प्रतिबन्धित विषादीको प्रयोग बढ्दै जाँदा अत्यधिक परिमाणमा आयात, ८५% हरियो तरकारीमा प्रयोग



काठमाडौं । नेपालको तरकारीवालीमा सरकारले प्रतिबन्ध गरेको विषादी प्रयोग हुँदै आएको पाइएको छ ।

सरकारले दुई सामान्य समूहबाहेक अन्य प्रकारका घातक विषादी (विष) को बारेमा परीक्षण नगर्दा प्रतिबन्धित विष पनि प्रयोग हुँदै आएको छ । सरकारले अहिले तरकारीवालीमा पाइने विषादीको बारेमा परीक्षण जिम्मेवारी केन्द्रीय कृषि प्रयोगशालालाई दिएको छ ।

यस्तै तरकारीसहित खाद्यान्नमा पाइने विषादीको बारेमा परीक्षण जिम्मेवारी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई दिएको छ।

सरकारले झारा टार्ने गरी केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गत द्रुत विश्लेषण एकाई कार्यालयमार्फत फोटो स्पेक्टोमिटरसहितको विषादी अवशेष द्रुत प्रयोगशाला (आरबीपीआर) मार्फत ‘अर्गेनोफोस्फेट’ र ‘कार्वामेट’ समूहको विषादीको मात्रै परीक्षण गर्दै आएको छ ।

अहिलेको समयमा अत्यन्त सामान्य भइसकेको यो दुई विषादी बाहेक अन्य प्रकारको घातक विषादीको परीक्षण भने गरेको छैन । यसले गर्दा खुला सिमानाको फायदा उठाउँदै व्यापारीले सहजै लुकाई छिपाई प्रतिबन्धित विषादी आयात गर्ने र बिक्री गर्दैआएका छन् ।

सामान्य प्रकृतिको दुई समूहअन्तर्गत १२ वटा विषादीको परीक्षण गरिरहेको सरकारले मानव स्वास्थ्यलाई अत्यन्त हानि पुर्याउने विषादीको बारेमा कुनै परीक्षण गरेको छैन ।

सरकारले हालसम्म इन्सेक्टीसाइड, एकारिसाइड, निमाटीसाइड, फन्गीसाइड, ब्याक्टेरिसाइड, हर्वीसाइड, रोडेन्टीसाइड, मोलससाइड, वायोपेस्टीसाइड र हर्वल समूहतर्फ १६५ प्रकारका बिषादी आयात, बिक्री बितरण र प्रयोग गर्न अनुमति दिएको छ।

विषादीविज्ञ डा डिल्लीराम शर्माका अनुसार आरबीपीआर प्रविधिसहितको प्रयोगशाला सञ्चालन हुने समयमा विशेष गरी तरकारी बालीमा अर्गेनोफस्फेट र कार्वामेट समूहका बिषादीहरु ६० देखि ७० प्रतिशत प्रयोग भइरहेको थियो ।

‘आरबीपीआरको स्थापना भएर परीक्षण हुन थालेपछि आफनो बालीमा विषादीको अवशेष देखिने डरले किसानहरुले बिस्तारै अर्गेनोफस्फेट र कार्वामेट बिषादीहरु प्रयोग गर्न छाडेर अन्य घातक समूहका बिषादीहरु प्रयोग गर्न थालेको पाइएको छ,’ उनले भने ।

विज्ञहरुका अनुसार पछिल्लो समयमा नेपालमा अर्गेनोफस्फेट र कार्वामेट समूहका विषादीवाहेक सिन्थेटिक पाइरिथ्रोड, न्युओनिकोटिनोइड, म्याक्रोसाईकिल्क ल्याक्टोन, निकोटिनोइड, पाइराजोल, फन्गिसाइडसलगायत अत्यन्तै घातक विषादीहरु बालीनालीमा प्रयोग हुन थालेको छ । यस्तै विषादीयुक्त तरकारी र फलफूल आयात पनि भइरहेका छन् ।

यस्ता घातक विषादीको अवशेषको बारेमा आरबीपीआर प्रयोगशालाले पत्ता लगाउन सक्दैन र फलस्वरुप जति धेरै बिषादीको अवशेष भए पनि ‘अवशेष नभएको’ र ‘खान योग्य’ रहेको भन्ने प्रमाण दिन प्रयोगशााला बाध्य हुने गरेको छ ।

सर्वोच्च अदालतले विषादी परीक्षणको आधारमा मात्रै तरकारी तथा फलफूल आयात गर्न दिन २०७६ असार ३१ गते सरकारको नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

उक्त आदेशअनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत पनि विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाईमार्फत अर्गेनोफस्फेट र कार्वामेट समूहका विषादीको परीक्षण हुँदै आएको छ ।

केन्द्रीय कृषि प्रयोगशालाले आरबीपीआर प्रयोगशालाको सहयोगमा काठमाडौंको कालिमाटी तरकारी बजार, झापाको विर्तामोड, सर्लाहीको नवलपुर, रुपन्देहीको बुटवल, कास्कीको पोखरा, बाँकेको नेपालगञ्ज, कैलालीको अत्तरिया, सिन्धुलीको सिन्धुलीमाडी, सुनसरीको धरान र धनुषाको ढल्केवर, नवलपुरको कावासोती र सुर्खेतको वीरेन्द्रनगरमा बिषादी अवशेषको रुपमा परीक्षण गर्दैआएको छ।

यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आफ्ना विभिन्न कार्यालयमार्फत २०७८ कात्तिक १ गतेदेखि आयात हुने तरकारी तथा फलफूलमा पाइने अर्गेनोफस्फेट र कार्वामेट समूहका विषादीको परीक्षण गर्दैआएको छ ।

खाद्य विभागले काठमाडौंबाहेक १२ वटा आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय काकडभिट्टा, रानी विराटनगर, जलेश्वर, वीरगञ्ज, वेलहिया, भैरहवा, कृष्णनगर, नेपालगञ्ज, धनगढी, गड्डाचौकी महेन्द्रनगर, तातोपानी, टिमुरे रसुवा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आरबीपीआर सुविधा भएको प्रयोगशालामार्फत भारतसहित तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफूलको नमूना संकलन गरि विषादी अवशेषको परीक्षण गर्दैआएको छ ।

विषादीविज्ञ शर्माका अनुसार स्वदेशमै स्वच्छ र स्वास्थ्यवर्धक तरकारी र फलफूल उत्पादन गर्न र विदेशबाट आयात हुने घातक विषादीयुक्त तरकारी तथा फलफूल परीक्षण गर्न सीमा क्षेत्रमै ‘ग्यास क्रोमाटोग्राफी’ वा ‘लिक्वीड क्रोमाटोग्राफी’ प्रविधिमा आधारित अत्याधुनिक प्रयोगशाला आवश्यक पर्छ ।

केन्द्रीय कृषि प्रयोगशालाका प्रमुख डा. शान्ता कार्कीले बजेट र उपकरणको व्यवस्थापन गरेर अत्यन्त घातक मानिएको दुई समूह सिन्थेटिक पाइरिथ्रोइड र डिथोकार्वामेट अन्तर्गतको विषादीको पनि परीक्षण गर्ने योजना अघि बढाइएको जानकारी दिइन्।

‘हाम्रो प्रयोगशाला हालसम्म अर्गेनोफोस्फोट र कार्वामेट समूहको विषादीको अवशेष पत्ता लगाउने क्षमताको मात्रै छ,’ उनले भनिन,‘त्यो वाहेकको विषादी परीक्षण गर्ने उपकरण हामीसँग छैन । तर निकट समयमै सिन्थेटिक पाइरिथ्रोइड र डिथोकार्वामेट अन्तर्गतको विषादीको पनि परीक्षण गर्ने योजना अघि बढाएका छौं ।’

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गत विभागसहित बिराटनगर, नेपालगञ्ज र भैरहवा कार्यालयमा हाई प्रेसर लिक्विड क्रोमाटोग्राफी उपकरणसहितको अत्याधुनिक प्रयोगशाला छ । यसमध्ये बिराटनगर, नेपालगञ्ज र भैरहवामा केहि महिनाअघि मात्रै यो उपकरणसहितको प्रयोगशाला निर्माण गरिएको छ ।

तीनवटै स्थानबाट सरकारले जनशक्तिको व्यवस्थापन गर्न नसक्दा अहिले ट्रायलको रुपमा परीक्षण गर्ने काम सुरुआत गरेको छ।

विषादीयुक्त खाद्यान्न र तरकारी नियमित रुपमा सेवन गर्दा वा बिषादीको नियमित असुरक्षित रुपमा सम्पर्कमा आउँदा दीर्घकालिन भयावह रोगहरू क्यान्सर, नपुँसकता, रोगविरूद्धको प्रतिरोधी क्षमता घटाएर मृगौला र लिभर(कलेजो) बिग्रने, ट्युमर हुने र गर्भवस्था तुहिनेजस्ता समस्याहरू आउन सक्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार बर्षेनी विश्वभर ४० लाखभन्दा बढी व्यक्ति यस्ता बिषादीका कारण प्रभावित हुँदैआएका छन । त्यसमध्ये करिब ३ लाख जनाको बिषादीका कारण मृत्यु हुने गरेको छ ।

यसरी भेटियो प्रतिबन्धित विषादी

सरकारले २०७५ पुष १६ गते राजपत्रमा सूचना जारी गरि नेपालमा कार्वोफ्युरान नामको विषादीको आयात, बिक्री बितरण र भण्डारणमा प्रतिबन्ध लगाएको थियो ।

आयात, बिक्री बितरण र भण्डारणमा प्रतिबन्ध लागेको सोही विषादी पोखरा सभागृहस्थित बीजी एग्रोभेट पसलमा ठूलो परिमाणमा पाइएको थियो । पोखराको विक्रेताले उक्त विषादी ललितपुरको एक खुद्रा बिक्रेताबाट खरिद गरेका थिए ।

यसले के पनि प्रस्ट पार्छ भने प्रतिबन्धित विषादी राजधानीसम्मै खुलेआम रुपमा बिक्री बितरण भइरहेका छन ।

उक्त विषादी ललितपुरको लगनखेलस्थित बुढाथोकी एग्रोभेटले आयात गरी बिक्री बितरण गर्दैआएको फेला पारिएको थियो । ललितपुरको बुढाथोकी एग्रोभेटले भैरहवाको चौरसिया बिज भण्डारबाट खरिद गरी पोखराको बीजी एग्रोभेटलाई बिक्री गरेको रहस्य खुलेको थियो ।

नेपालमा प्रतिबन्ध भएको विषादी आयात गरी बिक्री बितरण गरेको अभियोगमा पहिलो सरकारले तीनवटै एग्रोभेटमाथि मुद्दा दायर गरेको थियो । तीनवटै एग्रोभेटबाट जनही ५० हजार रुपैयाँ नगद र एक–एक महिनाको कैदको सजाय तोकिएको थियो ।

यस्तै चितवनको एक एग्रोभेटले जैविक मल भन्दै विषादी भएको पदार्थ बिक्री वितरण गर्दै गरेको फेला पारिएकोे थियो । छानविनको क्रममा फेला परेको पदार्थमा साइपरमेथ्रिन विषादी भएको पाइएको थियो ।

तयारी खानामा पनि विषादी

विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोग तथा भारतको भिम्टा ल्याव लिमिटेडको प्राविधिक सहयोगमा खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागले केही बर्षअघि एउटा अध्ययन गरेको थियो ।

पकाइसकेको खानामा गरिएको उक्त अध्ययनले शरीरलाई सबैभन्दा बढी षोषण तथा भिटामिन दिने हरियो तरकारीमा मानव स्वास्थ्यलाई हानिकारक मानिने इण्डोसल्फेन, क्लोरसाइरिफोस, मालाथिन, प्याराथिन मिथाइल, प्रोफेनोफोस, साइपरमेथ्रिन र लाम्बडा साइक्लोथ्रिनलगायत १३ वटा कडा बिषादी फेला परेको थियो ।

बिभागका अनुसार अध्ययन गरिएका तयार पारिएको खानामा ९० प्रतिशत साइपरमेथ्रिनको प्रयोग भएको पाइएको थियो । त्यसपछि प्याराथिन मिथाइल र क्लोरसाइरिफोसको प्रयोग भएको भेटिएको थियो ।

स्थलगत अध्ययनमा सम्मिलित भारत र नेपालका वरिष्ठ खाद्य विज्ञहरुले पकाइएको भात, बिभिन्न प्रकारका दाल, तरकारी, पाउरोटी, चिउरा, गहुँको पिठो, राजमा, चनामा मानवस्वास्थ्यलाई अत्यन्तै हानी गर्ने बिभिन्न प्रकारका बिषादी फेला पारेका थिए ।

१३१ टनबाट वृद्धि हुँदै ११८३ टनसम्म आयात

आर्थिक बर्ष २०६३/६४ मा नेपालमा खास विष १३१ मेट्रिक टन आयात भएको थियो । अनियन्त्रित र आफूखुशी प्रयोग दर बढ्दै गएर पछिल्लो समयमा आयात परिमाण बढ्दै गइ अहिले ११८३ मेट्रिक टनसम्म आयात हुन थालेको छ ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार पछिल्लो समयमा बाली, पशुपन्छीसहित सर्वसाधारणमा फैलिएको विभिन्न प्रकारको महामारीका कारण यस्ता विषको आयात निक्कै बढेको हो ।

कृषि विभागका पूर्व महानिर्देशकसमेत रहेका विषादीविज्ञ डा.डिल्लीराम शर्मामा अनुसार बाहिरी मुलुकबाट आयात भएर आउने विषादीमध्ये ८५ प्रतिशत हरियो तरकारीमा प्रयोग हुने गर्छ ।

बाँकी करिब १५ प्रतिशत विभिन्न प्रकारका खाद्यान्न वालीमा प्रयोग हुन्छ ।

८५ प्रतिशतमध्ये पनि सबैभन्दा बढी अर्थात करिब ७० प्रतिशत विषादी काभ्रे, बारा, सर्लाही, धादिङ्ग, कपिलवस्तु, मकवानपुरका किसानहरूले तरकारीवालीमा प्रयोग गर्दैआएका छन ।

विषादीको आयात दर तथा रसायनिक मलको बिक्रि दर बढ्दै गएको छ । बिषादीको प्रयोग पनि अत्याधिक देखिएको छ । अमेरिका र युरोपमा प्रति हेक्टरमा एकसय ४५ ग्राम बिषादीको प्रयोग भइरहेपनि नेपाली किसानले प्रति हेक्टरमा एकहजार ६ सय ५ ग्रामसम्म प्रयोग गर्ने गरेका छन् ।


राजेश बर्मा