काठमाडौं । काठमाडौंको कालिमाटी तरकारी बजारमा भित्रिएको रायो सागमा अहिलेसम्मकै सबैभन्दा मात्रामा विषादीको मात्रा भेटिएको छ ।
भक्तपुरका चेतनाथ सिलवालले बिक्रीका कालिमाटी तरकारी बजारमा सोमबार ल्याएको रायो सागमा अहिलेसम्मकै सबैभन्दा परिमाणमा विषादीको मात्रा पाइएको हो ।
केन्द्रीय कृषि प्रयोगशालाका अनुसार उक्त सागको नमुना विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाईले परीक्षण गरेको थियो । परीक्षणको क्रममा सिलवालले बिक्री गर्न ल्याएको रायो सागमा ९९.३८ रोकावट प्रतिशतको हाहाहारीमा अर्गानोफस्फेटको मात्रा पाइएको हो ।
यस्तै कार्वामेट समूहको विषादीको मात्रा १६.९५ रोकावट प्रतिशत पाइएको हो ।
सरकारले रोकावट प्रतिशतको दर ३५ प्रतिशतभन्दा कम हुँदा उपभोग योग्य मानेको छ । ३५ देखि ४५ प्रतिशत पाइएमा केहि दिन राखेर मात्रै उपभोग गर्न मापदण्ड बनाएको छ । यस्तै ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्ता तरकारी तथा साग उपभोगका लागि बन्धेज लगाएको छ ।
विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाईका अनुसार गत् विहिबार भारतबाट कालिमाटी बजारमा आपूर्ति भएको हरियो खुर्सानी ५७.२८ र काठमाडौंबाट उक्त बजारमा आपूर्ति भएको रायो सागमा ९६.१२ रोकावट प्रतिशतको हाराहारीमा अर्गानोफस्फेट पाइएको थियो ।
यस्तै बुधबार भक्तपुरबाट ल्याइएको पालुङ्गो सागमा ७७.२९, गत शुक्रबार वीरगञ्जबाट आएको काउलीमा ९८.९९, बिहिबार चितवनबाट आएको घिउसिमीमा ९५.३२ र पुस ९ गते धादिङ्गबाट आएको ब्रोकाउलीमा ६७.५१ रोकावट प्रतिशतको हाराहारीमा अर्गानोफस्फेट पाइएको थियो ।
मानव शरीरको लागि सबैभन्दा पौष्टिक र अनिवार्य पदार्थको रुपमा मानिएको हरियो साग र तरकारीमा अत्याधिक परिमाणमा विषादीको मात्रा पाइएपनि सरकार भने मूकदर्शक बनेको छ ।
सरकारले अत्यधिक मात्रामा विषादी प्रयोग गर्नेमाथि हालसम्म कुनै पनि प्रकारको कारवाही गरेको छैन । सरकारले चासो नदेखाउँदा पछिल्लो समयमा हरियो तरकारी र सागमा सूचीकृत भएका र सूचिकृत नभएका घातक विषादीको मात्रा अत्याधिक मात्रामा पाउन थालेको हो ।
प्रतिक्रिया