काठमाडौं । सरकारी स्वामित्वको देशकै सबैभन्दा ठूलो तरकारी बजार कालिमाटी बजारमा १४१ किलो सिमीमा विषादीको मात्रा पाइएको छ ।
उक्त बजारमा मंगलवार राति ९ बजेदेखि बिहान ४ बजेसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मोवाइल भ्यान प्रयोगशालाको सहयोगमा आपूर्ति भएको २२ प्रकारका तरकारीहरुको परीक्षण गरेको थियो । परीक्षणको क्रममा चितवनबाट ल्याइएको हरियो सिमीको नमूनामा ४२ प्रतिशतसम्म इन्जाईम इन्हिबिशन पाइएको थियो ।
चितवनका तरकारी व्यवसायी रामकुमार थपलियाको सिमीमा बिषादीको मात्रा पाइएको थियो । बिषादीको मात्रा पाइएपछि विभागको टोलीले थपलियाको ११४ किलो उक्त सिमी ३ दिनसम्म क्वारेन्टाइन होल्ड गर्न लगाएको छ ।
तरकारीमा ३५ देखि ४५ प्रतिशत इन्जाईम इन्हिभिशन पाइदा क्वारेन्टाइन होल्ड गरि पुनः परिक्षण गर्ने र ४५ प्रतिशतभन्दा वढी आएमा नष्ट गर्ने प्रावधान छ ।
क्लिकमान्डु डट कमले उक्त बजारमा भित्रिने तरकारी तथा सागमा अत्यधिक परिमाणमा विषादी पाउन लागेको भन्दै गत वर्षदेखि श्रृखलावद्ध रुपमा समाचार सम्प्रेषण गर्दैआएको छ ।
क्लिकमान्डुले श्रृखलावद्ध रुपमा समचार प्रकाशित गर्न थालेपछि नियमनकारी निकायले रातिको समयमा पनि उक्त बजारमा अनुगमन गर्न थालेको हो ।
विभागको टोलीले अनुगमन स्थलमै पहिलो पटक सबैभन्दा ठूलो परीक्षण गरेको हो । यसअघि तरकारी, खाद्यान्न, पेयजन्य वा औद्योगिक उत्पादनको यति लामो समयसम्म परीक्षण गर्ने काम भएको थिएन ।
पछिल्लो समयमा तरकारी तथा सागमा तोकिएको मापदण्डभन्दा बढी परिमाणमा बिषादीको मात्रा पाइएको बिषयमा गुनासो बढ्दै गएकाले रातिको समयमा विशिष्टिकृत अनुगमन गरिएको विभागका महानिर्देशक संजिवकुमार कर्णले जानकारी दिए ।
‘तोकिएको मापदण्डभन्दा बढी कसैले पनि विषादीको प्रयोग गर्नु हुँदैन,’ महानिर्देशक कर्णले भने,’बढी प्रयोग गरेको पाइएमा त्यस्ता तरकारी परीक्षण पश्चात नष्ट गर्न भनेका छौं । यो जानकारी किसानहरुले थाहा पाएपछि पक्कै पनि उहाँहरु मापदण्डभित्रै रहेर सूचीकृत बिषादी मात्रै प्रयोग गर्छन ।’
कालीमाटीस्थित तरकारी तथा फलफुल बजारमा भित्रिने ताजा तरकारी तथा फलफूलमा जीवनाशक विषादी अवशेषको मात्राको बिषयमा विभागको टोलीले यसअघि पनि रातिको समयमा परीक्षण गरेको थियो ।
विभागका प्रवक्ता मोहन महर्जनले उपभोक्ताको स्वास्थ्य रक्षाको लागि विभागको स्यापिड रेसपोन्स टिम परिचालन गरिएको जानकारी दिए ।
बजारमा भित्रिएका तरकारीसहितका मिनी ट्रक र ट्रकबाट नै तरकारी तथा फलफुलको नमूना संकलन गरी आरबीपीआर विधिवाट जीवनाशक बिषादी अवशेषको परिक्षण गरिएको थियो ।
अनुगमनको क्रममा आलु, प्याज, गोलभेडा, फूलगोवी, बन्दाकोभी, खुर्सानी, धनिया, फर्सी, काँक्रा, रायो साग, ब्रोकाउली, तरुल, च्याउ, लसुन, हरियो प्याज, बोदी, चम्सूर, भान्टा, गाँजर, हरियो सिमी तथा सुन्तला लगायत २२ प्रकारका तरकारी र फलफूलका गरी एकै रातमा १५० वटा नमूनाहरुको परिक्षण गरिएको थियो ।
अनुगमनको क्रममा १०८ वटा गाडीका तरकारी तथा फलफुल परिक्षण गरिएको छ। उक्त फलफूल तथा तरकारीहरु नेपालको भक्तपुर, काभ्रे, नुवाकोट, धादिङ, चितवन, परासी, मकवानपुर, सर्लाही, सिन्धुली, तनहुँ, पर्वत, काठमाडौं, स्याङ्जा, गोर्खा, ललितपुर, पर्सा, रामेछाप, सुनसरी, बारा, कास्की लगायत विभिन्न २० जिल्लाहरुबाट तथा एक वटा गाडी भारतवाट समेत आएको थियो।
परिक्षणको क्रममा न्यूनतम १ प्रतिशतदेखि अधिकत्तम ४२ प्रतिशतसम्म इन्जाईम इन्हिबिशन पाइएको छ। मापदण्डअनुसार इन्जाईम इन्हिबिशन ३५ प्रतिशत भन्दा कम भएकालाई खान योग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशत इन्जाईम इन्हिभिशन भएकोलाई क्वारेन्टाइन होल्ड गरि पुनः परिक्षण गर्ने र ४५ प्रतिशतभन्दा बढी आएमा अस्विकृत गरि नष्ट गर्नुपर्ने व्यवस्था छ ।
प्रतिक्रिया