भारतले आईएलएस अनुमति नदिएपछि भैरहवा विमानस्थलमा आरएनपीएआर लागू, अब कम भिजिबिलिटीमै अवतरण


काठमाडौं । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरणको लागि रिक्वायर्ड नेभिगेसन पर्फर्मेसन–अथोराइजेसन रिक्वायर्ड (आरएनपी–एआर) प्रणाली लागू भएको छ ।

भू-उपग्रहमा आधारित यो प्रणाली लागू भएपछि अब वायुसेवा कम्पनीहरुले ८ सय मिटरको भिजिबिलिटीमै जहाज अवतरण गर्न सक्ने भएका छन् । यो प्रणाली नहुँदा विमानस्थलमा कम्तिमा १८००/२००० मिटरको भिजिबिटिली आवश्यक हुने विमानस्थलका प्रवक्ता दीपकुमार बज्राचार्यले बताए ।

भिजिबिलिटी समस्या समाधान गर्न यसअघि पटक पटक प्रयास गरिएको इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम (आईएलएस) प्रणालीलाई भारतले अनुमति नदिएपछि प्राधिकरणकै पहलमा आरएनपीएआर लागू भएको हो ।

यो प्रणली लागू भएपछि अब साना जहाज ८ सय मिटरमै र ठूला जहाज ९ सय मिटरको भिजिबलिटिलीमा अवतरण हुन सक्ने उनले जानकारी दिए । तर यो प्रणालीमा अतवरण गर्न सम्बिन्धित वायुसेवाले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिनुपर्छ । वायुसेवाको अनुमतिपछि आवश्यक इक्युपेमन्ट जडान गर्दै आवश्यक तामिल दिनुपर्ने पनि बज्राचार्यले बताए ।

भिजिबिलिटी र अन्य कारण देखाउँदै मंसिर पहिलो सातादेखि उडान सुरु गरेका कतार एयरवेज, थाई एयर एसिया, फ्लाई दुबई र जजिरा एयरवेजले एक महिना मात्रै उडान गरेर सेवा बन्द गरेका थिए । नेपाल एयरलाइन्सले भने काठमाडौं– भैरहवा–दुबई साताको चार दिन उडान गर्दै आएको छ ।

आरएनपी–एआर प्रविधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि नै प्रयोगमा आइसकेको छ । यो प्रणालीले भिजिबिलिटीका कारण उडान र अवतरणमा आइरहने अवरोध हटाउने उनले बताए ।

Skip This