कारबाही गरेर मात्र सुधार हुँदैन, थिति बसाल्न आवश्यक छ: अध्यक्ष ओझा

602
Shares

काठमाडौं । नेपाल बिमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले बिमा क्षेत्रमा कारबाहीमात्र नभएर थिति पनि बसाउन आवश्यक रहेको बताएका छन् । प्राधिकरणमा मंगलबार कार्यभार सम्हालेपछि कर्मचारीहरु सँगको ब्रिफिङका क्रममा आफ्नो जोड बिमा क्षेत्रमा थिति बसाल्नु रहेको बताएका हुन् ।

‘यो जिम्मेवारसँगै चुनौती पनि छन् । बिमाको दायरा ठूलो छ,’ उनले भने, ‘नियमनकारी निकायको रुपमा काम गर्न खोज्दा केही कमजोरी छन् । त्यसलाई सहज बनाउँदै जानु पर्छ ।’

यसअघिका असल अभ्यास अनुसरण गर्नुपर्ने हुँदै नेतृत्वले नयाँ कामको प्राथमिकता तय गर्ने तथा बिमक र बिमितको हितमा काम गर्नु पर्ने उनले बताए । बिमकको वित्तीय हित भयो भने बिमकको हित हुने उनको भनाइ छ ।

नयाँ नियमावलीका विषयमा गुनासा सुनिएको भन्दै उनले समस्यालाई सहज बनाउँदै लजाने पनि बताए ।

‘हरेक ठाँउमा कारबाही मात्रै गर्ने हैन, थिति पनि बसाउनु छ,’ उनले भने, ‘नियमनको औजार प्रयोेग गर्न सकिन्छ जुन बजार राम्रो भएर हो वा नगरिएको हो, धेरै प्रयोग भएको छैन ।’ तथापि कारबाहि मात्रै प्रमुख विषय नभएको भन्दै उनले थिति र विधि बसाल्नुमा नै आफ्नो जोड हुने बताए ।

‘कर्मचारीलाई म विश्वास गर्छु, मलाई पनि सहयोग चाहिन्छ । नीति नियम, कार्यविधि तथा काम कारबाहीमा सहयोग चाहिन्छ,’ उनले भने, ‘विश्वास छ भन्दैमा मनलाग्दी गर्न पाइँदैन । त्यसलाई पनि कानुनले चिन्छ ।’

प्राधिकरणले ल्याएका नियम, विनियम कार्यविधि कार्यान्वयन भएनन भन्ने गुनासो छ । कर्मचारीले पनि पहिला मेरो पालो भन्नेमा जोड दिन अनुरोध गरे ।