
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले तयारी पोशाक उद्योगले झेलिरहेका समस्या समाधानका लागि सरकारले उच्च प्राथमिकता दिने बताएका छन् ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँगको छलफलमा उनले उत्पादन र निर्यात वृद्धिमा सरकारले विशेष ध्यान दिने स्पष्ट पारे।
संघका अध्यक्ष पशुपतिदेव पाण्डेका अनुसार प्रधानमन्त्री शाहसँग सवा १ घण्टाजति पारिवारिक जस्तो वातावरणमा छलफल भएको उनले जानकारी दिए ।
प्रधानमन्त्रीले एक एक विषयमा प्रश्न गरेको र त्यसको समाधानको मागसमेत गरेको उनले जानकारी दिए ।
छलफलमा सन् २००५ अघिको स्वर्ण युगमा जस्तै नेपाली तयारी पोशाक उद्योगलाई पुनर्जीवित गर्ने विषयमा छलफल भएको थियो । प्रधानमन्त्री शाहले छलफलबाट उद्योग मन्त्रालयमा फोन गर्न समेत सचिवालयलाई लगाए ।
प्रधानमन्त्री शाहले विभिन्न मन्त्रालयहरूमा अड्किएका फाइल र प्रक्रियागत ढिलासुस्तीलाई तत्काल समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिएका छन् ।
२० वर्षदेखि बन्द रहेका रुग्ण उद्योगलाई पुनः सञ्चालनमा ल्याई आयात प्रतिस्थापन गर्ने र ‘टेक्स्टाइल काउन्सिल’ गठन गरी यस क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड बनाउने प्रधानमन्त्रीले प्रस्ताव गरे ।
साथै, अमेरिका निर्यातमा देखिएका प्रयोगशाला सम्बन्धी अवरोध हटाउन परराष्ट्र मन्त्रालयमार्फत पहल गर्ने प्रतिबद्धता समेत उनले जनाएका छन् ।
प्रधानमन्त्रीसँग छलफल सकिएपछि त्यहाँ भएका विषयबारे उनको सचिवालयसँग पनि करिब १ घण्टा छलफल भएको थियो।





प्रतिक्रिया