
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा राजधानीमा प्रदर्शन गरेका ७ जना एमाले कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदर्शनको क्रममा प्रहरीको लाठिचार्जबाट एक जना प्रदर्शनकारी घाइते भएका छन् ।
प्रदर्शनकारी र प्रहरीबिच बबरमहल, बानेश्वर र माइतीघरलगायत क्षेत्रमा झडप भएको थियो । प्रदर्शनकारीहरूले सडकमा टायर बालेर अवरुद्ध पार्दै ओलीलाई निःशर्त रिहा गर्नुपर्ने माग राखेका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले दिएको जानकारीअनुसार बबरमहल क्षेत्रबाट सात जना एमालेका प्रदर्शनकारीलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका सातै जनालाई काठमाडौँ जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको उनले जानकारी दिए ।
आज प्रहरीसँगको झडपमा एक जना प्रदर्शनकारी घाइते भएका छन् । घाइतेको टाउकोमा चोट लागेको भए पनि उनलाई उपचारपछि डिस्चार्ज गरिएको एसपी भट्टराईले जानकारी दिए ।
प्रदर्शन नियन्त्रणमा लिनका लागि प्रहरीले एक राउन्ड अश्रुग्याँस प्रहार गरेको थियो । ओलीको पक्राउको विरोधमा आज एमाले कार्यकर्ताहरूले देशका विभिन्न ठाउँमा प्रदर्शन गरेका थिए ।








प्रतिक्रिया