सागको नाममा खुलेआम विष विक्री, नपुंसकतादेखि क्यान्सरसम्मको रोग निम्त्याउँदै ‘रायो’



काठमाडौं । दैनिक साग खानु हुन्छ ? स्वास्थ्य राम्रो हुन्छ भनेर खाइने यस्ता सागको रुपमा तपाईंहरुले विष खाइरहनु भएको हुनसक्छ ।

सबै नेपालीको भान्सामा पाक्ने सागकोमा पछिल्लो समय अत्यधिक विष पाइन थालेको छ । सागमा अधिक मात्रामा प्रयोग हुने यस्तो विषादीले नपुंसकतादेखि क्यान्सरसम्मको रोग निम्त्याउँ चेतावनी चिकित्सकले दिँदै आएका छन् ।

नेपालीको भान्सामा पाक्ने सागमा पनि लोकप्रिय छ, रायो । रायोको साग खाँदा आँखा तेजिलो बन्छ । नियमित रुपमा साग सेवनले हड्डी खिइने, रक्तअल्पता, मुटुरोग, प्रोस्टेट, क्यान्सर लगायतका रोगहरूबाट जोगाउन मद्दत पुग्छ । पाचन प्रणाली राम्रो बनाउने, मुटुको समस्या, मस्तिक्सलगायतका समस्याको निराकरणका लागि पनि सागको महत्व छ ।

तर, सरकारको वेवास्ता र कृषकको लापरबाहीले यतिबेला नेपालीहरु विषालु साग खान बाध्य छन् ।

सागमा विष छ, भन्ने प्रमाण खोज्न टाढा जानु पर्दैन ।

पुस २४ गते सोमबार एकाबिहानै काठमाडौंका किसान युवराज पराजुलीले बिक्रीका लागि कालिमाटी तरकारी बजारमा पुर्याएको रायो साग बेच्न पाएनन् ।

कारण थियो, उनको रायो सागमा मानव स्वास्थ्यलाई नै क्षति पुर्याउने गरी अत्याधिक परिमाणमा घातक बिष हुनु । अर्गेनोफस्फेटको मात्रा धेरै पाइएपछि उनले साग बेच्न पाएका थिएनन् ।

विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा गरिएको परीक्षणमा पराजुलीले ल्याएको रायो सागमा ९९.२३ रोकावट प्रतिशतको हाहाहारीमा अर्गानोफस्फेटको मात्रा पाइएपछि तत्कालै उक्त रायो साग जफत गरी नष्ट भयो ।

सोमबारै भक्तपुरका चेतनाथ सिलवाल, मंगलबार काठमाडौंका किसान श्रीराम आचार्य र भक्तपुरकी कृष्णमाया तामाङ्गले कालिमाटी बजारमा ल्याएको रायो सागमा पनि क्रमशः ९२.२४, ७५.५५ र ९९.३८ रोकावट प्रतिशतको हाराहारीमा अर्गेनोफस्फेटको मात्रा पाइएको थियो ।

यो तथ्यले रायो साग होइन, बजारमा विष विक्री भइरहेको छ भन्ने प्रमाण दिन्छन् । रायोमात्र होइन, पाकुचा, पालुङ्गो, मेथी, जिराको सागसहित विभिन्न प्रकारका हरियो तरकारीमा पनि विषैविष पाइएको छ ।

फलतः तरकारी बजार विष खानी बनेको छ, मानव स्वास्थ्यमा यसरी गम्भीर असर पु¥याउने गतिविधि नेपाली भान्साको मिठो परिकार सागमार्फत् भइरहेको छ ।

रायोसहित सागमा अत्यधिक विषादी राजधानीसहित देशभरका बजारमा पाइन्छ ।

नेपालीको भान्सामा अनिवार्य रुपमा पाक्ने विभिन्न परिकारमध्ये एउटा हो साग । सागमा खनिज, फाइबर, भिटामिन के, ए, सी, ई र फोलिक एसिडलगायतका तत्व पाइन्छ । त्यसैले मानव शरीरका लागि निक्कै फाइदाजनक हुन्छ साग ।

नियमित रुपमा साग खानाले आँखा तेजिलो हुने तथा हड्डी खिइने, रक्तअल्पता, मुटुरोग, प्रोस्टेट, क्यान्सर इत्यादि रोगहरूबाट जोगाउन ठूलो सहयोग गर्छ । यसका साथै पाचन प्रणाली, मुटुको समस्या, मस्तिक्सलगायतका समस्या समाधान गर्न पनि सागले ठूलो सहयोग गर्ने गर्छ ।

कालिमाटी तरकारी बजारस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाईका अनुसार गत आइतबार काठमाडौंका किसान उत्तमप्रसाद रेग्मीले ल्याएको रायो सागमा ९६.१२ र भारतबाट आएको हरियो खुर्सानीमा ५७.२९, गत बुधबार भक्तपुरको किसान मिठुदेवी बाँस्तोलाले ल्याएको पालुङ्गो सागमा ७७.२९ रोकावट प्रतिशतको हाराहारीमा अर्गेनोफस्फेट नामको विषादी पाइएको थियो ।

त्यसअघि पुस ११ गते चितवनका किसान मधुसुदन अधिकारीले ल्याएको ९५.३२, पुस ९ गते धादिङ्गका किसाले ल्याएको ब्रो काउलीमा ६७.५१ रोकावट प्रतिशतको हाराहारीमा अर्गेनोफस्फेटको मात्रा पाइएको थियो ।

भक्तपुर, धादिङ, काभ्रे, चितवन, दोलखालगायतका जिल्लाबाट कालीमाटी आउने रायो सागसहित अन्य प्रकारका साग तथा हरियो तरकारीमा विषको मात्रा अत्यधिक पाइन्छ ।

सरकारले रोकावट प्रतिशतको दर ३५ प्रतिशतभन्दा कम भएको तरकारी, साग वा फलफूल मात्रै खान योग्य भनेर मापदण्ड तोकेको छ ।

रोकावट प्रतिशत ३५ देखि ४५ सम्म पाइएमा केही दिन राखेर वा पर्खेर मात्रै उपभोग गर्न र ४५ प्रतिशतभन्दा बढी पाइएको अवस्थामा त्यस्ता तरकारी, साग वा फलफूल नष्ट गर्नुपर्ने व्यवस्था गरेको छ ।

अत्यधिक विषादी भएको तरकारी र साग खाँदा के हुन्छ ?
अत्यधिक विषादीयुक्त खाद्यान्न, तरकारी, साग वा फलफूलको नियमित रुपमा सेवन गर्दा वा त्यस्ता विषादीको नियमित असुरक्षित रुपमा सम्पर्कमा आउँदा क्यान्सर, नपुंसकता, रोगविरूद्धको प्रतिरोधी क्षमता घटाएर मृगौला र लिभर (कलेजो) बिग्रने, ब्रेन ट्युमर हुने, गर्भ तुहिने, हृदयघात जस्ता घातक तथा दीर्घकालीन भयावह रोगहरू निम्त्याउन सक्छ । विश्व स्वास्थ्य संगठनका अनुसार वर्षेनी विश्वभर ४० लाखभन्दा बढी व्यक्ति यस्ता विषादीका कारण प्रभावित हुँदै आएका छन् । त्यसमध्ये करिब ३ लाख जनाको विषादीका कारण मृत्यु हुने गरेको छ ।

तरकारी र सागमै हुन्छ ८५ प्रतिशतसम्म बिषादीको प्रयोग
नेपालमा वार्षिक साढे ६ सयदेखि १२ सय मेट्रिक टनको हाराहारीमा खास बिष अर्थात बिषादीको आयात हुने गरेको छ ।

त्यसरी भित्रिने विषादीहरू करिब १७० प्रकारका हुन्छन् । तीमध्ये दुई तिहाइभन्दा बढी अर्थात झण्डै ८५ प्रतिशतसम्म त हरियो तरकारीमा उत्पादन गर्ने क्रममा किसानहरुले प्रयोग गर्दै आउने खालका छन् ।

तथ्यांकअनुसार सबैभन्दा बढी अर्थात करिब ७० प्रतिशत विषादी काभ्रे, बारा, सर्लाही, धादिङ, कपिलवस्तु, मकवानपुरका किसानहरूले तरकारीवालीमा प्रयोग गर्दैआएका छन् ।

बाँकी करिब १५ प्रतिशत विभिन्न प्रकारका खाद्यान्न बालीमा प्रयोग हुन्छ ।

घट्यो विक्री
सागमा उच्च मात्रामा विषादी पाइएका कारण पछिल्लो समय साग बिक्नै छाडेको छ । राजधानीका विभिन्न ठूला तरकारी बजारका व्यापारीहरुका अनुसार पछिल्लो समयमा रायो सागको बजार हिस्सा ठूलो मात्राले घटेको छ ।

व्यापारीहरुका अनुसार रायो सागमा बिषादी ठूलो परिमाणमा पाउन थालेपछि आम उपभोक्ताले त्रसित हुन थालेका छन् ।

अहिले बजारमा रायो साग मुठाको १५ देखि २० रुपैयाँको दरमा बिक्री हुन छाडेको छ । दैनिक १५ सय किलोसम्मको हाराहारीमा रायो साग बिक्री गर्ने व्यापारीले हिजोआज ४ सय किलो बिक्री गर्न पनि धौ धौ भएको उनीहरुले बताएका छन् ।

सरकार मौन
मानव स्वास्थ्यलाई नै जोखिममा पार्ने गरी बिषादीहरु आफुखुशी तरकारी र सागमा प्रयोग हुँदा तथा परीक्षणकै क्रममा भेटिँदा पनि सरकार चुपचाप छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आफूअन्तर्गतकै निकायले दिनहुँ प्रतिवेदन सार्वजनिक गरिरहँदा पनि कुनै चासो देखाएको छैन ।

उच्च परिमाणमा विषादी नेपाली सागमा मात्र होइन, भारतबाट आयात हुने तरकारीमा पनि पाइएको छ ।

सर्वोच्च अदालतले विषादीको परिमाण परीक्षणको आधारमा मात्र आयात तथा बिक्री वितरण गर्न आदेश दिएको छ । तर, अदालतको निर्देशन लत्याउँदै बजारमा खुलेआम विष बिक्री भइरहँदा राज्य चुप बसेको हो ।

बजारमा साग भनेपछि डराउनु पर्ने त्राहीत्राही वातावरण बनेकाले उपभोक्ता निकै नै सजग हुनुपर्ने देखिन्छ । नत्र, साग खाएकै कारण शरिरका विभिन्न अंगमा रोग पाल्ने दिन टाढा देखिँदैन ।


राजेश बर्मा