निजी क्षेत्रले नैतिकतामा आधारित व्यापारिक अभ्यास अपनाउँदै कर दायित्व पूरा गर्नुपर्छ


सुहृदराज घिमिरे नेपाली व्यावसायिक क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव बोकेका स्थापित उद्यमी हुन् । अटोमोबाइल तथा आपूर्ति क्षेत्रमा सक्रिय उनी कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइज प्रालिका अध्यक्ष हुन् ।

पछिल्लो समय विकसित ‘जेनजी’प्रदर्शन र त्यसले सिर्जना गरेको अनिश्चितताले समग्र निजी क्षेत्रको आत्मविश्वासमा ठूलो धक्का पुर्‍याएको छ । विशेषगरी अटोमोबाइल क्षेत्रले आफ्नो मुख्य सिजन (दशैँ–तिहार) मा बेहोर्नुपरेको आर्थिक क्षति, भौतिक आगजनी, र लगानीको खस्कँदो वातावरणबारे घिमिरेको अनुभव र विश्लेषण यहाँ प्रस्तुत गरिएको छ । ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण’ सम्बन्धी अध्ययनका लागि व्यावसायी घिमिरेसँग गरिएको कुराकानीको सम्पादित अंश:

जेनजी प्रदर्शनका क्रममा तपाईंको व्यवसायमा के–कस्तो भौतिक तथा आर्थिक क्षति भयो ?

म व्यापार तथा आपूर्ति क्षेत्रमा व्यवसाय गर्दै आएको व्यक्ति हुँ । रोजगारीमूलक संस्था भएकाले धेरैले रोजगारी पनि प्राप्त गरिरहेका छन् । हाम्रो व्यवसाय कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सञ्चालित छ । व्यक्तिगत रूपमा ३० वर्षभन्दा बढी समयदेखि म यही व्यावसायिक क्षेत्रमा नै संलग्न छु । यस अवधिमा बजारका धेरै उतारचढाव भोग्ने तथा देख्ने मौका मिलेको छ ।
तर, पछिल्लो समय भएको जेनजी प्रदर्शनपछिको अनिश्चितता विशेष रूपमा फरक किसिमको छ । व्यक्तिगत रूपमा भन्नुपर्दा जेनजी प्रदर्शनका कारण हाम्रो व्यवसायमा भौतिक तथा आर्थिक दुवै किसिमको क्षति भयो । व्यक्तिगत तथा निजी सम्पत्तिमा भने कुनै क्षति पुगेन । व्यवसायमा भने मुख्य रूपमा आगजनीजन्य क्षति बेहोर्नुपर्‍यो । त्यसले भौतिक संरचना मात्र नभई सञ्चालन निरन्तरतामा समेत गम्भीर अवरोध सिर्जना हुन पुग्यो ।

जेनजी आन्दोलनले तपाईंको मनोबलमा कस्तो असर परेको छ ? लगानीको वातावरण कमजोर भएको छ वा छैन ?

जेनजी आन्दोलनले मेरो मनोबलमा ठूलो असर परेको छ । हुन त, मेरो मात्र नभई समग्र निजी क्षेत्र तथा संस्थाका व्यवस्थापक र कर्मचारीको मनोबल कमजोर भएको छ । व्यावसायिक सुरक्षाप्रति विश्वास कमजोर हुँदा थप लगानीको लागि उत्साहित हुने अवस्था छैन ।

मेरो अनुभवमा जेनजी प्रदर्शनपछि लगानीको वातावरण धेरै कमजोर भएको छ । अनिश्चितता बढ्दा दीर्घकालीन लगानी निर्णय लिन कठिन हुनु स्वाभाविक नै हो । म पनि थप लगानीका लागि अहिले ‘पर्ख र हेर’ को स्थितिमा नै छु ।

भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा निजी क्षेत्रले कस्तो प्रत्यक्ष तथा अप्रत्यक्ष क्षति बेहोर्नुपर्‍यो ? यसलाई कसरी मूल्यांकन गर्नुभएको छ ?

भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनले अटोमोबाइल उद्योगसहित समग्र निजी क्षेत्रलाई गम्भीर असर पुर्‍याएको कुरामा हामी सबै जानकार नै छौं । अटोमोबाइल क्षेत्रको कुरा गर्दा प्रत्यक्ष रूपमा डिलरशिप र सर्भिस सेन्टरहरू बन्द हुन पुगे भने ढुवानी प्रणाली पूर्ण रूपमा अवरुद्ध भयो ।

यसको अप्रत्यक्ष क्षति झनै ठूलो रहेको पाउन सकिन्छ । दशैंलाई लक्षित गर्दै व्यापार विस्तारको तयारी भइरहेका बेला बिक्रीको ग्राफलाई यही आन्दोलनले तीव्र रूपमा तल झार्यो ।

इन्भेन्टरी थन्किँदा पुँजीको लागत र सञ्चालन खर्च बढ्न पुगेको छ । यसले चाडपर्व सिजनमै ‘ग्रोथ कर्भ’मा दीर्घकालीन नकारात्मक असर पुर्‍याएको छ । सवारीसाधन बिक्रीको मुख्य सिजन मानिने दशैं तिहारको समयमा नै यस आन्दोलनले ठूलो क्षति पुर्याएको छ । व्यापार स्थिति कमजोर बनाएको छ ।

जेनजी प्रदर्शनले सिर्जित गरेको अनिश्चितताले सुदृढ हुँदै गरेको लगानी वातावरणमा धक्का दिएको हो ? यसमा तपाईंको धारणा के छ ?

जेनजी प्रदर्शनले सिर्जित गरेको अनिश्चितताले सुदृढ हुँदै गरेको लगानी वातावरणमा गम्भीर धक्का दिएको छ । यो कुरा हालको अवस्थालाई हेर्दा निकै सान्दर्भिक पनि छ । यद्यपि, यो प्रदर्शन दीर्घकालीन सुशासन र स्थिर सरकारको अभ्यासका लागि गरिएको थियो भन्ने हाम्रो बुझाइ छ ।

तर, दुर्भाग्यवश यसले तत्कालको व्यापारिक वातावरणमा ठूलो क्षति गरायो । आर्थिक शिथिलतापछि निजी क्षेत्रले बढाउँदै लगेको बजारको विश्वासमा आकस्मिक प्रदर्शनले ठूलो धक्का दिन पुग्यो । अटोमोबाइल जस्तो पुँजी–सघन उद्योगका लागि केही दिनको व्यापार बन्द आफैंमा उच्च जोखिमपूर्ण छ ।

अटो व्यवसायीले चाडपर्वमा बिक्रीका लागि गरेको सवारीसाधनको स्टक लगानी अपेक्षित रूपमा बिक्री हुन नसक्दा हाम्रो वित्तीय योजनामा असर परेको छ । यसले गर्दा कम्पनीहरू दीर्घकालीन विस्तार र नयाँ लगानीका निर्णयहरू गर्न हिचकिचाउने अवस्था सिर्जना भएको छ ।

तपाईंले व्यक्तिगत रूपमा वा आफ्ना कर्मचारीले तथा व्यावसायिक जगतले महसुस गरेको जेनजी प्रदर्शनपछिको डर, त्रास, असुरक्षा वा चुनौती के हुन् ?

जेनजी प्रदर्शनपछिका सुरुवाती सातामा कर्मचारी तथा व्यावसायिक जगतले धेरै नै असुरक्षित र असहज स्थितिको महसुस गरे । सो समयमा सबैभन्दा प्रमुख तनाव भनेको आन्दोलन पुनरावृत्तिको डर थियो । सुरक्षाको भावनामा कमी र बजार अनिश्चितताको कारणले वित्तीय योजनामा गम्भीर दबाब सिर्जना भएको थियो ।

यसले मेरो कम्पनीका कर्मचारीमा एक प्रकारको मानसिक अलमल सिर्जना गरेको थियो । त्यसले तत्कालको कार्यसम्पादनमा असर पुर्यायो । यद्यपि, हालैका दिनहरूमा हाम्रो टोलीले देखाएको दृढता र उच्च मनोबल कम्पनीको सकारात्मक पक्ष हो ।
कर्मचारीहरूको सामूहिक प्रयास र सकारात्मकताले हामीलाई ग्राहक सम्बन्ध सुदृढ गर्दै सवारीसाधन बिक्री पुनर्जीवित गर्न र बिक्रीको वृद्धि ग्राफलाई सफलतापूर्वक पुनरुत्थान गर्न मद्दत गरिरहेको छ ।

जेनजी प्रदर्शनपछि व्यावसायिक वातावरण जोगाउन सरकारले गरेका प्रयास कति प्रभावकारी देख्नुहुन्छ ?

जेनजी प्रदर्शनपछिको व्यावसायिक वातावरण जोगाउन सरकारले सुरक्षा सुनिश्चित गर्ने र निजी क्षेत्रसँग छलफल गर्ने जस्ता सामान्य प्रयासहरू मात्र गरेको छ । यद्यपि, यो सरकार मुख्यतया चुनावी तयारीमा केन्द्रित रहेको हुँदा ठोस आर्थिक हस्तक्षेप अपेक्षित रूपमा प्रभावकारी हुन सकेन ।

अटोमोबाइल जस्ता उद्योगहरूले बेहोरेको विशेष क्षतिलाई सम्बोधन गर्ने गरी ब्याज छुट वा कर सहुलियत जस्ता कुनै पनि विशिष्ट राहत प्याकेज घोषणा गरिएन । फलतः सरकारका प्रयासहरू औपचारिकतामा सीमित भए । त्यसले गर्दा लगानी वातावरणलाई वास्तविक रूपमा सुदृढ गर्न सकेको अवस्था छैन ।

जेनजी प्रदर्शनपछि व्यावसायिक वातावरण जोगाउन सरकारले के गर्नुपर्छ ? तपाईंका सुझाव के छन् ?

सरकारले दीर्घकालीन सुशासन स्थापना गर्ने प्रयासहरूमा हामी (निजी क्षेत्र) पूर्ण सहयोग गर्न तयार छौं । हाम्रो यस सहयोगको बदलामा सरकारले पनि व्यावसायिक वातावरणको प्रवर्द्धनमा दृढतापूर्वक प्रतिफल दिनुपर्छ भन्ने भनाइ हाम्रो छ ।
तत्कालका लागि, जेनजी प्रदर्शनले अटोमोबाइल जस्ता उद्योगहरूलाई पारेको विशेष क्षतिलाई सम्बोधन गर्न बैंक ब्याजमा निश्चित समयका लागि सहुलियत दिने र कर भुक्तानीमा लचकता अपनाउने जस्ता ठोस आर्थिक राहतहरू घोषणा गर्नुपर्छ भन्ने आवाज हामीले उठाउँदै आएका छौं ।

भविष्यमा यस्तो अनिश्चितता दोहोरिन नदिन र व्यापारिक गतिशीलतामा बाधा पुर्याउने अव्यवस्थित प्रदर्शन नियन्त्रण गर्न स्पष्ट नीति ल्याई स्थिर तथा अनुमानयोग्य नीतिगत वातावरण सुनिश्चित गर्नु अपरिहार्य छ । हरेक आन्दोलनमा निजी क्षेत्र निशानामा पर्ने स्थिति अन्त्य हुनुपर्छ ।

भविष्यमा निजी क्षेत्रमाथि आक्रमण हुन नदिन वा यस्ता प्रदर्शनबाट निजी क्षेत्रलाई टाढै राख्नका लागि सरकार, व्यवसायी आफैं र अन्य सरोकारवालाहरूबाट के कस्तो पहलको आवश्यकता छ ?

भविष्यमा निजी क्षेत्रमाथि हुने आक्रमण रोक्न र यसलाई अस्थिरताबाट टाढै राख्नका लागि सरकार, व्यवसायी आफैं र सरोकारवालाहरूबाट सामूहिक पहल आवश्यक छ । सरकारले सर्वप्रथम व्यापारिक गतिशीलतामा बाधा नपुग्ने गरी प्रदर्शन नियन्त्रण गर्ने स्पष्ट र कडा नीति ल्याउनुपर्छ । यसका लागि लगानीको सुरक्षा सुनिश्चित गर्नुपर्छ ।

व्यवसायी आफैंले सामाजिक उत्तरदायित्वका कार्यहरूलाई पारदर्शी र प्रभावकारी बनाई नाफा कमाउने संस्था मात्र नभई रोजगारी सिर्जना गर्ने र राष्ट्रको विकासमा योगदान पुर्याउने साझेदारको रूपमा आफ्नो छवि स्थापित गर्नुपर्छ । यसो भएमा नागरिकले व्यवसायीलाई हेर्ने दृष्टिकोण बदलिन्छ ।

यस्तै, अन्य सरोकारवालाहरूले निजी क्षेत्रको योगदानको महत्त्वबारे सकारात्मक वकालत गर्दै सुशासन र नैतिक व्यापारिक अभ्यास लाई प्रोत्साहन दिनुपर्छ । त्यसो गर्दा सर्वसाधारणको नकारात्मक मनोवृत्ति हट्दै जान्छ ।

नेपालमा लगानीमैत्री वातावरण बनाउन कसले कस्तो भूमिका निर्वाह गर्नुपर्ला ?

नेपालमा लगानीमैत्री वातावरण बनाउन सरकारको भूमिका मुख्य र नेतृत्वदायी हुन्छ । सरकारले लगानीको सुरक्षा सुनिश्चित गर्नका लागि स्थिर नीतिगत वातावरण कायम गर्नुपर्छ ।

अव्यवस्थित प्रदर्शन नियन्त्रण गर्नुपर्छ र ‘ईज अफ डुइङ बिजनेश’ लाई बढाउनका लागि सम्पूर्ण प्रक्रियाहरूलाई सरलीकरण र डिजिटाइज गर्नुपर्छ । निजी क्षेत्र (व्यवसायी आफैंले) नैतिकमा आधारित व्यापारिक अभ्यास अपनाउने, कर दायित्व पूरा गर्ने र पारदर्शी ढंगले सामाजिक उत्तरदायित्वका काम गर्ने जिम्मेवारी लिनुपर्छ ।

अन्य सरोकारवालाहरू (बैंक, मिडिया, नागरिक समाज) ले पनि वित्तीय सरलता, दक्ष जनशक्ति विकास र सकारात्मक सूचना प्रवाहमार्फत लगानीको वातावरण सुदृढ गर्न रचनात्मक सहयोग पुर्याउनु आवश्यक छ । यसो भएमा नेपालमा लगानीमैत्री वातावरण तयार गर्न सहयोग पुग्छ ।

(प्रस्तुत अन्तर्वार्ता ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण’ अध्ययन प्रतिवेदन निर्माण गर्ने क्रममा सोधिएका प्रश्नहरुमा कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइज प्रालिका अध्यक्ष सुहृदराज घिमिरे दिएको जवाफका आधारमा तयार पारिएको हो ।)