क्लिकमान्डु सिम्पोजियम

जुन दिन मिडिया र राजनीतिकर्मीले अर्थतन्त्रलाई मुख्य स्थान दिन्छन्, हामी साँच्चै समृद्ध हुनेछौं

35
Shares

नेपाल उद्योग परिसंघको तर्फबाट मलाई यो अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद । यहाँ केही अन्तर्राष्ट्रिय व्यक्तित्वहरू पनि देखिरहेको हुनाले म अंग्रेजीमा आफ्ना भनाइहरू राख्न चाहन्छु ।

हामीले एउटा उत्कृष्ट र अनुसन्धानमा आधारित प्रतिवेदन अध्ययन गर्ने अवसर पायौं । मलाई लाग्छ, यसमा उत्तरहरू धेरै स्पष्ट छन् । त्यसैले, म आफ्नो लिखित भाषणको साटो केही अनुभवहरू मात्र बाँड्न चाहन्छु ।

म विदेशमा पढाइ सकेर फर्केदेखि नेपालमै छु । म विगत २५ वर्षदेखि नेपालमा छु । यस २५ वर्षमा सम्भवतः १५ भन्दा बढी सरकारहरू फेरिए । सन् २००० को दशकको सुरुतिर सशस्त्र संघर्ष चलिरहेको थियो । त्यो उद्योगी, लगानीकर्ता र नेपालमा केही नयाँ गर्न खोज्ने जोकोहीका लागि चुनौतीपूर्ण समय थियो ।

मलाई लाग्छ, भर्खरै भएको जेन–जी आन्दोलन यति चाँडो भयो कि यसले निजी क्षेत्रमा सुरक्षा र स्थिरताको सम्पूर्ण आधारमाथि नै प्रश्न खडा गरिदियो । तर, मेरो २५ वर्षको अनुभवमा हामीले यसभन्दा धेरै खराब परिस्थितिहरू भोगिसकेका छौं । हामीले आर्थिक संकट, कर्फ्यु, युद्ध, सरकारी अस्थिरता आदि सबै भोगेका छौं ।

त्यसैले, विगत २५ वर्षले निजी क्षेत्रलाई यति राम्रोसँग तयार पारेको छ कि हाम्रो पुनरुत्थान हुने र अर्थतन्त्रलाई अर्को स्तरमा लैजाने क्षमता निकै बलियो छ । म यहाँ आशावादी भएर बसिरहनुभएका, अझै पनि अडिग रहनुभएका र हामी लक्ष्यमा पुग्नेछौं भन्ने आशा बोक्नुभएका मेरा सबै साथीहरूको तर्फबाट यो कुरा भन्न सक्छु ।

म अस्थिरता, भ्रष्टाचार वा अन्य क्षेत्रीय देशहरूसँग नेपालको लगानीको तुलनाका बारेमा कुरा गर्ने छैन । त्यो धेरै टाढाको कुरा हो । मेरो व्यक्तिगत अनुभवमा जेन–जीको मूलभूत समस्या सरकार र आम जनताबीचको विश्वासको कमी थियो तर यसको मुख्य कारण बेरोजगारी थियो ।

हामी नेपालमा बेरोजगारी १० प्रतिशत छ भन्छौं तर वास्तविक श्रमिक युवा जनसंख्यामा बेरोजगारी ३०–४० प्रतिशतसम्म छ । त्यही निराशाले आक्रोशलाई वास्तवमा बढावा दियो । दैनिक ३ हजार युवाहरू देश छोडिरहेका छन् र बाहिर काम गर्ने मानिसहरूले पठाएको पैसाले नै हाम्रो अर्थतन्त्र टिकेको छ ।

मैले पत्रपत्रिका पढ्न छाडेको धेरै भयो किनकि हरेकपटक पत्रिका खोल्दा त्यहाँ राजनीतिक कलह र असहमति मात्र भेटिन्छन् । पत्रिकाको पहिलो पानामा आर्थिक अवसर, चुनौती, समस्या र समाधानका कुरा कहिले देख्न पाइन्छ ? जुन दिन यो सुरु हुन्छ, त्यो दिन हामी साँच्चै समृद्ध हुनेछौं । यो सञ्चारमाध्यमका साथीहरूको जिम्मेवारी हो । यो क्लिकमाण्डु जस्ता विश्वसनीय संस्थाहरूको जिम्मेवारी हो ।

मैले यसपटक आफैंलाई सोधें जसरी शायद निजी क्षेत्रका धेरैले सोधे होलान् । विगत २५ वर्षदेखि म सधैं नेपालको समृद्धि र भविष्यको पक्षधर रहें । म हाम्रो देशको सम्भावना र अवसरका बारेमा सधैं आशावादी थिएँ । तर, पहिलोपटक मैले आफैंलाई सोधें– हामी यो देशको सबैभन्दा ठूलो करदातामध्ये हौं, हामीले ३० हजारभन्दा बढीलाई रोजगारी दिएका छौं । पछिल्लो १० वर्षमा हाम्रो समूहले मात्रै यस देशमा आधा अर्ब डलरभन्दा बढी लगानी गरेको छ र गरिरहेको छ । यस्तोमा मेरा नजिकका साथीहरू र व्यवसायीहरूले ‘अब पुग्यो, बाहिर जाऔं, बाहिर धेरै अवसर छ’ भनिरहेका छन् ।

तर, २५ वर्ष यहाँ बसेको मेरो विवेकले त्यो कुरा स्वीकार गरेन । मैले भनें, ‘यो मेरो देश हो, यस देशले मलाई र मेरो परिवारलाई पहिचान र सम्मान दिएको छ । यहाँ बस्नु मात्र होइन, यस देशको विकासमा मद्दत गर्नु मेरो नैतिक कर्तव्य र जिम्मेवारी हो ।’

त्यसैले ‘हामी उठ्छौं’ भन्ने नाराको कुरा गर्दा, हामी शतप्रतिशत उठ्छौं । अब हामीले कति चाँडो उठ्ने भन्ने मात्र निर्णय गर्नुपर्नेछ । र त्यसका लागि समाधान पनि यस प्रतिवेदनको सारमा स्पष्ट रूपमा राखिएको छ ।

के सरकारले प्राथमिकताको आधारमा निजी क्षेत्रका बारेमा चिन्ता गर्नुपर्छ ? पर्दैन । हामी नयाँ लगानी, नयाँ सोच र नयाँ आर्थिक लगानीका साथ आउन पर्याप्त बलियो र सक्षम छौं । के सरकारले प्रत्यक्ष वैदेशिक लगानीको चिन्ता गर्नुपर्छ ? पर्दैन ।

म आफ्नै उदाहरण दिन्छु । पछिल्लो ५ वर्षमा मात्रै, अस्थिरता र समस्याका बावजुद एउटा ठूलो विद्युत् कम्पनीले एक अर्ब डलरभन्दा बढी लगानी गर्न चाहेको थियो । तर, सरकारको प्राथमिकतामा अर्थतन्त्र नभएको कारणले हामीले त्यो एक अर्ब डलर गुमायौं ।

१० वर्षअघि एउटा ठूलो विमानस्थल कम्पनीले विमानस्थलको स्तरोन्नति र व्यवस्थापन गर्न चाहेको थियो तर अनुमति पाएन र हामीले अर्को एक अर्ब डलर गुमायौं । सौर्य ऊर्जा, जलविद्युत्, पूर्वाधार र दूरसञ्चारमा यस्ता धेरै उदाहरण छन् । पछिल्लो ५ वर्षमा हाम्रो साझेदारीमार्फत मात्रै हामीले आउन सक्ने ५ अर्ब डलरभन्दा बढीको लगानी गुमाएका छौं ।

त्यसैले के सरकार र हामीले वैदेशिक लगानीको चिन्ता गर्नुपर्छ ? पर्दैन । नेपालमा पहिले नै लगानी गरिरहेका हामी सुरक्षित महसुस गर्छौं र यहाँ अवसर छ भन्ने ठान्छौं भने वैदेशिक लगानी आफैं आउनेछ ।

त्यसैले त्यो अहिलेको प्राथमिकता होइन । आजको तात्कालिक प्राथमिकता अर्थतन्त्र हो । क्लिकमाण्डुले यसबारे यति धेरै जोड दिएर यो कार्यक्रम गरेकोमा मलाई निकै खुसी लागेको छ ।

बिल क्लिन्टनले आफ्नो चुनावी अभियानमा अर्थतन्त्र नै सबैथोक हो (इट्स दी इकोनोमी, स्टुपिड) भन्ने कुरा महसुस गरेका थिए । अर्थतन्त्र ठीक भयो भने देश ठीक हुन्छ । त्यसैको आधारमा उनी चुनाव जितेर अमेरिकाको राष्ट्रपति बने ।

मलाई थाहा छ, सन् १९९० को दशकको आरम्भमा भारत टाट पल्टिने अवस्थामा थियो । त्यसबेला भारतका तत्कालीन प्रधानमन्त्री नरसिंह रावले आईएमएफ वा विश्व बैंकमा काम गरिरहेका मनमोहन सिंहलाई बोलाए । मनमोहन सिंहले भने, ‘मलाई राजनीति आउँदैन, मलाई किन बोलाउनुभयो ?’ रावले भने, ‘राजनीति म हेर्छु, तिमी अर्थतन्त्र चलाऊ किनकि तिमी त्यसमा सिपालु छौ ।’

त्यसपछि नै भारतले अर्थतन्त्र खुला गर्यो र आज भारत कहाँ पुग्यो हामी देख्न सक्छौं । नेपालमा पनि ९० को दशकमा विभिन्न क्षेत्रहरूको उदारीकरण र निजीकरण हुँदा यस्तै वृद्धि देखिएको थियो ।

म आफ्ना अनुभवका आधारमा तीनवटा कुरा भन्न चाहन्छु । पहिलो, हामीले अर्थतन्त्रलाई केन्द्रविन्दुमा राख्नुपर्छ । चन्द्र ढकालजीले भन्नुभएझैं यो कुरा सञ्चारमाध्यमका साथीहरू मार्फत आउनुपर्छ । मैले पत्रपत्रिका पढ्न छाडेको धेरै भयो किनकि हरेकपटक पत्रिका खोल्दा त्यहाँ राजनीतिक कलह र असहमति मात्र भेटिन्छन् । पत्रिकाको पहिलो पानामा आर्थिक अवसर, चुनौती, समस्या र समाधानका कुरा कहिले देख्न पाइन्छ ? जुन दिन यो सुरु हुन्छ, त्यो दिन हामी साँच्चै समृद्ध हुनेछौं । यो सञ्चारमाध्यमका साथीहरूको जिम्मेवारी हो । यो क्लिकमाण्डु जस्ता विश्वसनीय संस्थाहरूको जिम्मेवारी हो ।

र सबैभन्दा महत्त्वपूर्ण कुरा, चुनाव आउँदै गर्दा स्रोत परिचालन बुझ्ने र अर्थतन्त्रको महत्त्व बुझ्ने नेतृत्व सही ठाउँमा आउनुपर्छ ताकि हामी निजी क्षेत्रले फेरि विश्वास, आशा र दृढता प्राप्त गर्न सकौं । हामी बलियो मात्र हुने छैनौं, झन् छिटो बलियो हुनेछौं ।

(‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण’ अध्ययन प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा की नोट स्पीकरका रुपमा नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले व्यक्त गरेको विचार ।)