स्टार्टअप र नवप्रवर्तनका लागि नीतिगत सुधार र लगानीमैत्री वातावरणमा जोड

0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको स्टार्टअप तथा इनोभेसन फोरमको बैठक आज काठमाडौंमा सम्पन्न भएको छ । बैठकले नेपालमा स्टार्टअप तथा नवप्रवर्तन (इनोभेशन) प्रवर्द्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकता दिँदै सहकार्यलाई तीव्र बनाउनुपर्नेमा जोड दिएको छ ।

बैठकमा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नवप्रवर्तनमैत्री नीति र वित्तीय पहुँच विस्तार नगरी स्टार्टअप इकोसिस्टम सुदृढ हुन नसक्ने बताए । उनले स्टार्टअपलाई बजार पहुँच, मेन्टरसिप र नियामकीय स्पष्टता उपलब्ध गराउन महासंघ सक्रिय रहने प्रतिबद्धता जनाउँदै निजी क्षेत्र र सरकारबीचको सहकार्य बढाउनुपर्नेमा जोड दिए । साथै, उनले नवप्रवर्तनशील उद्यमका लागि तालिम, प्राविधिक सहयोग र इन्क्युबेशन सेवालाई अझ प्रभावकारी बनाउनुपर्ने बताए ।

त्यस्तै, उपाध्यक्ष हेमराज ढकालले स्टार्टअप तथा इनोभेशन उद्यमलाई प्रोत्साहन गर्न कर तथा लगानीसम्बन्धी नीतिगत सहजता आवश्यक रहेको उल्लेख गरे । उपाध्यक्ष ज्योत्सना श्रेष्ठले महिला तथा युवा उद्यमशीलतालाई स्टार्टअप नीतिको केन्द्रमा राख्नुपर्ने बताउँदै समावेशी उद्यम वातावरणका लागि क्षमता अभिवृद्धि र नेटवर्किङ कार्यक्रम विस्तार गर्नुपर्ने धारणा राखिन् ।

कोषाध्यक्ष भरतराज आचार्यले फोरमलाई कमिटीमा रूपान्तरण गर्नुपर्ने र यसको विकासका लागि संस्थागत मापदण्ड बनाउनुपर्ने बताए । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक इन्जिनियर उमेश कुमार गुप्ताले स्टार्टअप क्षेत्रमा नीतिगत सुधार भइरहेको जानकारी दिँदै सरकारी कार्यक्रमहरू निजी क्षेत्रको सहकार्यमा अगाडि बढाइने स्पष्ट पारे ।

फोरमका सभापति जुना माथेमाले फोरमका गतिविधि र आगामी कार्ययोजनाबारे जानकारी दिँदै उद्यमी र लगानीकर्ताबीचको प्लेटफर्मलाई थप सुदृढ बनाउँदै लैजाने बताइन् ।