दोस्रो बजारमा हजारौं रुपैयाँ मूल्य पुग्ने कम्पनीको रुपमा प्रचार गर्दै प्रिआईपीओमा लगानीका लागि आह्वान पनि गरेका थिए । यसैगरी स्मार्ट डोर्सले नै बजारका लगानीकर्तालाई वास्तविक लाभ दिलाउने तथा वैतरणी तार्ने दाबी उनीहरुको थियो ।
स्मार्ट डोर्सको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले ३ करोड ६ लाख रुपैयाँ बराबरको ३ लाख ६ हजार कित्ता आईपीओ निष्कासनका लागि अग्रवालले बोर्डमा १९ महिनाअघि आवेदन पनि दिएका थिए । तर, स्मार्ट डोर्सको आईपीओ निष्कासन अनुमति अग्रवालले आफूले चाहेअनुसार छिटो र छोटो समयमा पाएनन् ।
अग्रवाल पछिल्लो केही वर्ष यता पुँजी बजारको नियामकको रुपमा रहेको बोर्ड र नेतृत्वमाथि निकै आक्रमक ढंगमा प्रस्तुत भइरहनुको यही एउटा कारण थियो । यतिसम्म कि बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठमाथि अग्रवाल व्यक्तिगत प्रहार गर्दथे । सीआईबी हिरासतमा रहँदा रहँदै अग्रवालले श्रेष्ठलाई भ्रष्ट भन्दै उनीमाथि कारबाही हुनुपर्ने माग राखेर अनसन नै बसेका छन् ।
अग्रवाल बोर्डप्रति यतिसम्म आक्रमक हुनुको कारण उनले भन्नेवित्तीकै स्मार्ट डोर्सलाई आईपीओ निष्काशनको अनुमति नदिनु रहेको बोर्ड स्रोत बताउँछ ।
‘लगानीकर्ताका नाममा जेनजी र अन्य सेयर लगानीकर्तालाई उचालेर बोर्ड घेराउ गर्नेदेखि धम्क्याउनेसम्मका प्रतिसोधपूर्ण गतिविधि अग्रवालले गर्दै आएका थिए,’ बोर्ड स्रोतले क्लिकमान्डुसँग भन्यो, ‘खासगरी, बोर्ड अध्यक्षमा सन्तोष नारायण श्रेष्ठले जिम्मेवारी सम्हाल्नु भएदेखि भने अग्रवालले बढी नै मात्रामा अध्यक्ष र सेबोनमाथि भित्र र बाहिर आक्रमकता प्रस्तुत गर्दै आएका थिए ।’
पुँजीबजार सुधारका नाममा लगानीकर्ता लिएर सेबोन पुगि नेतृत्व र कर्मचारीलाई मध्यरातिसम्म कार्यालयमै थुन्नेदेखि अध्यक्षको राजीनामा माग्नेसम्मको काम गरेका अग्रवालको मुख्य उद्देश्य भने स्मार्ट डोर्स कम्पनी लिमिटेडको आईपीओ स्वीकृतिको विषयसँग सम्बन्धित रहेको स्रोत बताउँछ । सर्वसाधारणलाई पनि सहभागी गराउने उद्देश्यले स्मार्ट डोर्स सुरुवातमै पब्लिक कम्पनीको रुपमा दर्ता गराउने काम अग्रवालले गराएका थिए ।
धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ आउनु अगावैदेखि आईपीओ स्वीकृति गराउने दाउमा बसेका अग्रवालको चाहना सहजै पुरा भएन । अर्थात्, अध्यक्षको जिम्मेवारी सम्हाल्न आएपछि पनि श्रेष्ठले अग्रवालको इच्छाअनुरुप स्मार्ट डोर्सलाई आईपीओ निष्कासन अनुमति दिएनन् ।
निरन्तर प्रयास गर्दा पनि स्मार्ट डोर्सलाई आईपीओ निष्कासन अनुमति नदिएपछि अग्रवाल बोर्ड अध्यक्ष श्रेष्ठ र सेबोनप्रति रुष्ट बन्दै गए । विस्तारै सामाजिक सञ्जालबाट आफ्नो कम्पनीले आईपीओ निष्कासन अनुमति नपाएको रिस पोख्न थालेका अग्रवाल पछि गएर मानिस उचालेर आन्दोलनकै लागि बोर्डसम्म पुराउन उद्दत भए ।
कम्पनीको यही आईपीओ निष्कासन स्वीकृत गराउन अग्रवालले सेबोन अध्यक्षदेखि बोर्डलाई निरन्तर दबाब दिने गरेको स्रोत बताउँछ ।
‘अग्रवालले स्मार्ट डोर्सको आईपीओ निष्कासन स्वीकृत गराउन निरन्तर फोन गर्ने, दबाब दिने लगायतका काम सुरुदेखि नै गरिरहेका थिए । झन् पछि हुँदै गएपछि उनी बोर्डप्रति थप आक्रमक भए,’ स्रोतले क्लिकमान्डुसँग भन्यो, ‘पुँजी बजार सुधारका मागका नाममा तथा धर्ना र आन्दोलनका नाममा उनले आफ्नो कम्पनीको आईपीओ निष्कासन स्वीकृत गर्ने स्थिति सिर्जना गर्न खोजिरहे ।’
स्रोतका अनुसार अग्रवालले पुँजी बजार सुधार मागका नाममा बोर्ड नेतृत्वमाथि निरन्तर आईपीओ निष्कासन स्वीकृतिको दबाब दिने गरेका थिए । गत भदौ २३ र २४ गते जेनजी प्रदर्शन भएपछि त झन् अग्रवालले जेनजी युवा पठाउने नाममा बोर्डमाथि उच्च दबाब दिने काम गरे । आईपीओ निष्कासन अनुमति नदिएको झोंकमा उनले सामाजिक सञ्जालमै सार्वजनिक रुपमा आग्रह गरेर सबैलाई आन्दोलनमा आउन आग्रह गर्दै बोर्डसम्म पुगे ।
मिता मुरारका अग्रवाल अध्यक्ष रहेको स्मार्ट डोर्स कम्पनीको सञ्चालक दीपेन्द्र अग्रवाल छन् । कुसुम देवी अग्रवाल, नरेन्द्र कुमार अग्रवाल र जय प्रकाश अग्रवाल सेयरधनी रहेका यस कम्पनीको आईपीओ निष्कासन अनुमति पाउनका लागि दीपेन्द्रले सेयर लगानीकर्ताका नाममा अनावश्यक गतिविधि गरेको कुरा उनका पछिल्ला कदमहरु हेर्दा पनि पुष्टि हुन्छ ।
अर्थात्, अग्रवालले स्मार्ट डोर्सको आईपीओ निष्कासन अनुमति पाउनका लागि बोर्ड नेतृत्वलाई धम्क्याउनेदेखि धर्नाका काम गर्ने कार्य गरेका थिए । स्मार्ट डोर्स लिमिटेडले २०८१ वैशाख ३ गते नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासन अनुमतिका लागि आवेदन दिएको धितोपत्र बोर्डको पछिल्लो तथ्यांकमा उल्लेख छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल हो ।
दर्जनौं कम्पनी आईपीओ निष्कासन अनुमतिको पाइपलाइनमा रहँदा अग्रवालको स्मार्ट डोर्स कम्पनी पनि सोही स्थितिमा लामो समय रह्यो । अग्रवालले लगानीकर्ता उचालेर गत असोज २६ गते धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई बोर्डमै थुन्नेसम्मको स्थिति सिर्जना गरे । दिउँसो ३ बजेदेखी बोर्डमा धर्ना दिएका लगानीकर्ताले श्रेष्ठ भित्रै बसिरहेको समयमा आन्दोलन गरे । यस समयमा लगानीकर्ताहरु बोर्ड जानुमा अग्रवालकै भूमिका मुख्य थियो ।
यस समयमा लगानीकर्ताहरुले भ्रष्ट अध्यक्षकै कारण बजारमा सुधार हुन नसकेको भन्दै बोर्ड अध्यक्ष श्रेष्ठको राजीनामा माग गरेका थिए । सो समयमा बोर्ड सुरक्षाका लागि ठूलो संख्यामा नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन भएको थियो । आइपीओ, एफपीओ र हकप्रद विक्रीको अनुमती नदिन लगायतका ११ बुँदे माग राखेका उनीहरुबीच छलफलका क्रममा सहमित जुट्न नसकेपछि रातको साढे १० बजेसम्म पनि धर्ना चर्किएको थियो ।
सहमती हुन नसकेपछि रातको साढे १० बजेसम्म पनि लगानीकर्ताको उक्त समूहले धितोपत्र बोर्डको प्रांगणमा नाराबाजी गरेको थियो । सहमती हुने अवस्था नबनेपछि सुरक्षाकर्मीको एक टोलिले अध्यक्ष श्रेष्ठ र कार्यकारी निर्देशकसहितको पदाधिकारीलाई सुरक्षा दिएर घर पठाएको थियो ।
लगानीकर्ताको नेतृत्वको रुपमा देखिएका दिपेन्द्र अग्रवालले आफूहरुको कुनै पनि माग सम्बोधन नभएकाले आन्दोलन निरन्तर रहने बताएका थिए । यसपछि पनि अग्रवालले धितोपत्र बोर्डका विरुद्धमा मानिसहरुलाई पटकपटक उचालेर आन्दोलन गर्न पठाउने, जेनजी भन्दै युवा पठाउने लगायतका कामहरु पनि निरन्तर गर्दै आएका छन् जुन अग्रवालले साँधेको प्रतिसोधकै मुख्य पाटो थियो ।
‘बजार सुधारका बुँदागत माग भन्दै बोर्डको चर्को विरोधमा उत्रिएर दबाब बढाई अग्रवालले आईपीओ स्वीकृतिमा सकेसम्मका तागत लगाउने काम गरे । दबाब बढाएर उनले घुमाउरो रुपमा स्मार्ट डोर्सको आईपीओ निष्कासन अनुमति खोजेका थिए,’ स्रोतले भन्यो, ‘तर, चर्को दबाब दिँदा पनि अनुमति नपाएपछि उनले आफ्नो हर्कत बढाउँदै लगेका थिए जुन जरुरी थिएन ।’
आईपीओ निष्कासन स्वीकृतिका लागि निरन्तर प्रयास गरेको स्मार्ट डोर्सलाई दीपेन्द्र अग्रवालले झुटो सेयर कारोबारमा समेत प्रयोग गरेको देखिन्छ । ‘अग्रवालले सेयर खरिद बिक्री गर्न उक्साउने उद्देश्यले झुटा भ्रामक विवरण सम्प्रेषण गर्ने तथा पूर्व अनुमान बनाउने काम गरे/नगरेको र धितोपत्र बजारलाई प्रभावित पारे/नपारेको सम्बन्धी प्रारम्भिक जाँचबुझ प्रतिवेदन, २०८२’मा स्मार्ट डोर्सको नाम प्रयोग गरी दीपेन्द्र अग्रवालले झुटा सेयर कारोबार गरेको उल्लेख छ ।
प्रतिवेदनअनुसार २०८२ वैशाख १६ गते कर्पोरेट डेभलपमेन्ट बैंकको अन्तिम १५ मिनेटको कारोबारको अध्ययन गर्दा स्मार्ट डोर्सले ४ करोड ९० लाख ३४ हजार रुपैयाँ बराबरको २० हजार कित्ता सेयर ज्योति अग्रवालबाट खरिद गरेको देखिन्छ । हातेमालो फाइनान्सियल सर्भिसेस प्रालि ब्रोकरबाट खरिद गरिएको उक्त सेयर स्मार्ट डोर्सको नाममा खरिद गरिएपनि बिक्रीकर्ताको रुपमा देखाइएको ज्योति अग्रवालको टीएमएस स्वयं दीपेन्द्र अग्रवालले नै चलाउँथे ।
यसमा खरिदकर्ता स्मार्ट डोर्सका अध्यक्ष, सञ्चालक र सेयरधनीमा आरोपित दीपेन्द्र अग्रवालसँग सम्बन्धित र निजले नै उनीहरुको समेत सेयर कारोबार गर्ने भनि आधार देखिएका व्यक्तिहरुको संलग्नता र प्रत्यक्ष नियन्त्रणमा रहेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।
कम्पनी रजिष्ट्रार कार्यालयका अनुसार स्मार्ट डोर्समा अध्यक्ष मिता मुरारका अग्रवालको ७६.१३ प्रतिशत, दीपेन्द्र अग्रवालको ०.०४ प्रतिशत, कुसुम देवी अग्रवालको ०.०४ प्रतिशत, नरेन्द्र कुमार अग्रवालको ०.०४ प्रतिशत र जय प्रकाश अग्रवालको २२.१३ प्रतिशत सेयर स्वामित्व छ ।
धितोपत्र बोर्डको अध्ययन प्रतिवेदनले ज्योति अग्रवालको नामबाट दीपेन्द्र अग्रवालले नै कारोबार गर्ने गरेको देखिएको छ । खरिदकर्ता स्मार्ट डोर्स र बिक्रीकर्ता ज्योति अग्रवाल भई गरेको कर्पोरेट डेभलपमेन्ट बैंकको २० हजार कित्ता (रकम ४ करोड ९० लाख ३४ हजार रुपैयाँ) को कारोवारबाट वास्तविक स्वामित्वमा फरक नपर्ने किसिमको देखिएको प्रतिवेदनको निष्कर्ष छ ।
उक्त कारोवार धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४ को खण्ड (क) र (ख) बमोजिम झुटो कारोवार रहेको समेत प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा अग्रवालले १५ व्यक्तिको टीएमएस प्रयोग गरी झुटा र कृत्रिम कारोबार गरेको, फर्जी कारोबार गर्न मिति नै नभएको साढे ३ अर्बको चेक कोल्याटरल प्रयोग गरेको र झुटो कारोबार गरी जोशी हाइड्रोबाट मात्रै ४९ लाख रुपैयाँ कानुन विपरीत कमाएको उल्लेख छ ।
आईपीओ निष्कासन अनुमतिको पर्खाइमा रहेको स्मार्ट डोर्सको वित्तीय विवरण निकै कमजोर छ । कम्पनीले सन् २०२४ मा २ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो जुन सन् २०२३ को तुलनामा २५ प्रतिशतले बढी हो । सन् २०२३ मा भने कम्पनीको व्यापार २ करोड रुपैयाँ थियो । रेटिङ एजेन्सी केयर रेटिङ नेपालका अनुसार कम्पनीको खुद नाफा ४० लाख रुपैयाँ छ । त्यसयता भने कम्पनीले रेटिङ गरेको देखिँदैन भने वेबसाइट पनि नखुल्ने अवस्थामा छ ।
ढोका निर्माण गर्ने भनिएको यो कम्पनीले हाल दैनिक ६०० ढोका उत्पादन गर्ने क्षमता राख्दछ । सन् २०२४ सम्ममा स्मार्ट डोर्समा प्रवद्र्धकहरूले २७ करोड ५० लाख रुपैयाँ पुँजी लगानी गरेको देखिन्छ जुन सन् २०२३ को अन्त्यसम्ममा ८ करोड २० लाख रुपैयाँ मात्र थियो ।
स्मार्ट डोर्स तीन वर्ष अघि २० करोड रुपैयाँ चुक्ता पुँजी सहित काठमाडौं टोखाको भुतखेलमा स्थापना भएको हो । कम्पनीले विभिन्न थ्रिडी ढोका, झिल्ली ढोका, माइका–क्यानेडियन ढोका, इम्बोस्ड ढोका र जाली ढोकासहित विभिन्न प्रकारका ढोकाको उत्पादन तथा बिक्री–वितरण गर्दै आइरहेको छ ।








प्रतिक्रिया